Skip to content


काँधमाथि आफ्नै लाश बोकेर मान्छे
आफ्नै मलामी गइरहेछ
उसको मृत्युमा आज
रोइदिने कोही छैनन्
केवल ऊ स्वयं
आँसु झार्दै हिँडिरहेछ
परबाट रोग, भोक र शोकहरू
कर्तलध्वनि निकालेर
उसको मृत्युमा
दीपावली मनाइरहेछन्
अब त हामीलाई
त्यसले दुःख दिने छैन ।
मान्छे निरन्तर हिँडिरहेछ
मसान, खै! कति टाढा छ त्यो ?
थाकिसकेँ आफैँलाई बोकेर,
आस्था, आज त्यसले पनि धोका दिएछ
विवश छ एक्लो यात्रा गर्न ऊ
गरिबी र अभाव ठूलो अट्टहाससँगै
मान्छेको विवशताको
खिल्ली उडाउँदै हेरिरहेछन्
त्यसले अब हामीलाई सताउने छैन ।
मान्छे अनवरत यात्रा हिँडिरहेछ
जङ्गल … जङ्गल
जङ्गली ब्वाँसाहरू
श्रद्धाञ्जली अर्पण गर्दै
हस्ताक्षर गर्दैछन्
बानरहरू
उसको महिमा गाउन व्यस्त छन्
तर व्यर्थ छन् ती
श्रद्धाञ्जली र प्रशंसाका
झुठा शृङ्खलाहरू
किनकि आज उसको लाश बोक्ने
कुनै प्रशंसकहरू छैनन् ।
काँधमाथि आफ्नै लाश बोकेर मान्छे,
आफ्नै मलामी गइरहेछ…… ।

-नयाँ बानेश्वर

Leave a Reply

Your email address will not be published. Required fields are marked *