आकाशको पल्लोछेउ हेर्दै, उनी बोल्थिन्,
हेर त ! फेरि जलेछ आकाश
फूलका वयहरूबाट तपतप झरेका
शीतहरू हत्केलाभरि राखेर
राती जलेको आकाशमा
एकाबिहानै मैले तिमीलाई देखेँ ।
आकाशले प्रत्येक रात पोख्ने पानीसँगै
तिमी झर्छौ जस्तो लाग्छ
र त देखिन्छ शीत फूलमा
प्रत्येक रात जल्दा आकाश
तिम्रा आँखाजस्तै टल्किने तारा
अग्लो पर्वतमालामाथि जून
अनि, जूनमाथि तिम्रा हात
छङछङ बजिरहेका हातका चुराहरू
सबै-सबैले जीवनका गीत गाइरहेजस्तो ।
झ्याउँकीरीको झर्कोलाग्दो एकनासे आवाज
ढोकाअगाडि ठडिएको सुरलिो सालको रूख
तिम्रो बिरानोपन
लस्करै कालो पहाड
बाक्लिएको रात
अनि, गाढा तिम्रो सम्झना ।
तलको कोदोबारीमा छुटेको
तिम्रो सपना
ती रत्तिा खेतका गराहरू
ती रत्तिा बाटाहरू
जम्मै-जम्मैमा तिमी पोखिएकी छौ
र त तिम्रा अनिदा सपनाहरू
तिम्रा सम्झनाका घारीहरू
हिँडिनसक्नु अग्ला पर्वतमाथि-माथिबाट
शीतका थोपा बनेर टप्किन्छन् ।
तिमी नहुँदाको त्यो तलको बिरानो देउराली
देउरालीले सँगालेको तिम्रो नियास्रो
देउरालीमा बगेको बतासको गाढा रंग
बाँसझ्याङबाट बर्सिने पानीका थोपाहरू
नीलकमलजस्ता पूर्ण चन्द्रमाहरू
तिम्रा आँखाजस्तै टल्किने ताराहरू
कहाँ होला तिम्रो मसिनो आवाज ?
अग्ला कला पर्वतहरूबीच
कहाँ छोपियो होला हँ ! तिम्रो अनुहार ?
नेपाल साप्ताहिक ३४५