Skip to content


सरकार
जनतालाई हुकुम तामेल गर्छ
सधैँ मिठोमसिनो र तागतिलो खानु
जनतालाई
यहाँ सास अड्याउनै मुस्किल छ
त्यो झोलिलो मोलिलो
र तागतिलो सरकारले नै खानु
सरकार भन्छ ‘फेस टु फेस भएर पढाउने स्थिति नै छैन’
‘जुम वा गुगल मिटबाट कक्षा सञ्चालन गर्नु’
कठैबरा सरकार !
जनताका हातमा सोर सयको मोबाइल समेत छैन
कहाँबाट नेट कक्षामा सामेल हुनु
सरकार भन्छ —
‘अब कोरोना समुदायमा फैलियो
सरकारी अस्पताल र भेन्टिलेटर भरिए
आफ्नो सुरक्षा आफैँ गर्नु’
जनताको सुरक्षा त भगवान्ले गर्छन्
बरू नेताज्यूहरू —
हजुरहरको सुरक्षा चाहिँ आफैँ गर्नु
उखानै छ —‘बाहिर बानिएको गाईलाई चितुवाले पनि खाँदैन’
‘खोरभित्रका जोर खसी छानीछानी बाघले लैजान्छ’,

सरकार भन्छ –‘समयमै कर तिर्नु’
जनता भन्छन् –‘अब त हामीलाई निचोरे गुहू र काटे रगत आउँछ’
भए पो तिर्नु नभए कताबाट छिर्नु ?

अहिले सबै कुराको लकडाउन भए पनि
यी र यस्ता प्रश्नहरूको लकडाउन भएकै छैन
कोसँग सोधौं यी प्रश्नहरू
महिनौन्देखि म उत्तर खोजिरहेछु ।

पेशल आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *