बुद्धिमाया दिदी
सानो छँदैदेखि साह्रै बाठी थिइन् रे
बुद्धिवान् थिइन् रे
बुद्धिकै कदर थियो वा संयोग
नाम पनि बुद्धिमाया जुरेछ
उमेर नपुग्दै बिहे भयो
बैँस नचढ्दै आमा भइन्
आफ्ना बालबच्चालाई साह्रै माया गर्थिन् रे
मातृ स्नेह र हार्दिकता हेरेर
गाईको उपमा दिएका थिए गाउँलेले ।
दिन बित्दै गयो
कहिले दिन कहिले रात
पूणिर्मा पनि झेलिन्
आँधी पनि देखिन्
छोरी भइन्
आमा भइन्
समय न हो बुद्धिमाया सासू भइन्
सबै साँचोकुचो बुहारीलाई जिम्मा लगाइन्
“म बूढी डाँडाको घाम
सबै सम्हाल तिम्रो नै हो”
घरसंसार बुहारीलाई सुम्पेर सोच्छिन्
आनन्दसँग बूढापा काटौँला
संयोग हो वा परम्परा निर्वाह
गाई जस्ती बुद्धिमाया
बुहारीलाई काँडा बनिन्
चौतारीमा सरेको छ उनको डेरा
पछ्यौरीले लाज छोपेर थापेकै हातको भरमा पेट भर्छिन्
नजिकै बाटो भएर जान्छन् छोराबुहारी
तिनै इज्जतका खातिर उनी मुख छोपेर छेल पर्छिन्
उनको आँखाको मोती दाना
बुहारीको मुस्कानको मखमली-कति फरक छ जीवन!
त्यहीँबाट ठूलो जुलुस आयो
चौतारीको पीपलबोटमा माइक जोडियो
धेरै नयाँ पुराना नारीहरू आए
कतै गीत कतै कविता
कतै भाषण/प्रहसन
मिठाइ वितरण/कपडनादान
वृद्धवृद्धा/भोजन
सन्देश/वक्तव्य/नारा जुलुस
देश संवेदनशील भयो, कति रोए/कतिले रुवाए
क्या पर्व! त्यो दिन अन्तर्राष्ट्रिय नारी दिवस रहेछ!
परिवर्तनका हिमायतीहरूले भाषण गर्दा बजेको तालीले
बुद्धिमायाको तन्द्रा भङ्ग भो
उनी छोरालाई दूध चुसाएको सपना देख्दै थिइन्
छोरा बुहारी साँझ कक्टेल डिनरको लागि
डे्रसअप गर्दै थिए ।
आज पनि मलाई लागिरहेछ
बुद्धिमायाको नाम मात्रै बुद्धिमाया कि
उनको विचार पनि बुद्धिमाया ?