Skip to content

तारेख को जान्दछौँ ?


जन्मेका सब छन् त विश्वभरमा मान्छे र प्राणीहरू
बोक्छन् रे जगमा दुई किसिमका तारेख/मुद्याहरू
पैलोमा घर हो अदालत सधैँ तारेख यो तोक्दछ
अर्को हो घर–अस्पताल सबले रोगीहरू राख्दछ ।

दिन्छन् तारिख जो निसाप जजले उस्तै चिकित्सक भए
आफ्नै तारिख जो सनैसन गयो हेर्दै नहेर्ने भए
बुझ्थे लौ यदि यी भने जगतमा हिंसा किन बढ्दथो ?
रोकिन्थे अपराध वा खुनहरू, तारेख पो घट्दथो ।

खानैपर्छ सधैँ त पेटभर रे खान्की छ भिन्दैपन
सानो हुन्छ पदै त काम उसको जोखेर मात्रै चिन
ठुलो डाक्टर वा सफा सडक हो तौलेर के भन्दछौँ
जानैपर्छ सबै त इन्द्रपुरीमा, तारेख को जान्दछौँ ?

सक्थे डाक्टरले भने जगतमा दीर्घायु आफ्नो सधैँ
राख्थे रे यमराजभन्दा बलिया गर्थे कजाई अँझै
त्यस्तो मानिस वा सबै अनुभवी संसारमा बिक्दछौँ
गर्छौ लोभ अँझै त दौलत सधैँ, तारेख को जान्दछौँ ?

ताक्छौँ रे मनले त राष्ट्रपति वा सर्वोच्च सेनापति
पार्छौ तुच्छ यहाँ त स्वच्छ मनले जो गर्छ काव्योत्पति
जे छौ जो बन लौ सबै जगतमा जन्मी सबै मर्दछौँ
यौटै घाट छ यो विभेद किन हो, तारेख को जान्दछौँ ?

गर्छौ भाषितका कला सहितका शृङ्गार भर्छौ अति
सोच्ने हैन कुनै नयाँ विषय वा सम्मानका पद्धति
खोज्छौँ चाकरका कलासित धनै चन्दा सधैँ माग्दछौ
खै बाँच्छौँ कसरी, कलाविहीन भै, तारेख को जान्दछौँ ?

गर्छन् खोज सदा त बुद्धिबलले हेरेर पञ्चाङ्ग नै
पायौँ तारिख झन् सबै झगडिया मानेर आदेश नै
खोज्छौँ न्याय सदा यथार्थ नबुझी मुद्या सधैँ गर्दछौँ
रम्दै कुस्त बने त वकील यहाँ, तारेख को जान्दछौँ ?

हामी स्वच्छ भयौँ अमूल्य जन हौँ विद्वान जान्ने अँझै
बाँकी मानिस हौ त तुच्छ घरका भन्दै त अड्डालयै
गर्छन् विकृतका कला–उपकला मानाङ्क के मान्दछौ
राख्दैछन् अभिलेख चित्रकुटले, तारेख को जान्दछौँ ?

(छन्द: शार्दुलविक्रीडित)

डा. मेघराज ढकाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *