Skip to content


तराई-मधेशतिर अचेल पोखरीमा यसरी पौडी खेलेको दृश्य विरलै देख्न पाइन्छ । मानवजन्य क्रियाकलापले जल पनि प्रदूषणमुक्त रहेन । फेरि अव्यवस्थित गाउँबाट सहरतिर बसाई सर्नेहरूको लर्को वर्षौदेखि जारी छ । गाउँघरमा गरीबी व्याप्त छ । महँगाई ढाड सेक्नेगरी बढ्यैको बढ्यै छ । महँगीको मारले गाउँघरका भूमिहीन र ज्यालामजदूरी गर्नेहरूले जुँगाको रेखी नबस्दै आफूसँगै आफ्ना नाबालक सन्तानलाई लिएर भारतको दिल्ली, बम्बै, पंजाब, कश्मीर सस्तो मजदूरी गर्न हानिनु एउटा परम्परा बस्यो । अनि साना बालकहरूले आफ्ना बालसखा पाउनै छाडे ।

हुनेखानेले सन्तानलाई नजिकका सदरमुकाम पढ्न पठाए । त्यसपछि गाउँमा बालक कम हुने नै भई हाल्यो । अनि पोखरीको डिल, लङ्डा बम्बै र माल्डह आँपको रूख, सिकैट, तेतईर र सरही आँपको हाँगामा चढेर हाम फाली रमाइलो गर्ने दिन हराई हाल्यो । यसमा खतरा धेरै थियो, तर रमाइलो उल्का भएपछि अभिभावकको चेतावनी र गाउँले काकाहरूको सम्झाई बुझाईको बेवास्तै हुन्थ्यो ।

माईजन काकाले पोखरीमा गोही हुन्छ, फलानो गाउँमा बच्चालाई गोहीले लग्यो भनेर पटक पटक सुनाए पनि पुच्चेहरूले मान्दैन्थे । चैत/बैशाखमा लकडसुङ्गहा (बालबालिकालाई बेहोस् बनाई बोरामा कसेर लाने काल्पनिक पात्र) को डर पनि देखाउँथे । त्यसको डर पनि मान्दैन्थे, केटाकेटीहरू । बरू विभिन्न बहाना बनाउँथे । सबैभन्दा सजिलो बहाना चाहिं ‘मैदान जाने’ (त्यस्ताका शौचालय हुन्नथ्यो, पोखरी छेउछाउमा शौच जाने चलन) भन्ने थियो । यसमा रोक्ने कुरै भएन, तर केटाकेटीहरूमा शौचभन्दा पनि डिलबाट पोखरीमा डाईफ हान्न चाहना हुन्थ्यो । केटाकेटी उत्ता फुत्केर जान्थे र डढिया पैन्ट फुकालेर यो खेलमा नाङ्गै रमाउन मस्त हुन्थे ।

यता प्रचण्ड गर्मीका कारण अभिभावकहरू निद्रामा मस्त रहन्थे । त्यसताका केटाकेटीले बिना घडी समय थाहा पाउथे । पौडी खेलेर घर फर्किदा र घरमा दिउँसो सुतेका अभिभावक उठ्ने समय सँगसँगै जस्तो हुन्थ्यो । कहिलेकाहीं पानीले आँखा रातो भएको बेला बाहे केटाकेटीको पौडी खेल्न चोर बानी घरमा विरलै थाहा पाउँथे । थाहा पाए, बाँसको एक/दुई कर्ची भेट्थे ।

यति हुन्दाहुन्दैपनि रमाइलो चाहिं औधी गर्थे । अब त्यो समय कहाँ छ र ! पहिले दिल्ली- पंजाबले बाल्यकाल खोस्यो, त्यसपछि खाडी मुलुकले खोस्न थाल्यो । उमेर बढाएरै पनि नागरिकता लिने र विदेश पठाउने परम्परा शुरू भयो । जसले धेरै विकृतिहरू गाउँघरमा मौलाएका छन् ।

सबैभन्दा दुखद कुरो : त्यहाँका बालबालिकाहरू जवान/युवा हुन नपाउँदै बुढा बन्ने गरेका छन् । विश्वभरी जारी कोरोनाको कहरले सबैलाई केही न केही पाठ सिकाएकै छ, सकारात्मक सुधारको आशा गरौं । कोरोनाका कारण लकडाउनले वातावरणमा व्यापक सुधार आएको छ, म चाहिं पहिलेको जस्तै गाउँको पुरनी पोखरी, लभका पोखरी र अखडाहा पोखरीमा पौडी खेल्ने दिनको प्रतिक्षामा छु ।

https://madheshinepali.blogspot.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *