Skip to content


भुल्ने साझ र रातमा क्षितिजका तारा नियाली किन ?
पोल्ने यो मन,को पकाउछ ?भनी तर्कन्छु रातों दिन ।
बाढी आउछ यो अतीत दिलमा पौडन्छु गंगा सरी ।
हाँस्ने दिक्क हुदा सँधै घरिघरी सम्झेर ती निर्झरी ।।१।।

गाना गाउछु नाचको नभुलने वाचा गरेको थियो ।
जन्मै साथ निभाउने प्रण गरी बल्थ्यो ननिभ्ने दियो ।।
जानौ खै मुटु भित्र के छ? अहिले चम्कन्न सौदामिनी ।
त्यस्तो चन्द्रसमान कान्ति अहिले देखिन्छ झै यामिनी ।।२।।

वर्षा अंम्रितको रहेन ममता शोकाग्निमा पर्दछु ।।
यात्रा टुंगिन बाँकि नै छ कि भनी सन्तोष क्यै भर्दछु ।
भित्रैदेखिअसाध्य दुख्छ मुटु यो सम्झन्छु रातोदिन ।
श्रद्धा यो अँजुली भरी सुमनको गर्दैछु है अर्पण ।।३।।

गर्दै स्नान र ध्यान संगम बनी सन्तोष बाँटी लियौं ।
चोखो प्रेम समाधिमा सहजले गर्ने सुबाटे भयौं ।।
पैताला मनि के बिजेर विचमा अन्यत्र यात्रा भयो?
बन्दै छाल समुद्रको सरी यसै बेकार चोला गयो ।।४।।

कालो बादल ढाकियो सुरभि खै?देखिन्न छायाँ पनि
स्वप्ना भित्र रमाउने हुनगयो जीवन्त मायाँ पनि ।।
यो व्रह्माण्ड लुकाउने मन ठुलो आकाशगंगा पर ।
बल्छीले सरि तानिदैछु नजिकै बाटो बिनाको घर ।।५।।

श्रद्धा भाव निशर्त प्रेम मनमा अग्लो थियो शैल झैं ।
सांच्चै निर्मल भक्तिभित्र गहिरो संग्लो त्रिवेणी सधैं ।
भेटेँ ईश्वर भावमा वहुगुणा संवेग सापेक्षता ।
साह्रा गर्तमहा गिरे कि मदले देखिन्न सौहार्दता ।।६।।

मात्रै आउछ सम्झना हृदयमा आवाज़ हुन्थ्यो नयाँ ।
घण्टौंसम्म समाधि झै समिपता तृप्तिदिने खै कहाँ ।
तड्पिन्थ्यौ पलका निमित्त नभए संवाद छाँयाँ सरि ।
त्यस्तो अद्भुत प्रेरणा चुडिगयो के पाउनाले गरी? ।।७।।

प्रा.धर्मराज कोइराला

Leave a Reply

Your email address will not be published. Required fields are marked *