Skip to content

धुवाँ भरिएका काला बेलुनहरू

DileepDhakal


१.
हामी
अनवरत बगिरहने तरल नदीहरू
हामीलाई सिकाइएको छ
निरन्तर बग्नुपर्छ समुद्रतर्फ
रोकिनु हुन्न श्वमशान बगरहरूमा
हामीलाई थाहा छैन
के हुन्छ समुद्रमा पसेपछि
के हुन्छ नदी समुद्रमा समाधिस्त भएपछि
तर हाम्रो लक्ष्य
दू्ततर गतिमा पुग्नुपर्छ समाधिस्त समुद्रमा
ओहो सबै पुगे त्यही समुद्रमा
जिन्दगीको अनन्त समाधिस्त समुद्रमा
त्यही बाटोमा छौँ हामी
अनवरत बगिरहने श्रापित नदीहरू

२.
हामी
फूलहरू हौँ रङ्गीन फूलहरू
एकछाके, सराद्धे र क्रियाकर्म
कहिल्यै नबिराउने
आत्मीय आस्तिक आमा भूमि
नेपालमा फुलेका रङ्गीन फूलहरू
सेता फूल खोज्दै हिँड्दा
फुल्न नसकेका हामी फूलहरू
भेटियौँ भने यात्राको ओसारामा
दण्डित हुन्छौँ आस्थाको अदालतबाट
अनि
पितृको स्वर्गबास भएकै दिन
रङ्गीन माला लगाएर
सजाय दिइन्छ निर्मम
मृत्यु दण्डभन्दा पनि कठोर सजाय
फुल्दा पनि नफुल्न विवश
हामी दण्डित रङ्गीन फूलहरू

३.
हामी
पर्सिएर पुजिने पवित्र बोकाहरू
कहिले मन्दिर लगेर पुज्छन् द्यौताहरूले
कहिले जबर्जस्ती बाख्रीलाई
सुमर्न लगाएर
द्यौताको सर्वोच्च अदालतबाट
फैसला गराइन्छ हामी बलात्कारी
आखिर जिन्दगीको अदालतबाट
सधैँका विजित हामीले
पाउने सजाय त उही हो
मन्दिरमा काटिए पनि
घरमा काटिए पनि
आखिर काटिने नै हौँ
पर्सिएर पुजिने हामी पवित्र बोकाहरू ।

४.
हामी बेसुर गर्जने काला बादलहरू
हाम्रो रङ कुन हो ?
आखिर के हौँ हामी
कहिले उज्याला हुन्छौँ रातमा पनि
कहिले अँध्यारा हुन्छौँ दिउँसै
सूर्य भइदिन्छौँ बिसुर आकाशिने
आफै तड्पिएर आगो निकाल्छौँ
मुटु फुटाएर
कहिले पग्लिएर पानी हुन्छौँ
आखिर के हौँ हामी
बादल बाहेक केही होइनौँ
हामी बेसुर गर्जने काला बादलहरू
गर्वसाथ रङ बदल्छौँ
गर्वसाथ रूप बदल्छौँ
गर्वसाथ पहिचान बदल्छौँ
बुझ्दैनौँ
आगो हुनु पनि हामी सकिनु हो
पानी हुनु पनि हामी सकिनु हो
आखिर सकिन्छौँ भ्रमित गर्वसाथ
बेसुर गर्जने हामी काला बादलहरू

५.
हामी
केरा हौँ केरा
रोपिन्छौँ, हुर्किन्छौँ अनि पुजिन्छौँ
परिपक्व हुन्छौँ र फल्छौँ
अनि टाउको काटेर मारिन्छौँ
हामी जन्मँदै परेका मुद्दामा
अदालतबाट
फल्नासाथ मृत्युदण्ड सुनाइएका
हामी केरा हौँ केरा
मन्दिरका फलाहार पवित्र केरा

६.
हामी
धुवाँ भरिएका काला बेलुनहरू
आकाशमा उडे पनि फुट्ने नै हौँ
धरतीमा गुडे पनि फुट्ने नै हौँ
कसरी फुट्ने ?
रोज्ने अधिकार पाएका छौँ
जिन्दगीको अदालतबाट
आकाशमा आकाशिएर
सूर्यको जलन प्युँदै फुट्ने
वा
धरतीमा पातलिएर
फूलका दाराले टोकिएर फुट्ने
आखिर फुट्ने नै हौँ
धुवाँ भरिएका हामी काला बेलुनहरू

७.
हामी सगरमाथा शिखर ताक्ने
गण्डकी हौँ
समाधिस्त समुद्रतर्फ
अनवरत बग्ने गङ्गा बन्यौँ

हामी घाम ओतेर पिठ्युँमा
पानी सिञ्चन गर्ने आकाश हौँ
निर्लज्ज गर्जेर
आगो विष्ट्याउने बादल बन्यौँ

हामी सिर्जना उमार्न
बिर्यपात गर्ने
सिर्जनशील पुरुष हौँ
द्यौता खुसी पार्न
निर्दोष बाख्रीको खुसी लुट्ने
बलात्कारी बोका बन्यौँ

हामी सिङ्गो धरतीलाई सिँगार्ने
सदाबहार उज्याला परेवा हौँ
अरुलाई सिद्ध्याउन आफै फुट्ने
धुवाँ भरिएका काला बेलुन बन्यौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *