Skip to content

नेपाल आमा तिमी

  • by

उर्लन्छन् मनमा अनेक थरिका नौला नयाँ कल्पना।
कुर्लन्छन् कति भावना मन भरी थाले निकै अल्पन॥
हुर्की काखमहाँ गर्यौं कतिकुरा हेरर बस्थ्यौ तिमी।
सम्झन्छौं परदेशमा अझ सधैं नेपाल आमा तिमी॥

पीडा छन् मनमा सहेर बस है! आमा नरोउ तिमी।
के यस्तो हुनगो अनर्थ अहिले चिन्ता नलेउ तिमी॥
तिम्रो साथ दिने छँदैछ मनमा धोको पुर्याउ तिमी।
सम्झन्छौं परदेशमा अझ सधैं नेपाल आमा तिमी॥

तिम्रो रुप स्वरुप यो मनमहाँ झल्कन्छ रातो दिन।
ती पाखा पहरा विशाल छहरा सम्झन्छु है दिन्दिन॥
फर्कन्छौं जति छौं लिई प्रगतिको रेखा बुझे है तिमी।
सम्झन्छौं परदेशमा अझ सधैं नेपाल आमा तिमी॥

आफ्ना बान्धव इष्ट मित्र सबले मस्काउँछन् यो तन।
आफ्ना उत्सव चाडबाड सबले झस्काउँछन् यो मन॥
हाम्रा छन् कति दर्द मर्द बनिदैं बढ्छौं खुसी हौ तिमी।
सम्झन्छौं परदेशमा अझ सधैं नेपाल आमा तिमी॥

देऊ आशिष है बढोस जसले हाम्रो यहाँ उन्नती।
देऊ है शुभकामना अब छिटै फर्कौं गरी उन्नती॥
आमाको ममता मिलेन अरुता पायौं यहाँ नै घुमी।
सम्झन्छौं परदेशमा अझ सधैं नेपाल आमा तिमी॥

(शार्दुलविक्रिडित छन्द)

Leave a Reply

Your email address will not be published. Required fields are marked *