Skip to content


सरकारी जागिरे अनुपलाई जनसंख्याको तथ्यांक संकलकको रुपमा एउटा दुर्गम पहाडी गाउँपालिकामा खटाइन्छ । नवजागिरे अनुप रासनपानी सहितको कुम्लो–कुटुलो बोकेर कार्यक्षेत्रतिर हिँड्छ । अप्ठ्यारा कान्ला–कन्दराहरू छिचोल्दै ऊ हिँडेको तीन दिनपछि बल्ल आफ्नो गन्तव्यमा आइपुग्दा झमक्क साँझ पर्छ । थकित अनुप एउटा डाँडोमा बसेर डाँडामुनिको एउटा भिरालो पाखोमा अवस्थित गाउँतिर हेर्दै सुस्केरा हाल्छ । उसका थकित पाइलाहरू बिस्तारै त्यही गाउँतिर बढ्छन् । ऊ एउटा भित्रबाट टुकीको उज्यालो आइरहेको घरको दलिनमा पुगेर टक्क अडिन्छ ।

“घरमा को हुनुहुन्छ?” बासको अपेक्षा राख्दै ऊ कराउँछ ।

“कसले बोलाउँछ यो साँझमा ?” गुङ्गुनाउँदै एउटी युवती टुकी लिएर दलिनमा आउँछे । पराईलाई देखेर युवती अकमक्क पर्दै आफ्नो बाबुलाई बाहिर बोलाउँछे । युवतीको बाबुसँग अनुपले एकरातको लागि बास माग्नुका साथै आफ्नो परिचय र उसको त्यहाँ आउने उद्देश्यबारे नालिबेली लगाउँछ । साँझको पाहुनालाई आथित्य सत्कार हेतु आग्रहलाई स्वीकारिन्छ ।

पातलो वस्ती भएको डाँडामुनिको भिरगाउँ आधुनिकताभन्दा परै छ । बसाइकै क्रममा अविवाहित अनुपको दस कक्षामा पढ्ने आकांक्षा नामक घरमुलीकी एक्ली सन्तानसँग आत्मीयता गाढा हुन्छ । स्कुलमा बर्खे बिदा भएकाले असारे झरीलाई झेल्दै आकांक्षाले अनुपको तथ्यांक संकलनको काममा गाउँघरको पथप्रदर्शक भएर सहयोग गर्छे । शहरभन्दा टाढा भिरगाउँको मृदुलता, गाउँलेहरुको निष्कपट आतिथ्य सत्कार र हँसिली आकांक्षाको आत्मीयताले गर्दा अनुपलाई यति छिट्टै समय बितेको पत्तै भएन । अनुपको तथ्यांक संकलनको काम पनि सकिनै लाग्छ । एकदिन साँझपख तथ्यांक संकलनार्थ अनुप र आकांक्षा डाँडापारिको गाउँबाट फिर्दै थिए, डाँडाको चौतारीमा आइपुग्दा मुसलधारे वर्षा हुन्छ । हात्तीसुँडे वर्षाबीच निस्पट अँध्यारोमा भिरगाउँ हराएको क्षितिज झैँ लाग्थ्यो । चौतारीमा बसिरहेका दुवैलाई कम्पनशील भुस्खलनको आभास हुन्छ । भएको साम्राज्यभित्र ती युवाद्वय अनियमित आकस्मिकताबस अंकमालमा बाधिन्छन् । जूनको रोशनीमा परदृश्यता सहज बन्छ । उनीहरुको नजर भिरगाउँतिर पर्छ तर अफसोस भिरगाउँ त भयानक पहिरोले अस्तित्वहीन भइसकेछ । क्षणभरमै भिरगाउँलार्ई पहिरोले बगाई यसको अस्तित्वलाई इतिहास बनाइदिन्छ फलस्वरुप आकांक्षा मुर्छित हुन्छे ।

एउटी नारीले आफ्नो जन्मथलो र जन्मदाताहरुको असोचनीय अन्त्य देख्दा बेहोस हुनु स्वाभाविक हो । पहिरोको तान्डवियबिनासको दृश्यले किंकर्तव्यमूढ बनेको अनुप बेहोस आकांक्षालाई बहुराउने अविरल प्रयास गर्छ । असारे झरीसँग मितेरी गाँसेको कालरात्रिमा ती असमञ्जस्य प्राणीद्वय चौतारीको आश्रयमुनी कारुणिकताको व्यथा पिउँदै तड्पिरहेका छन् । मध्यरात्रितिर आकांक्षाको होस खुल्छ । तितो यथार्थता सम्झेर ऊ भक्कानिन्छे । अनुप उसको पीडामा मलम लगाउने कोसिस गर्छ । अनुपले अबिरल झरी झैँ रोइरहेकी आकांक्षालाई केश सुम्सुम्याउँदै सान्तवना दिने कोसिस गर्छ ।

