Skip to content


सफा आकाशमा
परेवा उडाएर
शान्ति ल्याउन खोज्ने
दुष्ट हातहरुले
फोहोर धर्तीमा
कुमारी शान्तिलाई
बलत्कार गरेर
अमन चयनको
वकालती गर्छन्
उडिरहेको शान्तिदूत परेवाले
धर्तीतिर हेर्दै गिज्याउँछ
शान्ति बोलाउने महमानवको
मुहार हेर्दै मुस्कुराउँछ
बगलीमा छुरा बोकेर
राम राम भन्ने मुखको
शान्तिवाणी सुनेर लजाउँछ
विडम्बना! यही लबस्तरो
पुरस्कृत र विभूषित हुन्छ
अबोधहरुको वस्तीमा
सज्जनको भेस लगाएर
सुनीति सिकाउने
बहुरूपी महात्माहरू
रातको अँध्यारोमा
भट्टीभित्र पसेर
आचारलाई कुल्चदै
ब्याभिचारलाई सुम्सुमाउँदै
नैतिकताको रत्यौली खेल्छन्
कृतघ्नताको सागरमा
गोताखोरी गरेर
आफू मात्रै रमाउने
स्वार्थी सन्तानहरू
आमाबाबुका बुढ्यौलीलाई
बेवास्ता र दुत्कार गर्दै
नीतिको नरसिंहा फुक्छन्
स्वार्थको शराव पिउँदै
मस्तीमै डुब्छन्
ब्रह्मलूटको स्वादमा
पल्किएका भतुवाहरू
भेटेजती हसुर्छन्
सत्तामोहको नशामा
डुबेका पाखन्डीहरू
पाएजती तुर्याउँछन्
समृद्धिका खोकाईले
नथाक्ने लबस्तराहरू
सम्मानित हुन्छन्
महानगरको पटाङ्गिनीमा
नअटाएका भुइँमान्छेहरू
बेवास्ताले थिचिएर
दबिइरहन्छन्, निससिरहन्छन्
नगरका सञ्चालकहरू
सन्तति पोस्न ब्यस्त छन्
भाषण बक्न पोख्त छन्
यस्तै छ राजधानीको कथा
सौतेला नगरवासीका व्यथा
उभिन्डो जन्मिएको शैलीले
ओतप्रोत मेरो देशमा
राष्ट्र चलाउने सारथीहरू
सदनका कुर्सी भाँच्छन्
कलाकार धुर्मुससुन्तली
रङ्गशाला बनाउँछन्
लाचार आराध्य पशुपतिनाथ
मन्दिरमा गजधुम्म परेर
टुलुटुलु मात्र हेर्छन्
असत्य गाइन्छ
सत्य लुकाइन्छ
अत्याचार मौलाउँछ
सदाचार झोक्राउँछ
चोर सम्मनित हुन्छ
साधुलाई शुली चढाइन्छ
यो मेल बेमेलको धरातलमा
असलको खुट्टा काटिन्छ
खरावलाई पखेटा लगाइन्छ ।

इति

Leave a Reply

Your email address will not be published. Required fields are marked *