Skip to content


देश दुखेको कुरा
माटोको माया लागेको कुरा
देशभक्ति र आदर्शका कुरा
आन्दोलन र विद्रोहका कुरा
जति नै पटक गरे पनि
माटोले माया नपाउने रहेछ
मेरो देशले माया नपाउने रहेछ ।

बोल्नु पर्नेहरूले नबोलेसम्म
छेक्नु पर्नेहरूले नछेकेसम्म
विधि र प्रकृयाले बलियो नबनाएसम्म
किताबका पानामा लेखेर मात्रै
कविता कोरेर र गीत गाएर मात्रै
माटोले माया नपाउने रहेछ
मेरो देशले माया नपाउने रहेछ ।

जीवन बाँच्ने निहुँमा
श्रमलाई महङ्गोमा बेच्ने निहुँमा
पत्तै नपाई पराधिन हुन पुगेको पुस्ता
डायस्पोराबाट जतिनै बोले पनि
देशभित्र हुनेले नसुनेपछि
माटोले माया नपाउने रहेछ
मेरो देशले माया नपाउने रहेछ ।

पौरखी बनी देशको भलो गर्नका लागि
उन्नतिको साझा सपना देख्नका लागि
भाइ भाइको साथ साथ नपाएसम्म
हातमा हात र काँधमा काँध नगरेसम्म
यहीँको माटोमा फलेको नखाएसम्म
पोहोरकै बिऊ माटोमा नछरेसम्म
माटोमा तप्प पसिना नचुहेसम्म
माटोले साँच्चैको माया नपाउने रहेछ
मेरो देशले माया नपाउने रहेछ ।

अजित आचार्य
फोनः ९८५११५३२४२
व्यास नगरपालिका – ९, कलेस्ती, तनहुँ
हाल ललितपुर -१५, सातदोबाटो, ललितपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *