Skip to content


हिजो :

“रामे ! मैले भनेको काम गरिस् त ?”
“गरिसकें हजुर ।”
“रामे ! मेरो घरमा हजुर बाको पुण्यतिथि आउँदैछ, यसो टपरासपरा गाँस्नओर्न तेरी जहानलाई पठाईदे है ।”
“हस् हजुर, भोलिदेखि नै खटाइदिन्छु।”
“ए, साँच्ची ! तेरी बुढी तँभन्दा कति वर्ष कान्छी अरे ?”
(गम्दै) “अस्तिकी हो नि हजुर, मभन्दा सोर बर्ख कान्छी ।”
(मुख मिठ्याउँदै) “ए, (केही सोचे झैँ गरी) आफ्नी त जेठी, त्यसमाथि रोगी भई ।”

०००००

“रामे !”
“हजुर !”
“हैन, अचेल तँ किन ब्याट्री सकिएको भित्तेघडी जस्तो भा’छस् हँ ? जत्तिखेर पनि झोक्राईरा’को देख्छु त !”
“मेरो त जहाजै डुब्न लाग्यो साब ! दुइटा सन्तान ईश्वरका बरदान भनेरै बुढीले पनि कर गरी । मेरो के जातीको अप्रेसन गरेको पनि पाँच बर्ख भयो, जसको सेवा चाकरी गरेँ उईबाट मलाई धोखा भो हजुर ! मेरी जहान त दुई जीउकी भई छ, अब म कुन मुख देखाएर बाँच्ने होला सुब्बासाब !”

आज :
“श्याम ! चिया ख्वाउन हौ !”
“मैले नै ख्वाउनु पर्ने हो र भन्या ! क्यान्टिनकी कान्छीलाई फोन गरेर मगाए भइहाल्यो नि । म यहाँ अल्लि व्यस्त छु क्या ! हाम्रो युनियनको तर्फबाट ज्ञापनपत्र बुझाउने चटारोमा छु म ।
हाकिमसाब, फेरि एउटो कुरा याद राख्नुहोला, म बाउ रामबहादुरको पालाको सोझो पिउन हैन, बहालवाला मन्त्रीको विश्वासपात्र र निकटतम कार्यकर्ता पनि हुँ नि। यो कुर्सीमा अडिने मन छ कि छैन, कि मुगु / कालिकोट पठाइदिनु पर्यो ?”
(टेबुलमा टोपी र टाउकोमा हात राख्दै) “हे दैव ! कस्तो दिन आयो, करारको पिउनले स्थायी हाकिमलाई थर्कायो ।”

भोलि :
“अब जे नहुनु भईहाल्यो, तिम्रो नेताको दिन गईहाल्यो । तीन मुइने मन्त्रीको धाक देखाएर खुट्टी हल्लाई हल्लाई जागिर खाकाथ्यौ, खर्दार सुब्बालाई थर्काएर पैसो पनि कमाकाथ्यौ । बाहिर बाहिरै मीठो मसिनो चर्थ्यौ, कोरलीहरूसँग चहारेर मसित डुकृन्थ्यौ ! सधैं एकनास रहँदैन बाबै ! अब नून खाको कुख्रा झैँ झोक्राएर नबस । कि त भने जम्दार बाको खेतबारी ठेक्कामा कमाऊ नगदे बाली लगाऊ । हैन भने मेरा माइतीले देका ई नाक-कानका फुकाल्दिन्छु, जाकटी राखेर कतार जाऊ, कमाएर पठाऊ । एक धार्नीको टाउको कुबेलामा नदुखाऊ ।”

भोजराज रेग्मी “मुखाले”

Leave a Reply

Your email address will not be published. Required fields are marked *