Skip to content


टेलिफोनको एकोहोरो घन्टीले निन्द्रा खुल्यो । होटलको रिसेप्सनबाट उठ्ने संकेत दिइएको रहेछ । घडी हेरेँ, बिहानको साढे ६ बजिसकेको रहेछ । अघिल्लो दिनको लामो यात्राको थकाइले ओछ्यान छाड्नै मन लागेन । तर, साढे ७ बजे होटलबाट निस्किसक्नुपर्ने भएकाले विस्तारै उठेँ । पल्लो खाटमा दाजु प्रेम मल्ल मस्त निद्रामा हुनुहुन्थ्यो । उहाँको निन्द्रामोहलाई बुझेर उठाइहाल्न पनि मन लागेन । एकैछिन झ्यालमा बसेर टोलाइरहेँ ।
कम्पाला सहरको आकाश निकै खुलेको थियो । सहरमा मानिसहरूको चहलपहल बाक्लिँदै थियो । सहरको बीचबीचको हरयिाली र नीलो खुलेको आकाशले मनमा अप्रतीम शान्ति मिल्यो ।
आज युगान्डाको राजदरबार अर्थात् केसोबी टम्ब भ्रमण गर्ने कार्यक्रम थियो । गणतान्त्रिक मुलुकमा पनि राजा छन् भन्ने सुन्दा मलाई आश्चर्य लागिरहेको थियो । गणतन्त्रमा राजाको अस्तित्व कसरी सम्भव हुनसक्छ ? मेरो मनमा प्रश्नका चाकाचुली चलिरहेका थिए । मैले त गणतन्त्र र राजतन्त्र एकै ठाउँमा बस्नै सक्दैनन् भन्ने मात्र बुझेको छु । सायद, मेरो राजनीतिक चेतको कमी हुनसक्छ ।
प्रेम दाजु र म हतारहतार ‘ब्रेकफास्ट’ टिपेर काउन्टरतर्फ लाग्यौँ । गोम्बे हाम्रो स्वागतमा पर्खिरहेको थियो । गोम्बेसँग अभिवादन साटासाट भयो । वास्तवमा गोम्बे हाम्रो युगान्डा यात्राको अत्यन्त निकट सहयात्री भइसकेको थियो । युगान्डा बसाइभरि गोम्बे र उसको कारबिना हाम्रो एक पाइलो चलेन । कालो भए पनि कति रसिला र फरासिला मान्छे । रङले मान्छेको स्वभाव कहाँ अड्कल काट्न मिल्दो रहेछ र ! उसले युगान्डाका विषयमा यावत् जानकारी दियो, उसको अंग्रेजी राम्रो हुनुको फाइदा हामीले उठायौँ ।
ठीक ८ बजे हामी गोम्बेसँग हिँड्याँै केसोबी टम्बतर्फ । सहरमा गाडीको चाप बढिसकेको थियो । काठमाडौँभन्दा पनि अस्तव्यस्त रहेछ कम्पालाको ट्राफिक व्यवस्थापन । जो-जो जतातताबाट हिँडे पनि हुने । जसले जसरी कुदाए पनि हुने ।
“सरजी, केसोबी टम्ब त यहाँको पुरानो राजदरबार मात्र हो । राजा त नयाँ दरबारमा बस्छन् । सहरको अर्कोपिट्ट छ नयाँ दरबार ।” गोम्बेले गाडी चलाउँदै मुख खोल्यो ।
“गोम्बे तिम्रो देशमा त राष्ट्रपति र राजा दुवै रहेछन् । तिमीलाई को मनपर्छ ? राजा कि राष्ट्रपति ?” मैले पनि एउटा प्रश्न फ्याँके ऊतर्फ ।
ऊ मेरो प्रश्न सुनेर एकछिन अकमकियो । बोलूँ कि नबोलूँको भावमा विस्तारै बोल्यो, “सरजी, मलाई त राजा नै मनपर्छ, राष्ट्रपतिसँग त डर लाग्छ ।”
“राष्ट्रपति झन् तिमीहरूजस्तै जनताका छोरा हुन् नि, तिमी आफूहरूजस्तै जनताको प्रतिनिधिलाई भन्दा राजालाई बढी माया गर्ने ?” म उसको मनको कुरा बुझ्न चाहन्थेँ ।
“सरजी, हाम्रो देशका राजा अलि फरक छन् । यहाँ राजाले राजनीति गर्दैनन् । राजालाई राज्यको संविधानले एउटा सांस्कृतिक र धार्मिक नेताको हैसियतमा सम्मानजनक स्थान दिएको छ । राजाले कुनै पनि राजनीतिक टीकाटिप्पणी गर्दैनन् । राजा राजनीतिबाट भिन्न छन् । राजाबाट जनताको कुनै पनि अहित हुँदैन, त्यसैले यहाँका सबै जनता राजालाई अत्यन्त सम्मान गर्छन् ।” उसले फेरि राजाको समर्थनमा बोल्यो । मलाई उसको चेतनाको स्तर देखेर आश्चर्य लाग्यो ।
राजाले सन्तोषी भएर जनताको हितको मात्र कुरा गरििहँडे त जनताले कहाँ साथ छाड्दो रहेछ र ! यहाँ राज्य सञ्चालन गर्ने कुरामा कहीँकतै राजाको भूमिका रहेनछ । तर, गोम्बेले राष्ट्रपतिका बारेमा बोल्न त्यति रुचाएन । उसले सांकेतिक रूपले राष्ट्रपतिलाई मन नपराएको कुराचाहिँ प्रस्ट पार्यो ।
केसोबी टम्बको गेटमा गाडी रोकिएपछि उसको र मेरो संवादको सिलसिला टुट्यो ।
गाडीबाट ओर्लनासाथै म फेरि दोस्रोपटक आश्चर्यमा परेँ । मेरो मस्तिष्कमा राजदरबार भन्नासाथै हाम्रो नारायणहिटी, सिंहदरबार र कुनै मुगल सम्राटको भव्य महलको चित्र दौडिरहेको थियो । तर, एक्कासि मेरा आँखाअगाडि उभिएको घाँसे झुप्राहरूले मेरो कल्पना र अनुमान पूरै ध्वस्त भएको थियो ।
गेटमा एउटा सानो घाँसेछाप्रो थियो । मनभरि अनेकौँ जिज्ञासाहरू बग्रेल्ती दौडिरहेका थिए । आँखाहरू चारैतर्फ कुदिरहेका थिए । जिज्ञासु मन र अतृप्त आँखाहरू कुनै नयाँ आश्चर्य हेर्न आतुरिएको थियो ।
भित्र पसेपछि गेटकै बायाँपट्टि एउटा सानो कोठामा कार्यालय र अर्को कोठामा विभिन्न स्मारिकाहरू बिक्रीमा राखिएका थिए । प्रतिव्यक्ति १० हजार सिलिङ् तिरेर हामी भित्र पस्यौँ । एकैछिनमा एउटा कालो फूर्तिलो युवक आएर हामीलाई अभिवादन गर्यो र भित्र जान इसारा गर्यो । हामी उसको पछिपछि लाग्यौँ ।
भित्र दायाँबायाँ खुला ठाउँ रहेको गोलाकार कम्पाउन्डको छेउमा एउटा विशाल घाँसेछाप्रो आँखामा ठोक्कियो । छाप्रोको बनोट हेर्दा ठूलो छाते च्याउको झझल्को आउँथ्यो । गोलाकार छाप्रोको बीच भाग निकै अग्लो भए पनि छेउछेउ भुइँमा छुन खोजेको कुन्यूजस्तै थियो । प्रवेशद्वार कुनै गुफाको ठूलो प्वालजस्तो देखिन्थ्यो ।
केसोबी टम्ब संसारकै सबैभन्दा ठूलो हट (घाँसेछाप्रो) रहेछ । यो विश्वसम्पदा सूचीमा पनि रहेकाले युगान्डा सरकारले यसको ऐतिहासिकतालाई बचाएर राखेको रहेछ । आखिर कुनै पनि देशको सम्पत्ति भनेकै उसको संस्कृति र इतिहास त हो । मैले मनमनै त्यसका संरक्षकहरूलाई धन्यवाद दिएँ । हाम्रोमा जस्तो पुराना सबै कुराहरूलाई भत्काउने र बिगार्ने संस्कार रहेनछ उनीहरूमा । इतिहास नराम्रै भए पनि त्यो नराम्रोलाई नै जनताले हेर्न पाउनुपर्छ । नराम्रो इतिहास लुकाउँदैमा लुक्ने हो र ! त्यसो हुँदो हो त संसारका सबै तानाशाहहरूले आफूलाई बुद्धिजीवी, जनताको सेवक र उदार देखाउन कुन कसर बाँकी छोडेे होलान् र ? यदि त्यसरी नै पुजिने भए आज हिटलर किन पुजिएनन् ? मुसोलिनी किन पुजिएनन् ?
केसोबी टम्बअगाडिको आँगन दायाँबायाँ सानासाना गोलाकार हटहरू लहरै थिए । ती सबै हटहरू रानीहरूका लागि बस्न बनाइएका रहेछन् । एउटा गजबको समानता, हाम्रा राजा-महाराजाहरूलाई जस्तै यहाँ पनि धेरै रानीहरू राखेर आफ्नो राजसी ठाँटबाँटमा बस्ने परम्परा स्पष्ट देखिन्थ्यो ।
हटको गेटमा पुगेर गाइड बोल्यो, “यी खम्बा, दलिन, छाना सबैमा घाँसहरूको मात्र प्रयोग भएको छ । यहाँको विशेषता भनेकै यही हो ।” हामीले ध्यान दिएर अवलोकन गर्‍यौँ । मूलद्वारमा बाबियोको डोरीको लट्ठाजस्तो ठूलाठूला खाना र त्यसरी नै बाटेर छानो बनाइएको थियो । ढोकाबाट भित्र छिर्नासाथै अगाडि राजाहरूको फोटो र राजाहरूले प्रयोग गर्ने हतियारहरू प्रदर्शनमा राखिएका थिए । बायाँतर्फको कुनामा राजाको मनपर्ने जनावर चितुवाको निर्जीव शरीर थियो, जो सजीवजस्तै लाग्थ्यो । राजाले प्रयोग गर्ने कुर्सी-टेबलहरू सबै जस्ताको त्यस्तै राखिएका थिए ।
हटको भित्रपट्ट िएउटा छुट्टै कोठा रहेछ, जहाँ राजा आफ्नी रानीसँग बस्ने गर्दा रहेछन् । सन् १८८२ मा बनेको यो दरबार तत्कालीन समयका लागि अत्यन्त विशाल र अनौठो लाग्दो थियो । गाइडले हरेक कुराहरू बताइरहँदा म भने एउटै कुरामा ध्यान दिइरहेको थिएँ, राजाहरूको सोखिन चरत्रि, विलासी जीवन र भोगवादी स्वभाव । यसलाई आजकल सायद सामन्त चरत्रि भनिन्छ ।
मुटेसा प्रथमका ८४ वटा पत्नी र १ सय २६ जना छोराछोरी रहेछन् । हरेक दिन चारवटा रानीहरूसँग उनी रात बिताउँदा रहेछन् । यिनी जति विलासी भए पनि हाम्रा जुद्धशमशेरका अगाडि भने फिक्का नै थिए । सन् १८८४ मा डेनियल मुवाङ राजा हुँदा उनीसँग ४३ रानी र ७८ छोराछोरी रहेछन् । सन् १८९९ मा राजा भएका डेभिड च्वासँग ३६ वटी रानी ३६ वटै सन्तान रहेछन् ।
समयको गतिसँगै भएको चेतनाको विकासले विस्तारै राजाहरूको मानसिकतामा पनि परविर्तन भएको उदाहरण सन् १९४२ मा राजा भएका मुटेसा द्वितीयका दुईवटी मात्र पत्नी र २४ वटा सन्तान भएको तथ्यलाई लिन सकिन्छ । त्यहाँ अझै पनि धेरै पत्नीहरू राख्ने प्रचलन रहेछ । सायद यो कुसंस्कारबाट युगान्डा छिट्टै मुक्त नहोला ।
युगान्डामा धेरै राज्यहरू र राजाहरू छन् । क्षेत्रगत र जातिगत रूपमा रहेका राजाहरूलाई उनीहरूको जातीय क्षेत्रका लागि राजकीय सम्मान र भत्ताहरू संविधानमा नै व्यवस्था गरएिको छ । ती सबै राज्यहरूमध्ये इतिहासमा राष्ट्रिय राजनीतिको नेतृत्व गरेको र शिक्षित व्यक्तिहरूको बसोबास रहेको कम्पाला सहर अर्थात् राजधानीचाहिँ बुगान्डा अधिराज्यमा परेकाले यहाँको राजाको महत्त्व र स्थान अन्य राजाहरूको तुलनामा विशिष्ट छ । बुगान्डा अधिराज्यको आफ्नै संसद् र मन्त्रीहरू पनि रहेछन् । हरेक वर्ष राज्यका लागि बजेट पनि पारति हुँदोरहेछ तर उनीहरूको क्षेत्र भनेको गैरराजनीतिक अर्थात् सामाजिक र सांस्कृतिक क्षेत्र मात्र रहेछ ।
अठारौँ शताब्दीमा सक्रिय राजतन्त्र रहेको युगान्डा कैयौँ वर्ष ब्रिटिस साम्राज्यको अधीनस्थ रह्यो । ब्रिटिस साम्राज्यको पतनसँगै राजाहरूको राजनीतिक महत्त्वाकांक्षा र विलासिताका कारण यिनीहरू निर्वासित हुन पुगे ।
गणतन्त्र आएपछि मुलुक राम्रोसँग हिँड्न नसकेकाले गणतन्त्रको नाम दिए पनि सधैँभरि सैनिकले नै शासन गरिरहेको छ युगान्डामा । विगत दुई दशकदेखि एकछत्र शासन गररिहेका वर्तमान राष्ट्रपति जनरल मुसेवेनीले नै बेलायतमा निर्वासित वर्तमान राजा रोनाड मुटेवीलाई राजकीय सम्मानका साथ स्वदेश फिर्ता ल्याएका रहेछन् ।
राष्ट्रको सम्पूर्ण शक्ति प्रशासन, सेना र प्रहरी सबै आफ्नो नियन्त्रणमा रहँदारहँदै पनि आखिर राष्ट्रपतिले राजालाई किन फर्काए ? मेरो मस्तिष्कमा शंकाको सानो टुसो पलायो । मैले गाइडलाई सोधेँ । ऊ केहीबेर अकमकायो । सायद गोम्बेलाई जस्तै उसलाई पनि राष्ट्रपति मन नपर्ने छनक मैले पहिल्यै पाइसकेको थिएँ ।
“राष्ट्रपति चतुर तानाशाह छन् । उनी राजालाई जनताबाट सम्मान दिलाएर ती राजाहरूमार्फत जनता भुलाउन खप्पिस छन्,” गाइडले राजनीतिक तर्क गरे ।
गाइडको कुराले म युगान्डाको राजनीतिप्रति छ्याँगिँदै थिएँ । यद्यपि, मेरो भ्रमण विशुद्ध पर्यटकीय उद्देश्यले प्रेरित थियो । तैपनि, एउटा सचेत मानवको हिसाबले मेरा लागि यो नितान्त नौलो राजनीतिक समीकरणको ज्ञान प्राप्ति थियो ।
बाटोभरि नाचिरह्यो, युगान्डाको राष्ट्रपति र राजाको अमूर्त छायाँ मस्तिष्कमा । शक्तिविहीन राजाप्रति जनताको कत्रो श्रद्धा र सम्मान । राजनीतिदेखि बिलकुलै अलग रहेर सनातन संस्कृति, सबै धर्म र परम्पराको जगेर्ना गर्न सांस्कृतिक नेतृत्व लिएका राजा कति सन्तुष्ट ।
सम्पूर्ण राजनीतिक शक्ति, सेना र प्रहरी हातमा भएका राष्ट्रपतिप्रति जनतामा डर र त्रास मात्र । शक्तिशाली भए पनि राष्ट्रपतिले जनताका मनबाट सम्मान पाउन नसकेको यथार्थ । तानाशाह भए पनि शासन गर्ने राष्ट्रपतिको कस्तो चातुर्यता ।
राजा सन्तोषी हुनु, सदाचारी हुनु, राष्ट्रका लागि वरदान नै रहेछ । राजालाई राजनीतिप्रतिको मोह होइन, राष्ट्र र जनताप्रतिको मोहले नै सम्मानित बनाउँदो रहेछ भन्ने ध्रुवसत्य रहेछ ।
अफसोच, संसारका सबै राजाहरूले जनताप्रतिको कर्तव्य बुझे कहिल्यै जनताबाट तिरस्कृत हुनुपर्ने दिन आउँदैन थियो होला । तानाशाही शासन चलाउँदा लखेटिएका राजा सत्ताको लालसा त्याग्दा हरेक जनताको मनमा पूज्य भएका रहेछन् । तर, तानाशाही राजा लखेटे पनि दादा इदी अमिन र मुसेवेनीजस्ता गणतान्त्रिक र सैनिक तानाशाहरूले जनतामा आतंक फैलाइ नै रहेका छन् युगान्डाको धर्तीमा । सायद, यी तानाशाहहरूलाई लखेट्न शताब्दीयौँ कुर्नुपर्नेछ युगान्डियनहरूले ।
प्राकृतिक रूपले वरदान पाएको युगान्डाले असल शासन र विकासका लागि पनि वरदान पाए कस्तो हुँदो हो ! युगान्डाकै बारेमा सोच्दासोच्दै होटल आइपुगिसकिएछ ।
“ओ कविज्यू झर्ने होइन ?” प्रेम दाइको भनाइले म झसंग भएँ । हतारँिदै गाडीबाट ओर्लिएर गोम्बेलाई भोलि भेट्ने वाचा गर्दै होटलको सिँढी उक्लन थालेँ । प्रेम दाजु मलाई हेर्दै मुसुमुसु हाँस्दै हुनुहुन्थ्यो ।

नेपाल साप्ताहिक ३४६

Leave a Reply

Your email address will not be published. Required fields are marked *