लाली गुराँस बनैभरि, मुस्कुराउँदै फुल्दा हुन्,
साइली माइली, सुसेलिंदै ती बनपाखा डुल्दा हुन् ।
सयपत्री, मखमली, बेली पनि फुल्दा हुन्,
हरियाली धानको बाला लहलह झुल्दा हुन् ।
लालुपाते बाटैभरि, टिपी सिरमा लाउँदा हुन्,
तल्लो गाउँकी ठुली-सानी गोठालो नि आउँदा हुन् ।
पल्लोघरे चतुरे नि बाख्रा लिई जाँदा हुन्,
ऐंसेलु र काफल टिपी क्वप्प क्वप खाँदा हुन्।
आरू फुली बर्षा लाग्दा, सिमसिम पानी पर्दो हुन्
मेरी घर्की बुढी आम्मै खोइ के के पो गर्दो हुन् ।
असार लाग्दा सबै जना सबको खेत डुल्दा हुन्,
बाउसे रोपार हिलो छ्याप्दा, खुसीले संसार भुल्दा हुन्।
दसैं आउँदा खासी काटी मासु भात खाँदा हुन्,
साथी संगी पिङ् खेल्न डाँडातिर जाँदा हुन् ।
तिहार आउँदा सेल पोली, चेली माइता लाँदा हुन्,
भुन्टे नेप्टे सबैजना देउसी खेल्न जाँदा हुन् ।
चिसो याममा किरण सँगै हिमाल पनि देख्दा हुन् ।
मनमोहक दृष्टि देखी कान्छाबा कविता लेख्दा हुन् ।
चट्ट चुँडी लाउँ झै लाग्छ बनफूल कालो कपालमा
के कुरा चाहिं कमी छ र सुन्दर हाम्रो नेपालमा ?
राजेश रुम्बा लामा,दोहा,कतार।
Mail:: Reasonlama_rumba@yahoo,