Skip to content

संसार हाँक्ने युवालाई सम्बोधन गर्ने निबन्धको पुस्तक ‘ब्याक बेञ्चर’

GitaDahal


भनिन्छ – साहित्यमा धेरै ‘सेक्स’ बिक्छ । त्यसपछि ‘अपराध’ बिक्छ र सबैभन्दा कम ‘आदर्श’ बिक्छ । यो आजको लेखकीय बाध्यता हो । तर केही यस्ता लेखकहरू पनि समाजमा हुन्छन् जो बिकाउ हुन्छ भन्दैमा सेक्स र अपराधलाई मात्र बढावा दिँदैनन् । तिनीहरू जीवनपर्यन्त आदर्शलाई नै शिरोधार्य गरेर लेखनमा समर्पण भैरहन्छन् । विगत् चार दसकदेखि यसैगरी लेखनमा समर्पण भैरहने साहित्यिक स्रष्टा हुन् – पेशल आचार्य । यिनी मूलत: कवि, निबन्धकार र कथाकार हुन् । तर अहिले चाहिँ यिनी निबन्धकार ‘गेटअप’मा देखापरेका छन् र यो परिचयमा यिनलाई ल्याएको छ निबन्ध कृति –‘ब्याक बेञ्चर’ले ।

निबन्ध साहित्यको सबैभन्दा कान्छो विधा मानिन्छ । विश्व साहित्यमा समेत अचेल अनाख्यान विधाका रूपमा बजार तताउन सफल निबन्ध आख्यान (कथा र उपन्यास) पछि सबैभन्दा धेरै बिक्री हुने र पढिने विधामा पर्छ । नेपालमै पनि लक्ष्मीप्रसाद देवकोटा, शङ्कर लामिछाने, भैरव अर्याल, डा.तारानाथ शर्मा र प्राडा डिपी भण्डारीका जस्ता रूमानी भाषाशैलीमा खिपेर निबन्ध लेखी यी ‘पाँच महारथी’ को गोहो पछ्याउने जुझारू युवा निबन्धकारहरू अँझै निस्कन सकिरहेका छैनन् ।

निस्केका र केही दम भएकाहरू पनि एकादुई मात्रै छन् । ती जो छन् आफैँमा स्वनामधन्य छन् नै तर कोहीकोही चाहिँ चर्चाको फूलबारीमा रमाएर औ रम्रिएर गजक्क परी बसेका छन् भने कोही पाउनु पर्ने जति समेत चर्चा नपाएर त्यसैत्यसै मुर्झाएका छन् । त्यसैले नेपाली साहित्यमा समेत आधुनिक कालका पाँच महारथीहरूभन्दा पछिल्लो कालमा देखिएका निबन्धकार र तिनका निबन्धहरूले पाठक, शुभेच्छुक, मर्मज्ञ र हिताकांक्षीलाई त्यसैत्यसै लठ्याएर पछि हिँडाउन सकेका छैनन् । यो कटुसत्य अवस्था हो ।

यो अवस्था बिस्तारैबिस्तारै अन्त्य हुँदै जाँदो छ । विगत् केही दसकयता नेपाली भाषामा राम्रा निबन्ध लेखकहरूको अभ्युदय हुँदै गएको पाइन्छ । तीसको दसकमा कलम चलाएर वर्तमान समयसम्म अनवरत कलम चलाइरहने निबन्धकारहरू मध्ये क्रमश: प्रा.शिवगोपाल रिसाल, कृष्ण धरावासी, महेश प्रसाईं, श्याम गोतामे, बालमुकुन्ददेव पाण्डे, शिव अधिकारी, प्रकाश सायमी, युवराज नयाँघरे, भीष्म उप्रेती, वसन्तप्रकाश उपाध्याय र ज्ञानेन्द्र विवशहरूका कलमबाट अत्याधुनिक नेपाली निबन्धको यात्रा उत्तरोत्तर रूपमा अघि बढ्दै गएको थाहा पाइन्छ ।

सोही आत्मपरक निबन्ध लेखनको ‘लेन’मा यतिखेर आफ्नो गम्भीर र बहुप्रतिक्षित निबन्धको कृति ‘ब्याक बेञ्चर’ लिएर निबन्धकार पेशल आचार्य पाठकहरूमाझ आएका छन् । यो सानो किताब चर्चामा सोही निबन्ध कृतिलाई चर्चाको केन्द्रविन्दुमा राखेर लेखन समग्रता बारेमा उहापोह गरिएको छ ।

‘सबैभन्दा तीक्ष्ण दिमाग कक्षा कोठाका अन्तिम बेञ्चमा भेटिन सक्छन्’ – सामान्य जस्तो लाग्ने यो भनाइको अन्तर्यमा पसेर भावार्थ खोतल्ने हो भने जोकोही मानिसलाई पनि यसले ४४० भोल्टको करेन्ट लगाइदिन सक्छ ।

यो महान्वाणी भारतका पूर्व राष्ट्रपति स्व.एपिजे अब्दुल कलामको हो । कलाम भुइँ मान्छेको तह औ तप्काबाट स्वपरिश्रम र अतुल लगनले क्रमश: माथि उठेर अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारतमा ठुलो योगदान दिने त्यस्ता महापुरुषहरूमध्ये हुन् जसलाई भारतीय राजनीतिले सर्वसम्मत रूपले राष्ट्रपतिजस्तो उच्च गरिमामय स्थानमा पुर्यायो । उनी वैज्ञानिक, अनुसन्धाता, मोटिभेसन स्पिकर, प्राध्यापक, लेखक, सामाजिक अभियन्ता र राष्ट्रपति समेत भैसकेका बहुमुखी व्यक्तित्व हुन् ।

स्व.कलामको चर्चा यहाँ मुफ्तमा गरिएको होइन । यिनको महान्वाणी जो माथि ‘कोट’ गरियो त्यसैलाई समर्पणमा उद्धृत गरी आफ्नो निबन्धात्मक कृतिमा एकजना नेपाली निबन्धका क्रियाशील लेखकले एक दसक समय लगाएर निबन्धको कृति प्रकाशित गरेका छन् । कृतिको नाम –‘ब्याक बेञ्चर’ र निबन्धकार हुन् – पेशल आचार्य ।

डिकुरा पब्लिकेसन, बागबजारद्वारा २०७६, माघमा प्रकाशित यो निबन्ध सँगालोमा २९ वटा आत्मपरक निबन्धहरू समेटिएका छन् । वरिष्ठ कवि/निबन्धकार महेश प्रसाईंको बेजोड भूमिका रहेको यो कृति आकर्षक साजसज्जा र कलेवरमा रम्रिएको छ । २४० पृष्ठको यो किताबको मोल ३९९ रूपैयाँ राखिएको छ ।

‘जीवन, जगत, प्रेम, यौन, इतिहास, दर्शन, वाङ्मय, कला, विकास, संस्कार, सन्तति, विवाह, सन्तान र भावी संसारका बारेमा विविध विषयानुभूति र तीर्यक चित्रणका साथ प्रस्तुत गरिएको’ कुरा लेखकले एक प्रश्नमा स्वीकारेका छन् ।

‘ब्याक बेञ्चर’ नामक यिनको टाइटल निबन्ध र सङ्ग्रहकै मुटु हो । यसका अलावा मिठो झन्झट, दु:ख आफै दुख्ने गर्छ, शब्दका पछाडिपछाडि, असत्य मेव जयते, भार्या चिन्तन, सम्पादकको मृत्यु, कीर्तिपुरे जुत्ता, शम्भवामी युगेयुगे, समय बालापन फर्काइदे, कट्फर जिन्दगी र रित्तो गुँड र चरा नियतिजस्ता बेजोड आत्मपरक निबन्धहरू नयाँ पुस्ताका लागि अमिट कोसेली हुन सक्छन् ।

२०३६ सालको ‘सडक कविता क्रान्ति’मा कवि भवानी घिमिरेको कविता भन्ने अद्भूत शैली र विद्रोह चेतका कविताको नटुङ्गिने रागबाट सर्लक्कै प्रभावित बनेर नेपाली साहित्यमा उदाएका पेशल आचार्य रूचिले कवि, निबन्धकार र कथाकार तथा पेसाले शिक्षक र प्राध्यापक हुन् । उनले तीन दसकको शिक्षण र प्राध्यापनका दौरानमा हजारौं विद्यार्थीहरूलाई कक्षाभित्र र बाहिर सिकाए/सुझाए ।

सोही पेसाले उनलाई आफ्ना कक्षाको अन्तिम सिटमा बस्ने विद्यार्थीहरूको हाउभाउ, फरक प्रतिभा र अन्तर्आवाजलाई सुन्यो र अन्तत: यो कृतिको जन्म भयो । उनी यसैपाला पनि ‘अमेरिकन आइडल’मा दोस्रो उपविजेता बन्न सफल भएका नेपाली मूलका विद्यार्थी देवेश पोखरेल उर्फ आर्थर गनको उदाहरण दिँदै भन्छन् –‘आजसम्म हामीले जहिल्यै अघिल्लो बेञ्चमै बस्नेका कुरा मात्र सुन्यौं । अब पछिल्लो बेञ्चमा बस्नेका कुरा सुनौ त विश्व कम्ती राम रमाइलो र फन्नी हुँदैन । प्रतिभा नै पछिल्लो पङ्क्तिमा बस्नेहरूसँग हुन्छ । भनिन्छ नि, हिलैमा कमल फुल्छ ।’

तीसको दसकको उत्तराद्र्धदेखि कविता विधामा देखापरेको नाम हो – पेशल आचार्य । २०२३ साउन १५ गते विराटनगर –४, बरगाछी, मोरङमा माता शोभा आचार्य र पिता श्याम आचार्यका तीन भाइ छोरामध्ये जेठा छोराका रूपमा जन्मेका आचार्यले त्रिविबाट नेपालीमा एम्ए र बिएड्को शिक्षा हासिल गरेका छन् ।

यिनको लेखन २०३६ सालबाट आरम्भ भएपनि प्रकाशन चाहिँ २०४० सालबाट भएको हो । यिनी स्थानीय, क्षेत्रीय र राष्ट्रिय पत्रिकाहरूमा बिस्तारै कलम चलाउँदै खारिएर आएका लेखक हुन् । जमानामा लेटरप्रेसका ग्लाली प्रुफमा काम गरेका यिनलाई लेखनको सुखदु:ख र प्रकाशनका ‘लगडधस्’ राम्रोसँग थाहा छ । यिनलाई युवाहरूसँग मिल्न सक्ने खुबी भएका सिर्जनशील लेखक पनि भनिन्छ ।

२०६० सालमा ‘कमिलाको ताँती’ नामक बालकविता सङ्ग्रह प्रकाशित गरी कृति प्रकाशनको दौडमा सामेल आचार्यका बालकथा, कविता, निबन्ध, अन्तर्वार्ता, समालोचना र आत्मपरक निबन्धका गरी १० वटा किताब प्रकाशित भैसकेका छन् । यिनका ‘डुसी बाछी र भाइटीका’ तथा ‘किस्ताको कम्प्युटर’ नामका दुई कथाहरू कक्षा ५ र ६मा विगत् एक दसक अघिदेखि कोर्समा पढाइ हुँदै आएका छन् ।

यिनले आधुनिक र राष्ट्रिय गीतहरू पनि लेखेका छन् । यिनका गीत सङ्स नेपालले यु ट्युबमा अपलोड गरेको छ । मुक्तक, छोक र हाइकूमा यिनी आफूलाई संक्षिप्तमा प्रस्तुत गर्न औधी मन पराउँछन् । यिनी बालसाहित्य र किशोर साहित्यमा तालिम समेत दिन्छन् । लेखन, सम्पादन, प्रकाशन र गोष्ठीमा यिनले उत्प्रेरित गरेका प्रतिभाहरूले यिनलाई ‘पि गुरु’ भनेर बोलाउँछन् । अध्ययन, लेखन र प्रशिक्षणमा समर्पित आचार्य रामेछाप जिल्लाका वर्तमान समयका सबैभन्दा पुराना नेपाली भाषा शिक्षक, साहित्यिक पत्रकार र लेखक हुन् ।

शिक्षण पेसामा रहेका आचार्य हाल मन्थली नमुना मावि मन्थलीको सहायक प्रधानाध्यापक पदमा क्रियाशील छन् । नेपाली भाषा शिक्षक समाज र अनौपचारिक साहित्यिक मञ्च रामेछापका अध्यक्ष समेत रहेका आचार्यले परिवेश पुरस्कार –२०५१, उत्कृष्ट कवि, बीबीसी, लण्डन –२०५४, कविता महोत्सव पुरस्कार, धरान –२०५५, र राष्ट्रिय शिक्षा पदक –२०६८ समेतका पदक र पुरस्कारहरू प्राप्त गरेका छन् ।

पुस्तक प्रकाशनको माहोल पार्दै लेखकलाई पाँच प्रश्न गरिएको छ । प्रस्तुत छ सवाल/जवाफ :

प्रश्न १) यहाँको साहित्य लेखनको मूल अभीष्टता (उद्देश्य) के हो ?
उत्तर : समाज र समयलाई कलात्मक शब्द चित्रमा उतारेर भविष्यका सन्ततिलाई विविध विधा र नामका दस्तावेजका रूपमा विचार सुम्पने चाहना नै मेरो लेखनको अभीष्टता हो ।

प्रश्न २) यहाँले लेखेर के पाउनु भयो ? के गुमाउनु भयो ?
उत्तर : मेरो विचारमा लेखनमा गुमाउनु पर्ने केही छैनन् । सबै पाउनु मात्रै छन् । लेख्ने मान्छेकै नाताले भलिभाँती समाज पढ्न पाएँ । नैरन्तर तरोताजा (अपडेट) हुने अवसर जो मिलेको छ । केही साथीभाइ पनि कमाएँ । विद्यार्थीलाइसकेको काउन्सिलिङ् गरेकै छु । धेरै लेखक र पाठकलाई नजिकबाट पढेको छु । एउटा जीवनमा योभन्दा धेरै उपलब्धि अरू के हुन सक्छन् र ?

प्रश्न ३) कति कृति प्रकशनमा आए, अँझै कति बाहिर ल्याउने योजना छ ?
उत्तर : १० वटा आए । ७ वटा बाल साहित्यका र ३ प्रौढ साहित्यका । बाल साहित्यका कृति अब छैनन् । प्रौढ साहित्यका चाहिँ सबै विधा गरी अँझै ८/१० वटै कृति छन् । कुनकुन आउँछन् अहिले नै भन्नु चाँडो हुनेछ । प्रकाशकले जे मन पराउँछन् ती अघि आउने रै’छन् । यो ‘ब्याक बेञ्चर’ निबन्धसङ्ग्रह समेत १० वर्षका दौरानमा प्रकाशन भएको हो । अब २०७७ मङ्सिरतिर निबन्धकै कृति ‘पावर, मनी र सेक्स’ बजारमा आउँदै छ ।

प्रश्न ४) पुरस्कारका सवालमा यहाँको धारणा जान्न सकिन्छ ?
उत्तर : लेखन अन्तर्मनको अनन्त इच्छा हो भने प्रकाशन सोही इच्छाको दोस्रो खुड्किलो हो ।

प्रश्न ५) नयाँ लेखकहरूलाई लेखनका बारेमा के सल्लाह दिनुहुन्छ ?
उत्तर : नयाँ लेखकहरू हामी पुरानाभन्दा धेरै उम्दा र चुजी छन् । तिनीहरूको विषयवस्तु पक्रने कला, लेखन शैली र अध्ययन हामीभन्दा धेरै उच्च स्तरको छ । अँझ म त भन्छु : यहाँ पुरानाभन्दा नयाँ लेखकअघि, गुरुभन्दा चेलाअघि, बाबुभन्दा छोराअघि, नेताभन्दा जनताअघि, हाकिमभन्दा कारिन्दा अघि, डिरेक्टरभन्दा दर्शक अघि र लेखकभन्दा पाठक अघि देख्छु म त । अहिले लेख्ने जो सुकहिले पाठकलाई नजरअन्दाज गरेर लेख्यो भने त्यो टिक्दैन अनि बजारमा बिक्दैन । यो समग्रतामा हो । म केही पुरानै भए पनि सबै खाले नयाँहरूलाई असीम माया र ऊर्जाशील उत्प्रेरणा दिन्छु । दिइरहेछु ।

आदरणीय पाठकहरू ! लेखक पेशल आचार्यलाई मोबाइल नम्बर ९८४४०४४०८३, इमेल [email protected] र Peshal Acharya नामक फेसबुक अकाउन्टमा सम्पर्क गरी साहित्यिक विविध जिज्ञासा र साहित्यिक संवादमा जोडिन सकिन्छ ।

1 thought on “संसार हाँक्ने युवालाई सम्बोधन गर्ने निबन्धको पुस्तक ‘ब्याक बेञ्चर’”

  1. पढें । असल समीक्षाका लागि
    पढें । असल समीक्षाका लागि बैनीमा धन्यवाद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *