Skip to content


“जा नउवा ! गाउँमा घर-घर भनेर आ कि जमिन्दारसाहेब बितिहाले ।”

जमिन्दारी रबाफले भन्यो, जमिन्दारको छोरा ढोलवाले !

“अच्छा !”

नाइ त्यहाँबाट हिँड्यो अनि गाउँको एकछेउमा पुग्यो अनि त्यहीँबाट घरघरै भन्नथाल्यो-“भूरे जमिन्दार

बिते ! भूरे जमिन्दार बिते !!………….”

नाइले आफ्नो गाउँभरि खबर सुनायो, भूरे जमिन्दार मरेको, उसको मलामी जान !

नाइले आफ्नो नोकरीका कारण जिम्मेवारी पूरा गर्‍यो ।

भूरे जमिन्दारको मृत्युको खबर सुनेर कसै-कसैले भने-“हरे !……………” यस्तो ‘हरे’ भन्नेहरूमा ज्यादा गरेर जमिन्दारको जुठो चाट्ने चट्टुबाजहरू थिए ।

उसकै मृत्युको खबर सुनेर धेरैजसोले भने-‘ठिकै भो !……………..”

जमिन्दारबाट त्यहाँका धेरैजसो मानिसहरू शोषितपीडित थिए । उनीहरू सबैले भने-

“मर्‍यो साला, ठिकै भो !…….”

आफ्नो आफन्तीमा त फोन गरेर भनिसकेको थियो, ढोलवालेले आफ्नो मोबाइलबाट आफ्नो बाउको मृत्युको खबर !

समाजको एउटा परम्परा रहेछ- मूर्दा हेर्न जाने । त्यो मूर्दा पहिले चाहे मित्रु थियो या शत्रु !

मरेपछि जमिन्दार भूरेलाई पनि हेर्न जानथाले मान्छेहरू !

भूरेलाई वस्त्र ओढाएर खटियामाथि राखिएको थियो । वरिपरि आफन्तहरू रुनलाई बसेका थिए तर तिनीहरू रोइरहेका थिएनन्, देखावटी रुवाइ रोइरहेका थिए । त्यहीँ अन्य आफन्त र छिमेकीहरूको पनि भीड लागेको थियो, मूर्दा हेर्नेहरूको भीड ! केही हेर्नेहरूले भन्दैथिए-”यति ठूला जमिन्दार ! यत्तिको सम्पत्ति बटुलेर के गर्ने ? आज रुने कोही भएन !”

सुनेर ढोलवा उठिहाल्यो, निदाउँदै थियो । भन्यो-“ए नउवा !”

”के हो ?”

नाइले भन्यो ।

”जा, भाँटहरूलाई बोलाएर ल्या’, रुनलाई ! भनिदिएस्- ढोलेका बा भूरे जमिन्दार बितिहाले । रुनलाई हिँड सबैजना, छिटो हिँड ।”

“जाँदैछु ।”

नाइ तुरुन्तै भाँटहरूको गाउँतिर गयो । सबै भाँटहरू खाना खाने तयारीमा थिए ।

जाडोको महिनामा सबै भाँटहरू घरमै भेटिइहाले । सोधे-“कहाँ ठाकुर ? आज हामीहरूको द्वारमा पनि सवारी हुनुभयो ।” नाइले भन्यो-”तपाईंहरू मेरो द्वारमा सवारी हुनुहुन्न भने म पनि नआउँ ! आइहालेँ । कामै यस्तै पर्‍यो । किन मुखमा लुकाइ राखुँ ? बताइहालूँ- “भूरे जमिन्दार बितिहालेछन् । रुनेलाई हिँड्नुस् सबैजना, छिटो हिँड्नुस् ।” भाँटहरूले भने -”ठाकुर, तपाईं हिँड्दै गर्नुस् । हामी आउँदैछौँ ।”

”अच्छा !”

