Skip to content


मझिन्थोक बस्ती बसेरा र टारी
उकाली तरेली बगैंचा र बारी ।
सखारै छिमेकी मिलेरै जुटिन्थ्यो
यथाशक्ति जोतेर डल्ला चुटिन्थ्यो ।।

उज्यालो नझर्दै सकिन्थ्यो भकारो
अलौटा मकैले मजैले डकार्यो।
सबै याद आई परेली भिजायो
पुराना कुराले कलेजी बिझायो ।।

बढेको पढेको हिमाली धरामा
चलेको लुकेको बरैको जरामा ।
ठगीमा परेनौं फटाहा गलेका
कसैको खुशीमा थियो को जलेका ? ।।

यहाँ झोकले को लडेको थियो र
बसैं भोकले को सरेको थियो र ? !
हिजोका दिनैमा खुशीले रमायौं
जवानी चढेथ्यो सवारी समायौं ।।

हिजो टन्न खायौं यहीं नै अटायौं
धनैको पुजारी बनेछौं छटायौं ।
बसाई जहां होस ब्रह्माण्ड फेरो
मझिन्थोक फिर्ने पुकारा छ मेरो ।।
(भुजंगप्रयात )

2 thoughts on “गाउँको सम्झना”

  1. आह !! जति पढ्यो पढु लाग्ने
    आहा !! कवितामा म चुर्लुम्म डुबेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *