Skip to content

थैली हाँस्यो मुसुक्क (बालकविता)


चोलीबाट झिकेर पैसा राख्न खुसुक्क
जुँघा तानिन् आमाले थैली हाँस्यो मुसुक्क

धान बेची बज्यैले दुईचार पैसा कमाइन्
फुर्के डोरी तानेर पैसा राखिन् रमाइन्
पैसा राख्ने बेलामा भाइ बस्यो टुसुक्क
जुँघा तान्यो भाइले थैली हाँस्यो मुसुक्क

‘काँक्रो बेच्न लाने हो आँखिबुट्टे डोकामा
कमाएर रुपियाँ राख्छु यही पोकामा’
यसो भन्दै स्यान्दिदी आइन् साँझमा लुसुक्क
जुँघा तानिन् दिदीले थैली हाँस्यो मुसुक्क

अब आउने तिहारको देउसी अनि भैलीमा
पैसा कमाई ल्याएर राख्छु सुर्के थैलीमा
रुञ्चे मुख लाएर रिसाउँदै ठुसुक्क
जुँघा तानी बहिनीले थैली हाँस्यो मुसुक्क

घिउ दूध बेचेर पैसा जुटाई यसैमा
नयाँ लुगा किन्ने रे अब आउने दसैँमा
पैसा राख्नै बिर्सेछन् झन्नै बाले भुसुक्क
जुँघा ताने बाबाले थैली हाँस्यो मुसुक्क ।

– रमेशचन्द्र घिमिरे
भोर्लेटार, लमजुङ
२०७७/०५/१३

Leave a Reply

Your email address will not be published. Required fields are marked *