नाइ आफ्नो गाउँतिर, जमिन्दारको घरतिर हिँड्यो ।

यता भाँटहरूलाई भूरे जमिन्दारको मृत्युमा रुनलाई तयारी गर्दैथिए । त्यतिकैमा भाँटहरूकै समाजमा एउटी बूढी बितिहाली । जुन धेरै दिनदेखि बिरामी थिई । उसको उमेर पनि धेरै भैसकेको थियो ।

सबै भाँटभँटिनीहरू आफ्नी बूढीआमाको मृत्युमा अबिरल आँसु चुहाउँदै रुनथाले, तब उनीहरू भूरे जमिन्दारको मृत्युमा रुन गएनन् ।

नाइ, भूरे जमिन्दारको दरवारमा पुगेपछि ढोलवाले सोध्यो-”किन नउवा ? भाँटहरू किन आएनन् ?” ”आउँदैछन् ।” नाइले भन्यो । भाँटहरूले जे भनेका थिए, त्यही भनिदियो नाइले !

दिउँसो भैसकेको थियो । भूरे जमिन्दारलाई मसानघाटमा लैजाने समय हुनलागेको थियो ।

ढोलवा रिसाइहाल्यो, बाघझैँ ! भन्यो-” अरे नउवा ! कुरो के छ ? तँ त भन्दैथिइस् -भाँटहरू आउँदैछन् । अनि ?”

“साँच्चै हो ! भाँटहरूले भनेका थिए-तपाईं हिँड्दै गर्नुस् । हामीहरू आउँदै छौँ ।”

नाइले विश्वास दिलाउने कोसिस गर्‍यो, ढोलवालाई !

“अनि किन आएनन् त, ?”

ढोलवाले गर्जन थाल्यो, गर्ज्यो पनि ! गाली पनि गर्‍यो !

“खै, किन आएनन् ? फेरि गएर हेरूँ !” नाइले भन्यो ।

“तँ नजा । म जाँदैछु । अहिले आफैँ पत्ता लागिहाल्छ-तँ बोलाउन गइस् कि गइनस् ? या भाँटसालेहरू आफैँ आएनन् ?”

गाली गर्दै ढोलवा, भाँटहरूको गाउँ भाँटन पूर्वतिर गयो । गएर उसले सोध्यो -“ए भाँटहरू, किन ? तिमीहरूले अहिलेसम्म केही थाहा पाएनौ ?”

भाँटहरूले भने-“होइन खबर पाएका थियौँ-तपाईंका पिताजी बित्नुभएछ भनेर !”

“अनि किन रुन आएनौ, तिमीहरू ?”

“के गर्ने ? आजै हाम्रो समाजमा एकजना बूढी आमाको मृत्यु भैहाल्यो । त्यसैमा लागेका हौँ, रुँदैछौँ । अनि त कसरी जाऔँ, तपाईंकहाँ रुन ?”

“कि कसैले तिमीहरूलाई रोक्न आयो ?”

“होइन कसैले केही गरेको छैन हामीलाई ? अब फेरि तपाईंको कोही मर्‍यो भने भन्नुहोला, हामी जसरी पनि आइहाल्छौँ !”

“किन, मेरो घरमा अरू कोही मर्ने ? कस्तो अशुभ कुरा गर्ने ?” भाँटहरूलाई कोर्रै-कोर्राले पिट्दै ढोलवा आफ्नो दरवारतिर लाग्यो-“सालेहरू मजदूरी पनि लिन्छन्, तैपनि यस्तो कृतघ्नता देखाउँछन् !”

“ल हेर, हामीहरूको कृतघ्नता ।”

पूरै भाँटहरू मिलेर कोर्राको बदलामा कोर्रा नै बर्साउनथाले-ढोलवामाथि ।

उनीहरू ढोलवामाथि कोर्रा बर्साउँदै भन्दैथिए-”अब यत्रो पनि जान्नौँ रुन, कसैकहाँ पनि ! पेट पाल्नलाई यी दुईहात काफी छन् ।”

शब्दार्थ : नउवा – नाइ ।
सोनुपुर-९, बर्गदही, बाँके
अनुवादक : लेखक स्वयम्

मधुपर्क २०६८ कार्तिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *