Skip to content


सपनाहरूको महलमा,
फुस्रो ओठमा
म रातो लाली लगाउछु ।

हसिया र पोतो समाउने हत्केलामा
म फुलबुट्टा भर्छु ।

हिलो माटोले पोतेका औला
म रातै पालिसले सजाउछु ।

सालौ साल नयाँ नयाँ खेतका फोहोटा
बनेका भोटा अनि सुरुवाललाई बिस्थापित गर्न
म बुट्टे चोली अनि घाँघर सिलाउछु ।

बुढा भएका मेरा बालाई इस्टकोट र ढाकाटोपीमा
मुस्कुराएको देख्छु ।
दमकी रोगी आमालाई
रातो सारीमा पछ्यौरीको सप्कोले बेरिएर
बाको छेउमा लजाउदै मुस्कुराएको देख्छु ।

सपनाको संसारमा धेरै ताराहरू झरेको देख्छु
ती ताराहरू …
झरेको तारासामु केही माग्दा पूरा हुन्छ रे !
विश्वास त लाग्दैन तरपनि सपनीमै अनगिन्ती इच्छा बुन्छु ।

सपनी जस्तै बिपनी भैदिए
तर उहीँ फुस्रा ओठ,
लज्जावतीका काँडाले ददारेका हात,
खोक्दै फु फु गर्दै अगेना छेउ बसेकी आमा
र चोया काड्दै आमालाई गाली गर्नसम्म भ्याएका मेरा बा !
नयाँ सपना देख्दै छोरी अन्माउने सोचमा
र दाइजोको जोडमा कस्सिएका मेरा बा
मलिन थिए,
इष्टमित्रले “हुर्किएकी छोरी …. ” भन्दा गुपचुप हुने मेरा बा,
अधेरी रातलाई अनिद्राले सजाएको देख्न थाले ।

रोगी आमा बासँग राति-राति गुनासो गर्न लाएको सुन्न थालें,
कहिले काँचका थाल कचौराको कुरा सुनें,
यति त चाहिने होला भन्दै खेतको बैनाको कुरा सुनें,
उसले यस्तो भन्या’ छ, उस्ले यस्तो
आफ्नै सपनाको संसार फेरि झरेको देख्न थाले ।

थाल कचौराको हाल बुझ्नु पर्ने भयो रे !
झर्ला नि राम्रो सँग – आमा,
मनभरि एउटा कुरा र हातमा काँचका भाडाकुडा राख्दा
डर एउटै थियो, कतै खस्यो भने !
खै कसरी कसरी काँचको थाल खसिसकेछ ।

आमाले,
“तेरो दाइजोको लागि राख्या हो,
यो पनि फुटाइस भने के दिने हो ? ”
भन्न भ्याइसक्नु भएछ ।

हो मेरै दाइजोको लागि काशको थाल राखिएको थियो
फाँटमा भएको खेतको फोहोटो राखिएको थियो
खसीलाई हुर्काई-बढाई राखिएको थियो
बाले अँझै पनि काम गर्न सक्छु भन्ने अठोट राख्नुभको थियो ।
आमाले रुझेका दाउरा सल्काउँदै
फु फु गर्दै दमसँग लड्ने साहस राख्नुभ’को थियो ।
साथामा मेरो मनमा ती सपना खोलीमा बग्ने दिनको
झझल्को नयाँ सपना बनी आएको थियो ।

मैले आफ्नो बालापन बिताएको घर
तेरो होइन भन्नु हुन्थ्यो आमा !
जन्मपछि नामसँगै जोडिएको थर
सधैका लागि हुन्न छोरी भन्नुहुन्थ्यो आमा !
खै किन ?
मैले आफ्नो घर छाड्नुपर्ने
मैले आफ्नो थर मेट्नुपर्ने
बाआमाको साथ छाड्नुपर्ने
अनि दाइजोसँगै घुलमिल हुनुपर्ने
र सपनाहरूलाई पनि एकादेशको सपना भन्नुपर्ने ।

आमा ! तिमी नै भन
एक अञ्जानको निम्ति
एक चिम्टी सिन्दुर लगाई
पराईसँग तिम्री छोरी
कसरी आफ्नै बनी बस्छे होला ?
गलामा तिलहरी भिर्दा
भरिएका आँखा कसरी सुकाउछे होला ?

आमा ! तिमी आफैंलाई हेर त एकचोटि,
माग तिम्रो भए पनि
सिन्दुर बाको नामको, अनि इज्जत बाको थियो,
गला तिम्रो भए पनि
तिल्हरी बाको नामको, अनि मान बाको थियो,
कोख तिम्रो भए पनि
बच्चा अनि सम्मान बाको थियो,
आमा ! तिम्रो भन्नु के ती अपूर्ण सपनाहरू
जुन दाइजोको नाममा लिलाम भएको थियो,
त्यति नै हुन त !
किन आमा यस्तो ?
मलिन अनुहार लगाई उठ्दैगर्दा आवाज आयो ।
छोरीको जात भएर !

(बा, आमा र छोरी- पुरानो समयको चित्रण, नारीको शब्द उठानमा गरिएको प्रयास)

Leave a Reply

Your email address will not be published. Required fields are marked *