Skip to content


आमाले चाङ लगाएर सन्दुसमा राखेको
ढुङ्गा देखेर अचम्म लाग्थ्यो
उहाँ भन्नुहुन्थ्यो-
जतन हो बाबु जतन !
एउटा चिटिक्कको घर बनाउनु छ तिमीहरूकै निम्ति
र त म रातदिन लागिरहेकी छु यसकै लागि
मेरो आमाप्रतिको विश्वास हो या अबुझपन
साँच्चै हो आमाले एउटा सुन्दर उपहार दिनुहुनेछ
चिटिक्कको घर
जीर्ण घरको ओतबाट सर्नेछौँ हामी पनि कुनै दिन
त्यही स्वप्नसंसारको घरमा
सपनाजस्तै लागिरहन्छ अहिले पनि मलाई
आमा अझ त्यही काममा हुनुहुन्छ
म पनि विश्वस्त भएर
सपनाको निहिनमा यसो टाउको अड्याउर
लोलाइरहेछु
हेरिरहेछु आमाको मेहनतलाई
अझै पनि आमा ढुङ्गा बटुल्दै हुनुहुन्छ ।

-कुञ्चोक-४, सिन्धुपाल्चोक

Leave a Reply

Your email address will not be published. Required fields are marked *