Skip to content
MansiManohar


शायद म जन्मिदा
तिमीले जीवन पाएकी थियौ
पहिलो पटक डाँको छाड्दा
मनले हाँसेकी थियौ
खुशीले नाचेकी थियौ

त्यसपछि कहिल्यै हाँसेनौ … म रुँदा
पहिलो पटक म रुँदा हाँसेकी तिमी
त्यसपछि म रुँदा तिमी रुन्थ्यौ
म हाँस्दा तिमी हाँस्थ्यौ
सँगै गाउँथ्यौ हामीसँगै नाच्थ्यौ

मानौ मसँगै तिमीले जीवन पायौ …
सिंगो जीवन मैमाथि खन्यायौ
सहश्रधारा पिलाएर
आफ्नै पौरखमा बाँच्न सिकायौ
आफ्ना सपना निमोठेर मैलाई रङ्ग्यायौ

शायद त्यसैले होला …
त्यसैले होला शायद
जहिलेदेखि सोच्ने र बुझ्ने भए
थोरबहुत महसुस गर्ने भए
आफूलाई तिमीभित्र पाए

शायद त्यसैले होला …
त्यसैले होला शायद
जबदेखि सम्झने र जान्ने भए
थोरबहुत अनुभव गर्ने भए
तिमीलाई आफूभित्र पाए

आफूलाई तिमीभित्र पाए
तिमीलाई आफूभित्र पाए

– मान्सी मनोहर
राजविराज नगरपालिका–६, सप्तरी
०७५ भदौ ५ गते

Leave a Reply

Your email address will not be published. Required fields are marked *