Skip to content


निःशब्द अन्धकार मध्यरातबीचमा
मसानघाटमा ताण्डव गर्दै पाउँछु
आफैँ विस्मित छु म
म आफैँ हुँ वा भूत वा अतृप्त आत्मा !

होश होस् वा विक्षिप्तता
सत्य होस् वा भ्रान्ति
मानसिक असन्तुलनको अवस्था वा दिग्भ्रम
जेसुकै होस् आफैँ विचलित छु म
म आफैँ हुँ वा भड्किएको आत्मा !

कोही भन्छन् दिमाग खुस्किएको मान्छे
कोही भन्छन् नकच्चरो, लबस्तरो
अझ कोही थप्छन् ऋण तिर्नका पीरले नाटक गर्ने मान्छे
कसैका लागि अति पीडित सबैतिरबाट, तिरस्कृत, अपहेलित
महत्त्वाकांक्षी, दुस्साहसी कसैका निम्ति
र असफल पौरुषविहीन थपका लागि ।

क्या मज्जा छ स्वार्थ र सुविधा अनुकूलको व्याख्या
कसैका बारेमा आफू अनुकूल टिप्पणी
रमाइलो लाग्छ जब आफैँले सुनेको र यथार्थबीचमा
आफैँ मूल्यांकन गर्न पाउँदा आफैंलाई
सशंकित छु के म साँच्चै मान्छे नै हुँ ?
वा भनौँ मान्छे नै रहिरहेको छु ?

नेपाल साप्ताहिक ३४९

Leave a Reply

Your email address will not be published. Required fields are marked *