Skip to content


राजा महेन्द्रले २०१७ सालको ‘कू’ त्यत्तिकै गरेका होइनन् । घटनाक्रम हेर्दा उनले सुरुदेखि नै प्रशस्त मात्रामा आफ्ना नजिकका मानिसहरूको राय-सल्लाह लिएको देखिन्छ । राजनीतिक शक्तिहरूलाई छामीछामी उनले त्यो कदम उठाएका थिए । दलहरूलाई कमजोर बनाउने दाउ त उनको सुरुदेखिकै थियो ।
महेन्द्र त राजा नहुँदैदेखि सत्ताकब्जाको रणनीतिमा लागेको देखिन्छन् । राजा त्रिभुवन बिरामी भएर स्वीट्जरल्यान्ड जाँदा महेन्द्रले राजनीतिक कार्यकर्ताहरूको नाम-लिस्ट त्यत्तिकै मागेका होइनन् । चाहे त्यो ०११ सालको सक्रिय राजनीतिक कार्यकर्ताको लिस्ट मागेको प्रसंग होस्, चाहे मन्त्रीपरिषद् गठनमा गरेको आनाकानी, यी घटनाले महेन्द्र पहिलेदेखि नै शासनसत्ता आफ्नो हात पार्न चाहन्थे भन्ने बुझ्न कठिनाइ पर्दैन ।
त्यति मात्र होइन, नेपालगन्ज र काठमाडौँको टुँडिखेलमा दिएको चेतावनी, नागार्जुन दरबारमा दिइएको रमाइलो भोज र ०१७ पुस १ गते बिहान प्रधानसेनापति नीरशमशेर राणाले तारणीप्रसाद कोइरालालाई फोन गरी प्रधानमन्त्री बीपीलाई आफू बिरामी परेकाले काठमाडौँ छोड्न नसक्ने जानकारी दिएको प्रसंग आदिले महेन्द्र सबै काम योजनाबद्ध ढंगले गर्थे भन्ने बुझिन्छ ।
०१५ सालको चुनावअघि पनि महेन्द्रले देश दौडाहा नगरेका होइनन् । नेपाली कांग्रेसले दुईतिहाइ बहुमत हासिल गरेपछि महेन्द्रको त्यो अभियान अझ तीव्र बन्यो । जनताको चाहना र इच्छा मात्र होइन, आफ्ना कुरा राख्ने उनको भित्री अभीष्ट पनि त्यसमा अन्तरनिहित थियो । त्यसैले उनी देश दौडाहामा गइरहन्थे । नेपाली कांग्रेसका जिल्लास्तरका हामीजस्ता कार्यकर्ताका बीचमा यसबारे बरोबर चर्चा-परचिर्चा हुन्थ्यो । हामी यसै प्रसंगलाई लिएर धेरैपटक बीपी कोइराला र गणेशमान सिंहलाई भेट्न पनि गयौँ । बीपी सधैँ भन्नुहुन्थ्यो, “विकल्प नहुञ्जेलसम्म हामी केही गर्न सक्दैनौँ । जनताको बीचमा रहेको राजाको पकडलाई कमजोर बनाउन प्रजातन्त्रका पक्षमा लबिङ् गर्नुसिवाय हामीसँग अर्को विकल्प पनि त छैन ।”
बीपी कोइरालाको नेतृत्वमा सरकार बनेको छ महिना मात्र के बितेको थियो, ०१६ मंसिर २६ गतेदेखि राजाले पश्चिम नेपालका विभिन्न जिल्लाको भ्रमण गर्ने तय भयो । त्यस क्रममा राजनीतिक पार्टीहरूले पनि आफ्नो वर्चस्व देखाउन अनेक प्रयास गरे । भ्रमणस्थलहरूमा आफ्नो पहिचान खुल्ने झन्डा र ब्यानरका साथ कोभन्दा को कमको शैलीमा प्रजापरिषददेखि नेपाली कांग्रेसका कार्यकर्तासम्मको तँछाडमछाड नै चल्यो ।
भ्रमणकै सिलसिलामा राजा महेन्द्रले बाँके-बर्दियाका जनताद्वारा नेपालगन्जमा आयोजित स्वागत समारोहमा दिएको भाषणलाई लिएर नेपाली कांग्रेसले आपत्ति नै जनायो । महेन्द्रले त्यहाँ धम्की दिएका थिए, “मैले आफ्नो कर्तव्य पालनाका लागि अरू कुनै कदम चाल्नु नपरोस् । म यो पनि भन्न चाहन्छु कि मेरा पनि केही कर्तव्यहरू छन् । देशको सार्वभौमसत्ता, राष्ट्रियता र अन्य देश तथा जनहित कार्यहरूको संरक्षण गर्नु मेरो कर्तव्य हो । यदि यसमा कुनै किसिमको बाधा आइपर्छ भने त्यसबेला जेसुकै गर्न परे पनि म कदापि पछि हट्ने छैन ।”
राजा महेन्द्र पश्चिमाञ्चल क्षेत्रका विभिन्न जिल्लाको भ्रमण गरी ०१६ माघ १७ गते बेलुकी राजधानी फर्किए । त्यसपछि काठमाडौँ नगरपालिकाको मेयरका नाताले मैले नागरिक अभिनन्दन गर्नुपर्ने थियो । त्यसै क्रममा नगरपालिकाद्वारा टुँडिखेलको खरिबोटमा निर्मित मञ्चमा भव्य कार्यक्रमको आयोजना गरियो । त्यसक्रममा बोल्ने वक्ताहरू पहिले नै तय गरिएको थियो । त्यस समारोहमा सभापतिका नाताले दिइने नागरकि अभिनन्दन पत्र पढेर हस्तान्तरण गरेपछि धन्यवादका दुई शब्द मैले बोल्न के थालेको थिएँ, महेन्द्रले बीपीसँग खुसुक्क ‘मैले पनि बोल्नुपर्छ होइन र !’ भनेको सुनेँ । त्यसपछि म बडो द्विविधामा परेँ । त्यहाँ राजाले बोल्ने भनेर पूर्वनिर्धारित कार्यक्रम थिएन । त्यसपछि मैले नै ‘राजालाई दुई-चार शब्द बोल्न अनुरोध गर्दछु’ भन्दै कार्यक्रमलाई नयाँ मोड दिएँ ।
राजाले त त्यहाँ कांग्रेस सरकारको आलोचनामै आफ्नो समय सिध्याए । बीपी सँगसँगै मञ्चमा हुनुहुन्थ्यो भने कांग्रेस नेता-कार्यकर्ताको ठूलो पंक्ति त्यस कार्यक्रममा उपस्थित थियो । उनले नेपालगन्जको शैलीमै यहाँ पनि भाषण गरे । हामी सबै मुखामुख गर्यौँ । ‘अब के हुन्छ ?’ सबैको मुखबाट यही वाक्य निस्कियो ।
तर, बीपी र गणेशमान-जस्तो दूरदर्शी र परपिक्व नेता पाएको कांग्रेसले राजासँगको सम्बन्धलाई सुमधुर बनायो । केही समय कांग्रेसको सत्ता टिक्यो पनि । तर, महेन्द्रमा पलाएको शासनसत्ता हत्याउने भोक कहाँ मेटिएको थियो र ? उनी उपयुक्त अवसरको खोजीमा थिए । त्यही क्रममा नेपाली कांग्रेसका तर्फबाट ग्राम विकासमन्त्री बनेका तुलसी गिरीको अचानक राजीनामा आयो । ०१७ भदौ ३० गते उनले सरकारको आलोचना गर्दै ‘अहिले पनि एउटा दरखास्तको निकासा लिन जनताले छ महिनासम्म रल्लिनुपर्छ’ भनेका थिए । नेपाली कांग्रेसको सरकार बनेपछि जे कुरा पाउने जनताले आशा गरेका थिए, त्यो पाएका छैनन् र जनताको विश्वास कम हुँदै गएको आरोप पनि उनले लगाएका थिए । उनले सरकारले जति गर्न सक्थ्यो, त्यति गर्नलाई यन्त्र ठीक पार्नेबारे मतभेद भएको पनि उल्लेख गरे ।
यसरी नेपाली कांग्रेसको सरकारभित्रै मतभेदको सुरुवात गराउन राजा महेन्द्र सफल भए । त्यसपछि उनकै उक्साहटमा मन्त्रिमण्डलका अन्य सदस्यहरू पनि सरकारको आलोचना गर्न लागे । त्यसैबीच, सुदूरपूर्वका साथै सुदूरपश्चिमका केही ठाउँमा कांग्रेसलाई बदनाम तुल्याउने घटना भए । त्यही मौका छोपेर राजा महेन्द्र ०१७ पुस १ गतेको ‘कू’ गर्न सफल भए ।

नेपाल साप्ताहिक ३४७

Leave a Reply

Your email address will not be published. Required fields are marked *