Skip to content

जुत्ता लगाउने बचपनको त्यो रहर !!

आठ दश बर्षको उमेर सम्म पनि चप्पल मात्रै लगाउन्थ्यौ जुत्ता थिएन । त्यहि चप्पल पनि कतै जाँदा बिर्सेर आइन्थ्यो र फेरी पछि खोज्न जाँदा पाइन्नथ्यो। कत्ति चोटी रुख बाट ओर्लेर चप्पल लगाउन भुलेरै हराएको हुन्थ्य्यो र यता घरमा बुबाको गालि र पिटाइ त छँदै थियो त्यसमाथि जत्ति राति भएपनि त्यो खोज्न जानु पर्थ्यो जब कि रात परेपछि एक्लै गोठ या मन्दिर सम्म जान पनि डराउथ्यौँ । एक चोटी शायद यस्तै सात आठ वर्षको उमेर थियो कि कुन्नि अङ्कल को घर छेउ एउटा घोए आँप को ठुलो रुख थियो र लटरम्म पाकेको समय भएकोले हामी जगनाथ दाइ र मैले झटारोले हान्दै झारेर राम्रा राम्रा आँप जम्मा पार्दै थियौं । त्यत्तिकै मा अण्टि पनि आउनुभो र ए इनिहरुले यति राम्रा पाकेका आँप जम्मा गरेका रैछन मलाइ पनि देओ न भन्नुभो तर हामी रुन खोज्यौं र दिएनौ । एक छिन पछि भैंसी बाँध्ने नारा बेच्ने एक जना मिजार बुढा धोक्रोमा नारा लिएर हामि छेउ आए । उनको खास नाम के थियो कुन्नि हामी उनले नसुन्ने गरि गिंजे बुढा भन्थ्यौं तर उनका अगाडी चाहिं मिजार नै भन्थ्यौं र अरु ठुला हरु शायद टोपले भन्थे क्यारे । उनि हाँस्दा दांत भन्दा बढी राता गिंजा देखिन्थ्यो । उनि हाम्रो नजिकै आएर ओहो मुखिया साप हरुसंग त कति राम्रो पाकेको आँप रैछ मालाई दिनुस न भनेर फकाउन थाले । फेरी पनि हामी कसैलाई दिनेवाला थिएनौं । अनि उनले हामीलाई फ़काउदै मालाई आँप दिनुभयो भने साप हुरला मैले छालाको नयाँ जुत्ता सिएर ल्याइदिन्छु नि भने , अनि त हामी जुत्ता लगाउन पाउने लोभले फुरुंग हुँदै उनले भनेजत्ति आँप दियौं र उनले सबै आँप त्यो ठुलो थाङ्ग्रे झोलामा हाले । उनीसंग कहिले ल्याइदिन्छौ त जुत्ता भनेको भैँसिको छाला भर्खरै सुकाएको छ त्यो सुकेपछि हजुर हुरला जुत्ता सिउने हो भने । हामी त यत्ति खुशी भयौं कि अब हामी पनि जुत्ता लगाएर ठुलो मान्छे जस्तै ठाँट ले हिंड्न पाइने कल्पना गर्यौं । हामी दुइ दाजुभाइ को खुशीको सिमा रहेन अब हामीलाई आँप पनि चाहिएन, न त भोक नै लाग्यो । छालाको जुत्ता लगाउन पाइने भएपछि कसैलाई नगन्ने जस्तो भयौं । हामीले त्यो जुत्ता कहाँ कहाँ जाँदा लाउने भन्ने योजना बनायौं कि शायद आजकल कुनै कुराले पनि त्यत्तिको खुशी दिन सक्दैन होला । त्यसपछी का दिन हरु सामान्य रुपमा बिते । उनि बेला बेला नारा बेच्न आउँदा आज त पक्कै जुत्ता ल्याए होला भन्दै खै त हाम्रो जुत्ता भन्दै सोध्ने गर्थ्यौं । उनले छाला काटेर ठिक्क पारेको कुरा गर्थे फेरी पनि हामी खुशी हुन्थ्यौं । यसै गरि जत्ति चोटी उनि हाम्रा तिर आउंथे उत्ति चोटी हामी हाम्रो जुत्ताको बारेमा सोध्थ्यौ । उनले कहिले छाला सिलाइसकेर केहि दिन घाम मा सुकाउनु पर्ने त कहिले तलुवा राख्न बाँकी रहेको,अनि कहिले तुना बाँध्ने ठाउँ बनाउन लागेको जस्ता कुरा गर्थे । उनले जति चिल्ला कुरा गरेपनी हामी मख्ख परेेेर प्रतिक्षा गर्थ्यौं । यो क्रम लामो समय सम्म जारि रह्यो । कहिले त उनले हाम्रो खुट्टा को नापो लिएझै गरेर ठिक्क मिल्दो रैछ ह्याँ मुख्या साप लाइ भन्थे । हाम्रो आशा अझै मरेको थिएन । हामी दाजुभाइ ले कहिले एक्ला एक्लै त कहिले दुवै जनाले संगै भेटथ्यौं र जुत्ता कहिले ल्याइदिने हो भनेर सोधी हाल्थ्यौ । हामीले नया जुत्ता ल्याउने कुरा आफु भन्दा ठुला लाइ सुनाउँदा पत्त्याउदैनथे र भन्थे “अँ अब त्यसले जुत्ता ल्याइदेला र लाउँँछु भनेर मक्ख परेर बस ,त्यसले त तिमीहरुसँग आँप फुस्काउन को लागि पो फकाएको कहाँ जुत्ता ल्याइदिन्छ तिमीहरुजस्ता जिन्ना लाइ” भन्थे । आफ्ना सहपाटी ले भने पत्याउँँथे र हामी उनीहरुसंग जुत्ता लगाउने कुराको फुर्ति देखाउँँथ्यौँँ । यसरि आसै आसमा हाम्रो एक दुइ वर्ष बितेछ क्यारे । बिस्तारै जुत्ताको कुरा बिर्संदै गयौं र उनलाई देख्दा भने सम्झन्थ्यौ र खै त हाम्रो जुत्ता भन्थ्यौं उनले पनि उस्तै पारेर ए आज त भुसक्कै बिर्सेछु भन्थे , त कहिले अस्तिनै ल्याएको थिएँ साप हरु कसैलाई भेटिन र फर्काएर लगें भन्थे । कहिले झोलामा नारा धेरै भएर राख्ने ठाउँ नभएकोले नल्याएको कुरा गर्थे । त्यत्ति हुँदा पनि हामी सोध्न छोड्थेनौ । यसै गरि हाम्रा धेरै साल बितेछन हामी ठुला भयौं र उनि बुढो हुँदै गए । उनले जुत्ता ल्याएनन र हामीले घरमै बुबाले किनिदिएका जुत्त्ता लगाउन थालिसकेका थियौं । उनि पनि छोराहरुले इंडिया तिर कमाउने र आफु बुढो हुँदै गएको अनि गाउँ घरमा पनि भैंसी बाँध्नको लागि नाराको सट्टा प्लास्टिक का दाम्लााको प्रयोग हुन थालेकोले उनको नारा र हाम्रो जुत्ता बिचको सम्बन्ध बिल्कुल हराएर गएको थियो । तैपनि हाम्रो परिवार बाँझेकटुइ को मूल बाटोको घरमा पसल गरेर बस्ने ताक त्यो मुलबाटो भएकोले उनले नारा नबेचेपनि कतै घुम्न जाँदा आउँदा त्यहि बाटो ओहोर दोहोर गर्थे ! त्यति बेला म नौ दश कक्षा पढ्ने भैसकेको थिएँ तैपनि उनलाई जिस्क्याउने पाराले कहिले काहीँँ जुत्ता को कुरा उठाउँथे र उनि खिस्स दााँत नभएका गीँजा देखाएर हाँँस्दै मुख्या साहबले त बलाखाको कुरा अझै पनि बिर्सनुभा रैनछ त भन्थे । अचेल त न गाउँ घरमा भैंसी नै देखिन्छन न उनि बिते कि जिउँदो छन् त्यो पनि थाहा छैन । तिन दशक भन्दा बढी बित्यो होला तर पनि गाउँका ति जुत्ता बनाउने ति मिजार बा लाई मिस गरिरहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *