पुसे पन्ध्र लमाउने
माघे पन्ध्र घमाउने
बाक्लो-बाक्लो लाइन्छ
तातो-तातो खाइन्छ
दिक्क मान्नु पर्दैन
आगो ताप्न पाइन्छ
किन जिउ कमाउने ?
पुसे पन्ध्र लमाउने
माघे पन्ध्र घमाउने
घामको राप तापेर
न्याना लुगा खापेर
खट्टे-भट्ट खाने हो
हत्केलामा थापेर
यै हो बेला रमाउने
पुसे पन्ध्र लमाउने
माघे पन्ध्र घमाउने
साथीलाई डाकेर
लट्टे भात चाखेर
के के चाहिन्छ थालमा
लड्डु,तरुल राखेर
ढुक्कै आसन जमाउने
पुसे पन्ध्र लमाउने
माघे पन्ध्र घमाउने ।
– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ ।
२०७६/०९/१०