“सर! पहिरोले मेरो सर्वस्व सर्वनाश भयो । कास! मलाई पनि पापी पहिरोले बाबुआमासँगै किन बगाउन सकेन ? अब म कहाँ जाने ? कसको सहारामा बाँच्ने?” यति भन्दै आकांक्षा वियोगको वेदनाले रुन थाल्छे ।

“आकांक्षा! तिमीलाई म मेरो घर लगेर सहारा दिन्छु ।”

अनुपको बचनाञ्जलीले आकांक्षाको उजाड मुहारमा केही उज्यालोपन देखिन्छ । धर्तीमा कलिला रविका किरणहरुको पदार्पणसँगै उषाको आगमन हुन्छ । मातेको झरीले पनि क्षणिक बिश्राम लिन्छ । बिनाशकारी प्रकोपले लखेटिएका ती दुई प्राणीका गर्हौं पाइलाहरू अस्पष्ट गोरेटोहरुमा पदचाप छोड्दै सुस्तरी अघि बढ्छन् । बर्खे झरीमा पहाड–पर्वतका कठिन मोडहरू छिचोल्दै उनीहरू अनुपको शहरस्थित घरमा आइपुग्छन् । अनुपले उसलाई भीरगाउँमा आकांक्षाको परिवारले गरेको खातिरदारी, आकांक्षाद्वारा उसलाई गरिएको सहयोग र भिरगाउँमा भएको हृदयबिदारक घटनाको बेलिबिस्तार आफ्ना बाबुआमालाई लगाउँछ । मानवताको नाताले अनुपले आकांक्षालाई गरेको उपकारलाई अनुपका आमाबाबुले सर्हाना गर्छन् । आकांक्षाले बाबुआमाको एक्लो सन्तान अनुपको घरमा छोरी समान स्नेहात्मक आश्रय पाउँछे ।

आकांक्षाले अनुपको घरमा टुहुरो भई आश्रय लिएको पनि चार वर्ष बितिसक्यो । जवान अनुपको घरमा स्नेहजन्य सुखसयल पाए पनि आकांक्षालाई आफू बाध्यात्मक बोझ भएको अनुभूतिहरुले पिरोलिरहन्थ्यो । आजकल आकांक्षा क्याम्पसबाट घर फर्केपछि अतित सम्झिएर कोठामा एक्लै तड्पनका आँशुहरुले आत्म परिचयबिहीनताका ग्लानिहरू पखाल्ने गर्छे । अनुपले आकांक्षालाई असाध्यै माया गर्छ र आकांक्षा पनि अनुपको साथलाई सुखद ठान्छे । दुवैको अनुहारमा अप्रस्फुरित लुप्त चाहनाहरुको झल्को झल्किन्छ । एकदिन आवेगहरुको बाँध फुट्छ र अनुपले आकांक्षालाई प्रेम प्रस्ताव राख्छ र लजालु मुस्कानमा आकांक्षाले मौन सहमति जनाउँछे । दुवै पारस्पारिक प्रेममा बाधिन्छन् र कालान्तरमा उनीहरुको प्रेम अनुपका बाबुआमाको आकांक्षित सहमतिमा विवाहमा बदलिन्छ ।

अनुपको घरमा बसेर अन्ततः बैधानिकता पाएपछि आफ्ना अतीतका पीडाहरू क्रमिक रुपमा भुल्दै आकांक्षा पनि मुस्कुराउन थाल्छे । विवाहपछि नवजोडी मधुमास मनाउन हप्तादिनको लागि पोखरातिर जान्छन् । नवजोडीले पोखराका विभिन्न ठाउँहरू घुम्छन र घर फर्किने अघिल्लो दिन बिन्दयबासिनी मन्दिरमा दुवैले अटल मिलनको कामना गर्दै माताको दर्शन गर्छन् । उता अनुपका बाबुआमा छोराले सुन्दर बुहारी पाएकोमा र छिट्टै नाति–नातिना खेलाउन पाउने सपनामा मख्ख हुन्छन् । पोखराबाट घर फर्किएपछि अनुपलाई कार्यालयको निर्देशानुसार तालिमको सिलसिलामा महिनादिनको लागि विदेश जानुपर्ने हुन्छ । एकातिर अनुपलाई आकांक्षासँगको क्षणिक बिछोडको बेखुसी र अर्कातिर बैदेशिक भ्रमणको सुखानुभूतीका असामञ्जयताहरू बीच च्यापिदै अनुप घरबाट बिदा हुन्छ । सासूससुरा सहित बिमानस्थलमा अनुपको बिदाइको लागि गएकी आकांक्षा वियोगका अश्रुधारा बहाउँदै घर फर्कन्छे ।

अनुपबिनाको घर आकांक्षालाई मरुभूमितुल्य लाग्छ । बिदेशबाट अनुपको खबर नआउञ्जेल आकांक्षाको मन खट्पटीले अस्थिर बन्छ । आकांक्षा रातभरि बिस्तरामा कोल्टे फेर्दै अनिदै रात काट्छे । अर्को्तिर अनुपका बाबुआमा पनि छोराको खबर नआउञ्जेल बेचैन हुन्छन् । अनुप गएको दिनदेखी उताबाट उसको खबर नआएकाले परिवारमा एउटा अनजान भयले सताउँछ । हप्ता बित्छ तथापि बिदेशबाट अनुपको केही खबर आउँदैन । चिन्तित परिवारमा सन्नाटा छाइरहँदा अचानक फोनको घण्टी बज्दा आकांक्षा दौडिदै गएर फोन उठाउँछे । बिदेशस्थित दुतावासबाट अनुपको सडक दुर्घटनामा परी निधन भएको खबर फोनमा सुनी आकांक्षा मुर्छित हुन्छे फलस्वरुप यो दुखद खबरले बाबुआमा अर्धपागल झैं हुन्छन् र सपरिवार गहिरो शोकमा डुब्छ । यो दैवको पक्षपाती लीलाले एउटी माइतीबिहीन टुहुरीको संरक्षक र बाबुआमाको बुढेसकालको सहारालाई निर्दयापूर्वक चुडेर लगिदियो र वियोगात्मक आर्तनादहरू छोडिदियो । सहाराहीनता,एक्लोपना र अनिश्चित भविष्यका चिन्तनशील आसुँका घुट्काहरू पिउँदै आकांक्षाका वर्ष दिनहरू बित्छन् । कोठामा टाँगिएको अनुपको फोटो हेरेर ऊ भक्कानिन्छे । उसलाई एक्लै निरस जीवन जिउन मन लाग्दैन । ऊ एकपल्ट कहालीएर रुन्छे र अधिरतावस भन्डारकोठातिर अनायसै उसका पाइलाहरू बढ्छन् । उसका हातहरुले एउटा जहरिलो किटनाशक औषधीको सिसीको बिर्को खोल्छ र ऊ त्यसलाई घटघटी पिउँछे । जहरको दर्दनाक ज्वलनको चित्कार पल्लो कोठामा सुतिरहेका सासूससुराले सुन्छन र उनीहरू आतिएर भण्डार कोठामा जान्छन् । त्यहाँ जहर पिएर बेहोस भएकी बुहारीलाई देखेरे हतास भएका सासूससुराले हतार–हतार आकांक्षालाई अस्पताल लैजान्छन् । सघन उपचारपछि आकांक्षाको होस खुल्छ । मृत्युको मुखबाट खोसिएकी बुहारीको होस आएपछि सासूससुरा उसलाई अंकमाल गर्दै रुन्छन् । आमाबुवा! मेरो अपराधलाई क्षमा दिनुहोला भन्दै आकांक्षा सासूससुरालाई अँगाली भक्कनिदै रुन्छे ।

“नानी ! हामीले छोरो त गुमायौं,अब तिमी बुहारीलाई आगे हाम्रो जीवनको सहारास्वरुप छोरीको रुपमा अँगाल्छौँ ।”

बर्षौं एकल जीवन काटिरहेकी आकांक्षा र सासूससुराको आत्मीय प्रेममय घरसंसारमा अनुपको कमीको व्यथा क्रमस पातलिन्दै गयो । आफ्नी बुहारीरुपी छोरीलाई आफ्नो सहाराको खातिर लामो जीवनयात्रा एक्लै काट्न वाध्य पार्नुलाई घोर अपराध ठानी कर्तव्यार्थ अनुपका बाबुआमाले आकांक्षाको विवाह गराइदिने विचार गरे । बाबुआमाको लामो प्रयासपछि आकांक्षालाई विवाहको कुरामा राजी गराइयो । आकांक्षाको धुमधामको विवाहोत्सवमा हजारौ आमन्त्रितका बीचमा अनुपका बाबुले एउटा अनुपकै उमेरको जागिरे केटोलाई कन्यादान गरे ।

विधवा बुहारीलाई अलच्छिनी र दासी ठान्ने कुरुप समाजमा गरिएको उदाहरणीय कन्यादानको सुखद दृश्य देखेर विवाहोत्सवमा तालीको गड्गडाहट बज्यो । सुनिन्छ अहिले आकांक्षााको छोरो सुरुप मावलीघरमा बाजेबजैसँगै बस्छ रे र बाजेबजैले बुढेसकालको सहारारुपी नातिलाई अनुपको अवतार ठानी अपार प्यार गर्छन् रे ।

इति

राजेश अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *