मेरो प्यारो गल्कोट
घोडाबाने अनि- रगेनी पनि- घससा ओरालो,
रमाउँदै फेरी- नरेठाँटी झर्दा- हट्दथ्यो पिरालो ।
नरेठाँटी बस्दा- चिया र नास्ता- घरतिर लागिन्थ्यो,
हटिया जाने- साथिलाई फेरी- गूड बाई भनिन्थ्यो ।
हेर्नलाई मिल्ने- घससा बाट- घुम्टे र गाजालाई,
बसमा कोची- लान्छन नी आज- ती मुन्छे राजालाई ।
गौँदी र दरम- ती दिदी-बहिनी- कसरी सुसाउँथे,
नछुने आफू- भएका दिन त- सबैलाई ब्युँझाउँथे ।
अहिले त देख्छु- दुबैलाई रोगी- धम्की नै लाएको,
छ सुस्त-सुस्त -उनको बोली- जरो नि आएको ।
गाउँका राम्रा- घर-बारी छोडी- बजार पो झरेछन्,
मलिलो खेतको- बीचमा हेर्छु -महल पो खडा छन् ।
धान झुल्ने त्यो- मजुवा फाँटमा- घडेरी खनेछन्,
घडेरी माथी- भूत लुक्न मिल्ने- टहरा बनेछन् ।
सुबिधा मानेँ –मोटरबाटो- फोन पनि सुबिधा
ती बिनाकामका- घर किन त्यहाँ- मनमा दुबिधा ।
सब लखर-लखर- हटिया बजार- डुलेर हिँडेको,
काम पनि छैन- माम पनि छैन- खै केमा भुलेको
फुलेको छैन- गुराँस फेरी- ती डाँडा पाखामा,
पटक्कै खुशी- देखिन मैले- कसैको आँखामा ।
नियाली हेरेँ- त्यो मेरो गल्कोट- पहिले झैँ लागेन,
कस्तो छ तँलाई- भनेर सोध्न- कसैले आएन ।
कठै मेरो प्यारो गल्कोटआज पहिले झैँ रहेन ।