Skip to content


मनसुनका समयमा
खडेरी असम्भव होला
के भन्न सकिन्छ र खै
तर यता भावनामा
खडेरी पर्न सक्छ ।
तरङ्गित मनमा उत्ताल वेगहरू
छालसरी एकपछि अर्को गर्दै
सधैं आउँछन् भन्ने के छ ?
मान्छे न हो मनभित्र खडेरी पर्न सक्छ ।

मानव वस्तिभित्रको कोलाहल
नियाल्ने आँट गुम भएजस्तो छ
रोदन कङ्कलाशब्दमा
अब त नियति बनिसक्यो
हिक्क हिक्क गला बटार्दै
आफन्त गुमाएको पीडा
बाँड्न नपाएपछि
भावनामा सललल बग्दै
कल्पनाका गीतहरू
सुन्ने बानीपरेका तिम्रा प्रफुल्लित मनसँग
साट्न सक्दिन टाउका माथिको भार
छातीभित्रको पीडा ।

भो १ कल्पनाको संसारमा हराउन नखोज
यथार्थको कठिन सङ्घारमा जुझ्दै हिडिरहेको बेला
खडेरी परेको हुनसक्छ शब्दहरू
भावनामा ठेस लागेर रोएको बेला
उनीएनन् शब्दजाल पाना भरिभरि
बुनिएनन् मोहक कथा पाना भरिभरि
त्यसैले त आजभोलि
खडेरी परेको छ हाँस्ने ओठहरूमा
खडेरी परेको छ बाँच्ने घर गोठहरूमा ।

— अजित आचार्य,
व्यास – ९, कलेस्ती, तनहुँ ।
हाल ललितपुर – १५, सातदोबाटो, ललितपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *