Skip to content


ती धूपीका बोटहरू
फक्रिएका लालुपाते, गुलाब र भुइँचम्पाहरू
आँखामा कैद गरेर
प्रत्येक गोधुली साँझहरू
मनभरि भावनाका रङहरू बोकेर
म हेर्ने गर्छु
त्यो बडेमानको घरलाई
ठूलो पर्खालले घेरिएको मैदानलाई
र त्यहाँका मान्छेहरूलाई ।
मलाई त्यो घर
त्यसको स्वामित्वमा रहेको भूमि
मेरै देशभित्र भएर पनि
मेरो देशको हो जस्तो लाग्दैन
अनौठो लाग्छ त्यहाँका दृश्यहरू
छिचिमिराजस्ता मान्छेहरू
झुलुक्क झुल्कन्छन् कहिलेकाहीँ
र राति अबेरसम्म भोजभतेरमा मस्त हुन्छन्
अर्कै महादेशका मान्छे जस्तै
नयाँ पहिरनमा
नयाँ संस्कृतिमा
अत्याधुनिक लाग्छन् तिनीहरू
म सोच्छु-
कहाँबाट आउँछन् यी मान्छेहरू
फेरि कहाँ जान्छन्
यी मान्छेहरू मलाई
मेरो देशका मान्छेहरू जस्ता लाग्दैनन् ।
हामी त्यो घरको दल्यानमा
त्यसले आर्जेको भूमिमा
टेक्न सक्दैनौँ कहिल्यै
आफ्नो देशको भूगोल भएर के गर्नु ?
त्यो भूमि छुन सकिँदैन भने
दृश्यमा हेरेर मात्र के गर्नु ?
कति निरीह मान्छे हामी
हामीले आˆनै देशमा
आफ्नो देशको सिमाना गुमाएका छौँ
ए जङ्गबहादुर!
सुन त –
तिमीले त देशभित्रै देश बेचेका रहेछौँ
आफ्ना सन्तानलाई कुबेर बनाएर
हामीलाई गरिब बनाएका रहेछौँ
हावा/पानी/आकाश/घाम/धर्ती
सबैका साझा हुन् भन्ने सुनेको थिएँ मैले
सिमानाभित्र बाँधिएपछि यी प्राकृतिक उपहारहरू
मान्छे,
आफ्नै देशभित्र शरणार्थी बन्दोरहेछ
शरणार्थीको आफ्नो देश हुँदैन
देश नै नभएपछि मान्छेसँग देशभक्ति हुँदैन
ऊ चराका मधुर गानाहरूमा रमाउन सक्दैन
लालीगुराँसका झुप्पाहरूसँग हाँस्न सक्दैन
हिमालको सौन्दर्यले तान्दैन उसलाई
यसबेला,
हामी आफ्नै देशभित्र शरणार्थी बनेका छौँ
देशभित्रै सिमाना खोजिरहेका छौँ ।

-झापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *