साहुको ऋण तिरुला भन्ने शायद तिम्रो लक्ष्य थियो,
हुनसक्छ रमिते पाखाको कलिलो अनुहारसँग
प्रीति गाँस्ने योवनको रहर थियो,
नत्र एकलै लाहुरे भएर सपनाको महल सजाउने
तिम्रो मनको आकांक्षा थियो,
त्यही तिम्रो लक्ष्यहीन आकांक्षाले
सयपत्री र सुनखरी फुल्ने देउराली पाखा तिन्न सकेन,
हातमा सीप भएको अरनिको चिन्न सकेन,
छात्तिमा आँट लिएर नेपाल बनाउने नेपाली ज्यामी चिन्न सकेन ।
कहिलेकाहीँ तिमीलाई विदेशी माटोमा घामले पोल्दा
त्यही लाली गुँरासको सम्झना आइरहेको होला
दुई जुन रोटीकोलागि संघर्ष गर्नु पर्दा
आफ्नै घर र खेतबारीको सम्झना आरहेको होला ।
तिमीले अर्काको घर कुर्न सक्यौ,
तर आफ्नो घर कुर्न सकेनौ,
छात्तिभरि तक्मा भिरेर
आफ्नो चेलीबेटीको रक्षा गर्न सकेनौ,
त्यसैले धिक्कार छ, तिम्रो पुरुषार्थमाथि
त्यसैले धिक्कार छ, तिम्रो स्वार्थी भावनामाथि
त्यसैले धिक्कार छ, तिम्रो गगनचुम्बी लालसामाथि
किनभने तिमीले
आफ्नो पाखुरा, रगत र पसिना बेचेर
विदेशमा बहादुर र कान्छा हुनसक्यौ
तर स्वदेशमा तिमी,
नेपाली भएर जिउन सकेनौ ।
बी बी ठकुरी
मिल्टन, कनाडा
(यो कविता मैले भारतका विभिन्न शहरका हुटेल रेस्त्रा र अन्य ठाउँहरूमा नारकीय जीवन बिताइरहेका हाम्रा मानिसहरूको दुर्दशा हेरेर लेखिएको यो कविता)