हिजो साँझ बर्देवा महिलोले ठुट्टेबर मेलाबाट एउटी लाटी दमिनीलाई घिस्याएर घर ल्याएछ । बालीमा होक्से गाउँ भरिको लुगा सिलाउने झिल्के बर्देवाकी जोई च्याम्सी दमिनीले लालाबाला र आफू छँदा छँदै पोईले सौता ल्याएको देखेर घरमा रडाको मच्चाउन थाली ।
“थुक्क बाइफाले कुकुर्नी ! कोही मर्द नपाएर तँ मर्न नसकेकी लाटीले मेरो पोई देखिस पोइला मुन्टिन? तँ नकच्चरीको थुतुनोमा म अगुल्टोले झोसिदिऊँ ?” आफ्नो पोइसँग पोइला आएकी लाटीको जगल्टा लुच्छ्दै सुकनाशले सुकेकी च्याम्सी दमिनीले घरमा रणसंग्राम गर्नथाली ।
आफूले भगाएर ल्याएकी नवदुलहीलाई च्याम्सी र आफ्ना भुराभुरीले लछार पछार पारेको देखेर बर्देवा माहिलोले रातो मुख पार्दै लाटीलाई उनीहरुको चंगुलबाट छुट्ट्याउन खोज्यो तर उसको केही जोर चलेन । रिसले कालीको रूप धारण गरेकी आफ्नी पहिली महतारी च्याम्सी आफ्ना छोराछोरी सहित बर्देवामाथि खनिन थाले ।
“थुइया स्त्रीलम्पट ! तँ झिल्केलाई कोही दुई खुट्टामा उभिएकी आइमाई देख्नै भएन नि ? यो रछ्यानकी सोतर कहाँबाट बटुलेर ल्याइस हँ जोईटिङ्रे ?” भित्र भान्साकोठाबाट भाँडावर्तन बर्देवातिर फाल्दै च्याम्सी मुखमा आएजति फलाक्न थाली ।
बर्देवा पनि के कम थियो र थुतुनो फड्कार्न ? च्याम्सीको मुखैमा गएर औँला ठडाउँदै बर्देवा पनि कुर्लिन थाल्यो, “तँ राँड पनि पानी माथिको ओभानो हुन नखोज् । तँ बाइफाले पनि लुते दमाइँलाई छोडेर मसँग पोइला मुन्टेकी होइनस् ?”
यस्तो अप्रत्यासित नाटकीय परिस्थिति देखेर उसका लालाबालाहरू आतिएर ठुलो आवाजमा कोकोहोलो गर्न थाले । रातको समयमा गाउँको बीचैमा रहेको दर्जीको घरमा भएको हल्लीखल्ली सुनेर वरिपरिका बालीघरे छिमेकीहरू एकछिन त दमाईँको घरमा दैनिक हुने बाझाबाझ सम्झेर चुपै लागे तर आधारातसम्म पनि त्यहाँ हल्लीखल्ली नरोकिएकाले उनीहरू बर्देवाको झुपडीमा भेला भए । बर्देवा माहिलो गाउँको बिहेबटुलोमा दमाई बाजामा नरसिंघा बजाउनदेखी लिएर जग्गेमा रितपूर्वक खाँडो जगाउन र छिमेकीका बुढाबुढी बाझ्दा तिनीहरुको मध्यस्ता गर्ने देखी लिएर धामीझाँक्री बनी ढ्याङ्रो ठोकेर बोक्सी भगाउनेसम्मको निपुण र सर्व्प्रिय बर्देवाको गाउँमा माग राम्रै थियो । त्यहाँको माहौल देखेर छिमेकीहरू एकछिन त अक्क न बक्क भए तर रसिलो स्वभाव र सहयोगी स्वभावको झिल्के बर्देवाको बहु बैवाहिक अपराधलाई नगण्य सम्झेर उनीहरुले च्याम्सी र बर्देवाको आपसी खटपटलाई मेलमिलापजन्य बनाउने कोसिस गरे ।
पल्लाघरे बिल्टुवा दर्जीले च्याम्सीलाई सम्झाउन थाल्यो, “हेर भाउजू ! मर्दका दुईवटी स्वास्नी भएर के बिगार हुन्छ र ? मेरा बुडीहरू पोक्ची र भुन्टी दिदीबहिनी झैँ मिलेरै बस्याछन् त ! माथ्लाघरे कार्की मुखियाका पनि तीनवटी स्वास्नीहरू मिलेरै बस्याछन् । झन पल्ला गाउँका बस्नेत बडाहाकिमले त नेवार्नी, राइनी, तामाङ्गनी र गुरुङ्सेनी गरी चार चार वटा ढोईहरू ल्याएका छन् । दाइले सौता ल्याई हालेछन्, फिर्ता गर्न नमिल्ने,छोडिदेऊ अब बाझाबाझ गर्न । मिलेर बस अब । भैगो त ! कान्छी भाउजूले भाततिहुन र जुठोभाँडो गर्छिन् । तिमी दाइसँगै महारानी झैँ बसेर सिलाई बुनाई गर्नू ।”
झगडा अलिक मथ्थर हुन थालेपछि बिल्टुवाको कुरामा मौन स्वीकृति जनाउँदै गाउँलेहरू आ—आफ्ना घरतिर लाग्छन् ।
समयको बहावसँगै रोजीरोटीको लागि सियोधागो र लुगा सिउने कलसँग मितेरी गाँस्दै त्यो दमाइँ परिवारको गुजारा चल्दै गयो। च्याम्सी र बर्देवा बोक्रे बोक्रे मात्र बोल्दै बालीघरे छिमेकीहरुको लुगा सिलाउँथे । बर्देवाकी लाटी स्वास्नी चाहिं चुलोचौको र मेलापात गर्थी । पोइला आएकी लाटी पनि एक वर्षपछि दोजिया भई ।
एकदिन पुषको चिसो रातमा लाटीलाई सुत्केरी व्यथाले च्याप्यो । लामो व्यथापछि सन्तानको नाममा काली र च्यान्टी नामक दुई छोरीहरू मात्रै भएको बर्देवाको झुपडीमा लाटीको कोखबाट एउटा छोरारुपी नव सन्तानको आगमन भयो । तर कठै दैवको लीला ! छोरोलाई जन्म दिएर अति रक्तश्रावले गर्दा लाटीको देहावसान भयो । कान्छी श्रीमतीको वियोगमा बर्देवा भावबिव्हल भएर धेरै बेर रोयो । लाटीको मृत्य’मा काली र च्यान्टीले पनि निन्याउरो अनुहार पारेर दुई थोपा आँसुको श्रद्दाञ्जली दिए । च्याम्सीको मुहारमा न बिव्हलता देखियो न खुसी देखियो,फगत तटस्थता झल्किन्थ्यो ।
लाटीपटिको,आमाबिनाको टुहुरो छोरो काले बाबु बर्देवा माहिलो, सौतेनी आमा च्याम्सी र सौतेनी आमापटिका दिदीहरुको रेखदेखमा हुर्कदै गयो। च्याम्सी कालेलाई साह्रै डक्थी तर कालेले बाबु र दिदीहरुबाट भरमग्दुर माया पायो ।एकरात सकेनाशले थलिएकी च्याम्सीले पनि अचानक सदाको लागि आँखा चिम्ली। दमाइँ परिवारमा फेरि अर्को बज्रपात पर्यो । बर्देवा माहिलो असह्य पीर माथिको पीरले टुट्न थाल्यो । बर्देवाले असह्य पीडालाई मलमपट्टी गर्न रक्सीको सहारा लिन थाल्यो । उसको सिलाईबुनाईको काममा पनि मन जान छोड्यो ।
आजकाल बर्देवा दिनभर रक्सीले चूर भएर छर–छिमेकीहरुसँग बिना कारण झै—झगडा गर्ने गर्छ ।लाटीलाई बर्देवाले पोईला ल्याएको ठ्याक्कै सोह्र वर्षपछि ठुटेबर मेलामा बर्देवा पनि मेला भर्न गएको थियो । ऊ त्यहाँ रातभर रक्सी पिएर बिहानीपख सुची गर्न टिमाई खोलाको भिरैलो किनारामा गएको थियो, नशाले चूर बर्देवा त्यही भीरबाट तल खोलामा खसेर ठाउँको ठाउँ बितेछ ।
सबै बाबुआमा गुमाएका काली,च्यान्टी र काले जवान भैसकेका थिए । सौतेला भए पनि ती दिदीभाइको बीचमा निस्कपट प्रेम थियो । कालेले एसईई पास गरिसकेको थियो र ऊ बुधवारेको दश जोड दुई क्याम्पसमा पढ्दै थियो। आकर्षक व्यक्तित्व भएको, मिठो स्वरको धनी र पढाईमा अब्बल कालेले वीस वर्षमै प्रथम श्रेणीमा स्नातकको पढाई सिध्यायो । हिलोभित्र फुलेको कमलको फूल कालेलाई आफूलाई निस्कपट प्रेम गर्ने र आफूहरू बनीबुतो गरी गरी आफ्नो पढाईलाई अहोरात्र टेवा दिइरहने दिदीबहिनी प्रतिको आफूले गर्ने कर्तव्यवारे राम्ररी बोध थियो । ऊ पनि आफ्ना दिदीबहिनीहरुलाई आमा समान सम्मान दिन्थ्यो र अचाक्ली माया गर्दथियो ।
सुमधुर स्वरको धनी र पढाइमा अब्बल लाटीको छोरो कालेलाई उसका दिदीहरुले “भाइ ! तँ काठमाडौं गएर रेडियोमा गीत गा र उतै पढ। बरु हामी यहाँ सिलाईबुनाई र बनीबुतो गरेर तँलाई राशनपानी र पढाईखर्च पठाउँला” भन्न थाले ।
काले एकछिन त अकमक्क पर्यो तर दिदीहरुको कुराले उसलाई भित्र भित्रै छोयो। उसले पनि राजधानी गएर आफ्नो पढाई र प्रतिभा उजागर गर्ने सपना बुन्न थाल्यो। एउटा गरीब दमाइँ परिवारमा लाटीको कोखबाट जन्मेको टुहुरो काले पढ्न काठमाडौं जाने अरे भनेको सुन्दा गाउँभरि मान्छेहरू खिसिट्यौरी गर्दै हाँस्न थाले। आँखामा वियोगको टलपल आँशु पार्दै कालेलाई एकदिन दिदीहरुले निधारमा रातो अक्षता र गलामा सयपत्री फूलको माला लगाई उसको भाग्य खोज्न स्वप्न-नगरी काठमाडौंको लागि बिदा गरे । कालेले पनि अश्रुधारा बगाउँदै दिदीहरुलाई अंकमाल गरी बुधवारेबाट रात्रि बस चढी काठमाडौंको लागि अभुतपूर्व यात्राामा निस्कियो ।
अनजान र महँगो स्वप्ननगरीको छातीमा कालेको अपर्याप्त रकम बोकेको खल्ती केही दिनमै रित्तियो । असीमित सपना बोकेको कालेको बास गोंगबु बसपार्कको पेटी र सास यात्राीहरुले दिएका पाउरोटी र चाउचाउले धान्न थाल्यो । एक रात ऊ सुतिरहेको बसपार्कको पेटीमा उसले एउटा पर्चा भेट्यो । त्यस पर्चामा भोलि रेडियो नेपालमा खुल्ला आधुनिक गीत प्रतियोगिता हुने भनी लेखिएको रहेछ। उसलाई त्यो समाचारले मुर्दामा श्वास आएको अनुभूति भयो र भोलि उसले त्यहाँ गएर आफ्नो नाम दर्ता गरायो। उसले गाउँमा साँहिला दमाईले बजाउने गरेको मुरलीको धुन र आफ्नै बाबुले लुगा सिलाउँदा गुङ्गुनाउने गरेको गीतलाई समिश्रण गरेर गहिराईमा डुबेर यो नयाँ गीत प्रस्तुत गर्यो।
“होक्सेको देउरालीमा मायाप्रीति लगाउँला,अजर अमर प्रेमले हाम्रो संसार सजाउँला।“
दर्शकदीर्घाको तालीको गडगडाहट र जाँचकीहरुको वाह वाहसँगै उसको गीत त्यो प्रतियोगिताको उत्कृस्ट ठहरियो र नगद पुरस्कार सहित उसले रेडियो नेपालको जागिर पायो। पुरस्कार र जागीरको उपहार पाएपछि कालेलाई गाँस र बासको समस्या भएन । अन्य गीत रेकार्डिंगका साथसाथ उसले आफ्नो पढाईलाई पनि निरन्तरता दिनथाल्यो । उसको आवाजको जादुले चलचित्रका निर्माता, देश बिदेशका कन्सर्ट आयोजक, टीवी च्यानलहरुलाई आकर्षित गर्यो । उसलाई गीत गाउन भ्याई नभ्याई हुन थाल्यो ।चार वर्षको अवधिमा उसले स्नाकोत्तर अध्ययन पुरा गर्नुको साथै आफ्नो गलाको जादुले धेरै नाम र दाम कमायो। ऊ सेलिब्रेटी बन्यो र उसको उठबस ठुला ठुला मान्छेहरुसँग हुन थाल्यो । लक्ष्यप्राप्ति पुरा भएपछि उसलाई आफ्ना प्राणप्यारा दिदीहरू र आफ्नो जन्मझुप्रोको यादले बिव्हल बनाउन थाल्यो। किन हो कुन्नि अचानक आज ऊ आफ्नो जागीर र उर्वर कर्मथलोलाई त्यागेर जन्मथलोतिर लाग्यो ।
ऊ चन्द्रगढी बिमानस्थलबाट ब्याकुलताका साथ सोझै आफ्नो गाउँ होक्सेतिर हानियो । साँझपख जब ऊ आफ्नो झुप्रोको आँगनमा पुग्छ, उसका दिदीहरू अक्क न बक्क हुँदै आँखाबाट हर्षाश्रु बहाउँदै उसलाई अङ्कमाल गरेर रुन थाल्छन् । ऊ पनि भक्कानिदै आफ्ना अति स्नेही दिदीहरुलाई अँगाल्दै रुन थाल्छ । गरीब र दलित दमाई परिवारमा लाटीको कोखबाट जन्मेको काले अथवा शुरवीर बर्देवा गाउँमा ठुलो मान्छे भएर आएको सुनेर उसको झुप्रोमा छिमेकीहरू सहित मैं हुँ भन्नेहरू पनि उसलाई हेर्न तँ छाड् म छाड् गर्दै भेला भए । उसले सबैलाई बिनम्र भएर अभिवादन गर्यो । उसका दिदीहरू स्वाभिमान र खुशीले गदगद भए ।
कालेले एउटा ठुलो र सुन्दर घर बनायो । उसले घरको छतमा एउटा सुन्दर मन्दिर बनाउन लगायो । मन्दिर भित्र तीनवटा मूर्तिहरुका साथै एउटा नरसिंघा र एउटा लुगा सिलाउने कल प्रतिष्ठापन गरिए । ती तीन मूर्तिहरू उसका बाबु र दुइवटै आमाका थिए। ऊ सधैं बिहान पूजा कोठामा गएर ती तीनैवटा मूर्तिलाई नित्य पूजा गर्दथियो । खाउँला लाउँला भन्ने उमेरमा गरीबी र पारिवारिक बोझमा थिचिएका आफ्ना प्यारा दिदीहरुलाई खुशी दिलाउन उसले उनीहरुको इच्छा अनुसार सबै थोक पुर्याइदियो । उसले आफ्ना प्रिय र जवान दिदीहरुको विवाह उसकै दुईजना साँगितिक मित्रहरुसँग बडो धुमधामका साथ गरिदियो। उसले आजकल गाउँमा आफ्ना परलोकबासी बाबुआमाहरुको सम्झनामा र आफ्ना दिदीहरुको अभिभावक्तमा “बर्देवा त्रिमूर्ति” नामक एउटा संगीत पाठशाला खोलेको छ जसमा टाढा टाढाबाट संगीत अनुरागीहरू ऊसँग संगीतको ज्ञान लिन आउँछन् ।
इति
—राजेश अधिकारी