Skip to content

जिन्दगीको रुम्झाटार र धिक्कार


प्रेममा तेरो फूलसँग के सम्वन्ध छ ? भनी
हिजो भ्रमरलाई प्रश्न तेर्स्याउने म
आज बत्ती र पुतलीलाई बिर्सेर
आफ्नो नेटवर्क सम्झिन बिर्सेको म
किनभने
आज एकाएक मौसमको अदलाबदली झैँ
बदलिरहेछ जिन्दगीको रुम्झाटार ।

सुख्खा रोटीसँग नून-चुकले स्वाद लिने मेरो जिब्रो
अर्काको अहित र नोक्सान देखेर स्वाद लिइरहँदा
सुखदुःखमा साथ दिएर हिँड्ने हिजोको म पथिक
आज नग्न दृश्य एवं क्षणिक सुखको स्वाद लिइरहेछ
किनभने
आज एकाएक मौसम को अदलाबदली झैँ
बदलिरहेछ जिन्दगीको रुम्झाटार ।

अरुलाई सधैं पोजिटिभ मात्रै सोच्नुपर्छ भन्ने मेरो मन
आज आफ्नो सिद्धान्तलाई मात्र पोजिटिभ
र त्यसबाहेक अल्-नेगेटिभ देख्दा
हृदयको सुनामीबाट हात्तीको देखाउने दाँत प्रष्ट देखाई
अरुलाई मात्र मूर्ख बनाउदा
आफू पनि त्यसमा परिएको नबुझ्ने शठता
किनभने
आज एकाएक मौसम को अदलाबदली झैँ
बदलिरहेछ जिन्दगीको रुम्झाटार ।

पदले ठुलो भए पनि
आत्माले भने हर्दम धिक्कारिरहेको भान भैरहेछ
दुई मुठी चामल कनिकाले पुरै अघाउने मेरो पेट
ठुला ठुला प्रोजेक्टले पनि भोको जस्तो आज
किनभने
आज एकाएक मौसम को अदलाबदली झैँ
बदलिरहेछ जिन्दगीको रुम्झाटार ।

आफैं विकासवादी सिद्धान्तको ज्ञाता भै
सुशासनका आयाम प्रष्ट्याइ हुटिट्याँउ झै गर्ने
आफैं दोहोरो चरित्र देखाई
देश किन बनेन भनी प्रश्न गर्दा
पदले म आफैँ पनि ठुलो हुँदा,
आत्माले भने आफैंलाई धिक्कारिरहेछु
किनभने
आज एकाएक मौसम को अदलाबदली झैँ
बदलिरहेछ जिन्दगीको रुम्झाटार ।

-शिवराज कलौनी
भि न पा ३ कञ्चनपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *