Skip to content

नेतोपदेशनम् स्तोत्रम्


सबै हामी हौं दास तिम्रा,
धरा पूर्ण तिम्रो बनोस् यो अखण्ड
गरे भो तुरुन्तै यहाँ अश्वमेध
र गर्नू तिमी शत्रुको माथ छेद ।।

जसै मित्रले थाल्दछन् कान थुन्न
समस्याहरूको समाधान हुन्न
समाधान पत्नीसँगै मात्र सोध
नसोधे घरैबाट होला विरोध ।।

सुनौलो छ मौका दुबै हात चोब
नचोबे तिमी माथि नै हुन्छ डोब
दुबै हात चोबेर त्यो थाल चाट
नचाटे स्वयं पुग्दछौ आर्य घाट ।।

तिमीमाथि यौटै छ मेरो सुझाउ
तिमी बन्दछौ देशको मुख्य माउ
सकेसम्म छाली तिमी नै उघाऊ
विरोधीहरूतर्फ थोरै सुँघाऊ ।।

तिमी धेर खाएर थोरै बुझाऊ
तिमी उत्रिँदै अन्यलाई डुबाऊ
विरोधीहरूमाथि मुड्की उझाऊ
महालुब्ध तिम्रो गुजारा चलाऊ ।

तिमी भोज खाऊ दुधैले चुठेर
नुहाऊ बिहानै दुधैले उठेर
तिरो हामी तिर्छौं तिमी भोज खाऊ
महा भ्रष्ट बन्ने तिमी हेर दाउ ।।

अरू भोकभोकै तिमी दाब ज्यादा
तिमी बाद साहा सबै चाहिँ प्यादा
सदा भ्रष्ट बन्ने तिमी बोक आशा
जताबाट जित्छौ त्यतै खेल पासा ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *