Skip to content


सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएर बेहोस भएकी भुजेल्नी पुत्रिरत्नको मुखै नदेखी भगवानकी प्यारी हुन पुग्छिन् । एकातिर पत्नी वियोगले बिक्षिप्त बनेको भुजेल माहिलो लासको छेउमा बसेर फुटीफुटी रुन्छ भने अर्कातिर मातृवियोगले तड्पिरहेको पाँच वर्षे यम लडिबुडी गर्दै चिच्याउन थाल्छ । बुहारीको अकालमै ज्यान गएकाले बुढी सासू पनि भक्कानिदै रुन्छिन् ।

साँझपखको रुवाबासी सुनेर छिमेकीहरू भुजेलको घरमा भेला हुन्छन् र त्यहाँको बस्तुस्थिति देखेर निस्तब्ध हुन्छन् । जन्मजात आमाबिहीन भएकी शिशुको चिच्याहटले सबैलाई रुवाउँछ । माथ्लाघरे सुढेनी साहिंलीले रगत र सालनालमा लत्पतिरेहेकी शिशुलाई थाङ्नामा लपेटेर बज्यैको काखमा राखिदिन्छिन् । भावबिव्हल बनेका बाबुछोरा र सासू नवजात बच्चीलाई एकोहोरो हेर्दै भक्कानिन थाल्छन् । दुग्धपानको प्रथमानुभव गर्नबाट बञ्चित अभागी बच्ची भोकले चिर्बिराउन थाल्छे फलस्वरुपरु छिमेकीहरुका आँखाबाट पनि अश्रुधारा बहन थाल्छ ।

कालरात्रिको त्यो कारुणिक दृश्य देखेर आकाशका ताराहरू पिलपिल गर्दै रोइरहेका झैँ प्रतित हुन्छ । सुत्केरी भएको चार दिनमै बच्चा खेर गएकी पल्लाघरे सुनार्नी पनि सकिनसकी मराउ-पराउ भएको घरमा आउँछे । बज्यैको काखमा लपेटिएर रोइरहेकी शिशुको क्रन्दन देखेर सुनार्नीका स्तनहरू चस्किन थाल्छन् ।

हरे दैवको बिडम्बना ! एकातिर नवजात शिशु आमाको स्तनपान गर्न नपाएर छट्पटिरहेकी छे भने अर्कातिर अभागी सुनार्नी आफैंले जन्म दिएको शिशुलाई स्तनपान गराउनबाट विमुख छे । शिशुलाई देखेर सुनार्नीका आँखा रसाउँछन् फलस्वरुप उसले शिशुलाई आफ्नो छातीमा टाँसेर स्तनपान गराउन थाल्छे । स्तनपानको तृप्ततासँगै शिशु सुनार्नीको गोदमा लुपुक्क निदाउँछे ।

दाहसंस्कारार्थ मलामीहरुले माहिलीको लासलाई घाटतिर हिंडाउन सुरु गर्छन् । शङ्खधुनी सहितको शवयात्रामा हिंडिरहेको माहिलो र बाबुको दौराको फेर समाएर बाबुसँगै अघि बढिरहेको यम छाती पिटीपिटी रुन्छन् । यता मराउ घरमा बज्यैको रोएर बेहाल हुन्छ अनि अबोध शिशु कान्छीको न्यानो काखमा लुट्पुटिरहन्छे ।

माहिली बितेको दुई वर्ष बित्न नपाउँदै एउटी नखर्माउली माहिलासँग पोइला आउँछे र त्यसको वर्षदिनमै कान्छी श्रीमतीलाई घर जिम्मा लगाएर माहिलो रोजगारीको लागि कतारतिर हानिन्छ । चोथाले बुहारीको आफूहरू माथिको दुष्ट व्यवहारले गर्दा बज्यै भित्रभित्रै टुटिसकेकी हुन्छिन् । चिरिच्याँट्ट परेर नाठोसँग बरालिदै मोजमस्ती गर्न अभ्यस्त बाइफाले चरित्रकी सौतेनी आमाको व्यवहारले आजित भैसकेका यम र उसकी बहिनी यमुना बज्यैको ममतामयी स्याहार सुसारको छहारीमुनी बसेर हुर्किन्छन् । ऊ चाहिं माहिलाले पठाएको पैसा उडाउँदै मोजमस्ती गर्ने र आफूहरुलाई चाहिं भोकभोकै पार्ने बुहारीको चर्तिकला टुलुटुलु हेर्नु बाहेक बिवस बुढी बज्यैको अरु कुनै चारा थिएन ।

बालापन खोसिएका टुहुरा दाजुबहिनी एक अर्कालाई असाध्यै माया गर्छन् । दाजुले फुच्ची बहिनीको हर तरहले हेरचाह गर्ने गर्छ र बहिनीले पनि दाजुलाई एकैछिन छोड्न मान्दिन । यमुनालाई आफ्नो स्तन चुसाएर बचाउने सुनार्नी कान्छीलाई पनि हैजाले लैजान्छ । अभागी दाजुबहिनीको जीवनमा बज्रपातमाथि बज्रपात पर्न जान्छ । कतारमै बसेर रोजिरोटी कमाइरहेको माहिलाको पनि दुर्घटनामा परेर अकाल मृत्यु हुन्छ । यो दुःखद खबरले पुरै गाउँ शोकमा डुब्छ ।

एक पछिको अर्को बज्र प्रहारले बिखंडित भएका यमयमुना सार्है बिक्षिप्त बन्न पुग्छन् । छोराको मृत्युको खबर सुनेर भुइँमा डङरङ्ग ढलेर बेहोस भएकी दमरोगी बज्यै नबौरिकनै भगवानकी प्यारी हुन पुग्छिन् । खसमको मृत्युको खबरले कपटी आसुँ बहाइरहेकी बाइफाले कान्छीको मुहारमा देखावटी बिश्मयका लहरहरू मात्रै कुदेका देखिन्छन् ।

बिधिको बिडम्बनाजन्य परिवेशमा सबै पृयजनहरू गुमाइसकेका र बाबुको प्रतिक्षारत यमयमुना सौतेनी आमासँगै बसेर बालापन गुजार्न वाध्य हुन्छन् । थारी सौतेनी आमाको रुखो व्यवहार र खटनपटनमा दाजुबहिनीका बेचैन दिनहरू बित्दै जान्छन् । वेश्याहार दाजुबहिनी कहिलेकाहीँ राती आकाशमा पिलपिल गर्ने ताराहरुमा दिवङ्गत प्रेमसागरहरुका आभास खोज्छन् त कहिले उनीहरुका सपनामा आएर बिपनामा अलप भैसकेका तिनै अवर्तमान दिवङ्गत आफन्तहरुलाई खोज्ने निरर्थक प्रयास गर्छन् ।

कार्तिक मास दीपावलीले झिलिमिली भएको गाउँमा जताततै तिहारको उल्लास र उमङ्ग छाउँछ । यत्रतत्र फुलेका सयपत्री र मखमलीको सुन्दरतासँगै सेलरोटीको बासनाले गाउँ नै मगमग हुन्छ । गाउँभरी दौरा सुरुवाल र गुन्यू चोली लगाएका केटाकेटीहरू हरियो गोबरले लिपेका दलान–दलानमा देउसीभैली खेल्न मस्त हुन्छन् । चाडबाडको उत्साहले उमङ्गित गाउँभित्रका ती ब्यथित दाजुबहिनीको घरमा न त कुनै झिलिमिली हुन्छ न त कुनै पकवानका बासनाहरू नै छरिन्छन् । सबेरै बहिर निस्केकी कान्छी आमाको साँझसम्म पनि घर फिर्ने कुनै अत्तोपत्तो हुँदैन ।

भोकप्यासले ब्याकुल दाजुबहिनी आफ्नै तालाबन्द घरको मझेरीमा टहलिदै आमाको प्रतिक्षारत हुन्छन् तर उनीको इन्तजारमै रात छिप्पिन्छ । यमुना दाजुको काखलाई सिरानी बनाएर भुसुक्कै निदाउँछे र यम पनि भित्तामा अडेस लागेर फुस्सै निदाउँछ ।

मध्यरातमा निद्रादेवीको काखमा खेलिरहेका अभागी दाजुबहिनीको मिठो सपनामा बज्यै आउँछिन् र दुवैलाई सेलरोटी दिन्छिन्, त्यसपछि बाबु आउँछन् र उनीहरुलाई खेलौना दिन्दै बिदेशी लुगाहरू लगाइदिन्छन् अनि अन्तत उनीहरुलाई आफ्नै जन्मदात्रीले मासुभात खुवाइदिन लाग्दा अचानक कसैले छेवैमा आएर गरेको कर्कश होहल्लाले उनीहरू बिपनाको धरातलमा बज्रन पुग्छन् ।

मध्यरात्रिमा झस्किएका दाजुबहिनीले नशामा लर्बराउँदै लठारिरहेका पुरुषमहिलाका अस्पष्ट आकृतिहरू देखेर भयभीत हुन पुग्छन् । ती आकृतिहरू लड्खडाउँदै घरभित्र पस्छन् र टुकी बालेर गुनगुन गर्न थाल्छन् ।

दाजुबहिनीले हिम्मत गरेर खटप्वालबाट चिहाउँछन् र हातमा बाबुको सिरुपाते खुकुरी बोकेर परपुरुषसँग खासखुस गरिरहेकी सौतेनी आमाको भयानक रुप देखेर भयभीत हुन्छन् । भयभन्दा भयङ्कर भोक खप्न नसकी यमयमुना घरभित्र पस्छन् र आमासँग खानेकुरा माग्छन् । खानेकुरो दिन त परै जाओस सौतेला छोराछोरीलाई देख्ने बित्तिक रिशले चुर भएकी आमा र त्यो रल्लू पुरुष मिलेर ती निर्बलहरुलाई लछार्दै कुटपिट गर्न थाल्छन् । गाउँको एकलासे घरमा तड्पिरहेका ती निर्दोषहरू असह्य पीडाले चिच्याउन थाल्छन् तर उनीहरुको चिच्याहट अन्धकारको गर्भमै बिलाउँछ ।

भुइँमा लडिबुडी गर्दै कहालीरहेकी बहिनीलाई नाथ्री फुटेर रगत बगिरहेको दाजुले घिसार्दै घर बाहिर ल्याउँछ र आमा र उनीको मतियारबाट आफूहरू मारिने भयले बहिनीलाई आफ्नो काँधमा बोकेर घर बाहिरको त्रासद अन्धकार चिर्दै लक्षहीन क्षितिजतर्फ भाग्छ ।

उबडखाबड कान्ला–कन्धराको पर्वाह नगरी बहिनीलाई बोकेर भागिरहेको यम भाइटिकाको बिहान खोला किनारमा अवस्थित लटरम्म फलेका बेलको बोटमुनिको चौतारीमा पुग्छ । भोकप्यासले रोइरहेकी आफ्नी बहिनीको आँसुले पोल्दा बालकैमा अभिभावकत्व बोकेको यमले गहको आसुँ लुकाउँदै बहिनीलाई काखमा बोकेर ढाडस दिन थाल्छ । अजिङ्गरको आहारा दैवले पुर्याउँछ भने झैं कमेरो र रातो–पहेंलो माटोमाथि फुलेका रङ्गिचङ्गी फूलहरुका साथै पाकेका काफल र च्यूरीका झ्याङहरुले घेरिएको बेलवृक्षका हाँगाहरुलाई रैथाने बानर र चराचुरुङ्गीहरुले हल्लाउँदा बग्रेल्ती पाकेका फलहरू झर्न थाल्छन् । दाजुबहिनी फलाहार र जरुवाको जलसेवनले तृप्त हुन्छन् ।

निष्पक्ष प्रकृति आमाको काखमा रमाइरहेका निस्फिक्र दाजुबहिनी छेवैमा बगिरहेको खोलामा नुहाएर शिवप्रिय बेलवृक्षको शीतल छहारीमा फर्कन्छन् । नील गगनमुनीको मनोहर बिसौनीमा चराचुरुङ्गीका मधुर कलरव र शीतल पवनका झोङ्क्काका स्पर्शहरुले प्रफुल्लित दाजुबहिनी भयावह भूतलाई बिर्सदै मनोरम वर्तमानमा हराउँछन् । प्रकृतिको काखमा रमाइरहेका स्वस्फुर्त भुराभुरी बालक्रीडाजन्य भाइटीका खेल खेल्न थाल्छन् ।

यमुनाले दाजुको निधारमा कमेरोको ठाडो पृष्ठभूमिमा अविर र केशरीको साटो रातो र पहेंलो माटोका थोप्ले टीका लगाइदिन्छे अनि घाँटीमा काँसको त्यान्द्रोमा उनेका रङ्गीबिरङ्गी फूलहरुको माला लगाइदिन्छे । भाइटीका थापिरहेको दाजुले पनि बहिनीलाई उसैगरी टीका लगाइदिन्छ र दक्षिणाको बदलामा बहिनीलाई च्युरी, बेल र काफलको उपहार दिन्दै चेलीको खुट्टामा ढोगिदिन्छ । प्रकृतिको आँगनमा मनाइएको अद्भुत भाइटीका देखेर स्वागतार्थ आकाशका बादलपुञ्जहरू कम्मर मर्काउँदै नाच्न थाल्छन् र बाललीलाको दृष्टिपानमा ब्यग्र सूर्य बिश्रामार्थ पश्चिम क्षितिजतिर पाइला चाल्न थाल्छ ।

किराहरुका सङ्गीतमय च्याउँच्याउँसँगै साँझको आगमन हुन्छ । चराचुरुङ्गीहरू आ–आफ्ना गुँडमा पस्छन् र चकचके बानरहरू शान्त हुन्छन् । यमयमुना सेउलाको बिस्तरामा पल्टिएर मध्यरात्रिमा पिलपिल गर्ने जुनकिरीमा दीपावलीको आभास खोज्दा खोज्दै भुसुक्कै निदाउँछन् । भोलिपल्ट पूर्वको रक्तिम आकाशले बिहानी ल्याउँछ । निर्जन बिसौनीमा मडारिरहेको लुप्त भयबाट ग्रसित बालबालिका उषाको आगमनसँगै ब्यूँझिन्छन् । आफ्ना परिवारको भरणपोषणार्थ अभिभावक पशुपन्छीहरू बाहिरतिर लाग्छन् र छाउराछाउरीहरू घरमै बस्छन् । लक्ष र गन्तव्यविहीन दाजुबहिनी अलमलमा पर्छन् । दोपहरमा यमले फलफुल खाइरहेकी बहिनीलाई काँधमा बोक्छ र आफूहरू आएको दिशाभन्दा बिपरित दिशाको क्षितिजतिर आफ्ना किङ्कर्तव्यमुढ नजरहरू दौडाउन थाल्छ ।

खोलापारी टाढाको डाँडामा एउटा मन्दिरको गजुर जस्तो आकृति उसको दृष्टिपटमा कोरिन्छ । मानवहरुको भीडमा नअटाएका मानव सन्ततिका पाइलाहरू भरोसाजन्य दैवी सहारा खोज्दै मन्दिरतिर लम्किन्छन् । यम बहिनीलाई डोर्याउँदै त्यही गजुरे डाँडोतिर लम्किन थाल्छ । पाहुनाहरू जान लागेको देखेर न्यास्रो मान्दै त्यहाँका पशुपन्छीहरू क्याँक्याँ कुँकुँ गर्दै उनीहरुका अघिपछि दौडिन थाल्छन् । कलियुगिन यमयमुनाका बिवस बालपाइलाहरू क्षितिजतर्फ अघि बढ्छन् र बढिरहन्छन् ।

इति

–राजेश अधिकारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *