Skip to content

लघु कथा: प्लाज्मा


मेरो टोलमा एक तरकारी ब्यापारी कोरोना सङ्क्रमित भएपछि उनी बसेको घर शील भो । तेस्रो चरणमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि उनी डेरामा फर्के तर उनको घरबेटीले उनलाई घरबाट अपशब्द प्रयोग गर्दै गाली गरेर निकालिदिए । धेरै ठाउँमा उनलाई कोठा दिइएन कारण थियो उनका घरबेटी । आफ्नो टोलमा मात्र होइन अलि परकै टोलमा समेत समाजसेवीको नामले प्रख्यात घरबेटीरहेछन् । बल्लतल्ल कोठा मिल्यो एक ठाउँमा ।

आफ्नो दिनचर्यामा फर्केको केही समयपछि एकदिन उनले थाहा पाए कि उनलाई डेराबाट तथानाम गाली गर्दै निकाल्ने घरबेटी कोरोनाले गर्दा मृत्युसँग कठोर संघर्ष गरिरहेको छ भनेर । उसका तीनवटा घरमा दुईवटा भाडामा दिए पनि आफू बसेको घरमा कसैलाई भाडामा राखेको थिएन । कोरोनाको महामारीको कारण लकडाउनको भाडा समेत नछोडे पनि सबैलाई घरभाडा बापतको पैसा बैङ्कमा जम्मा गराउन लगाएको थियो । भाडामा बस्नेलाई नै कोरोना भाइरस देख्ने घरबेटी अहिले आफै सङ्क्रमित भएको थियो । उसलाई सङ्क्रमण भएर ठिक हुनेको प्लाज्मा चाहियो तर मिलिरहेको थिएन ।

भाग्यमानी रहेछ ! ऊ बाँच्यो । केही महिनाको अस्पतालको बसाइपछि ऊ घर फर्किरहेको थियो । घरमा सबैको खुशीको सीमा थिएन । सबै जना हर्षका आँशु चुहाइरहेका थिए तर रबेटी पश्चात्तापको आँसुका धारा बगाएर रोइरहेको थियो । कारण थियो उसले त्यसकै प्लाजामाले नयाँ जीवन पायो जसलाई उसले फोनबाटै तथानाम गरेर डेराबाट निकालेको थियो ।

टीका खरेल सुवेदी
२०७७ भदौ ८ सोमवार

Leave a Reply

Your email address will not be published. Required fields are marked *