Skip to content


हजारौं योनिमा विचरण गरेपछि एकपटक मात्र मानवयोनि प्राप्त हुन्छ । यस्तो दुर्लभ मानव योनिलाई सफल र साकार पार्न पुर्खाहरूले आचार, व्यवहार र अनुशासनका जटिल व्यवस्था गरेको पाइन्छ । आचार र व्यवहारका कुराहरूको प्रसङ्ग कोट्याउनुपर्दा बाहृय शुद्धि र आन्तरिक शुद्धिसमेत आवश्यक हुन्छ । मानसिक शुद्धि तपः ध्यान, जप, पाठ आदि आन्तरिक शौचका लक्षण हुन् भने बाहृय मुहूर्तमा उठ्नु, शुद्ध तथा तीर्थ, नदीको जलले स्नान गर्नु, आचमन गर्नु, प्राणायाम गर्नुलाई बाहृयशौच भनिन्छ । पूर्वकालमा आहारशुद्धिमा समेत बढी जोड दिइन्थ्यो । धेरै पिरो, नुनिलो, अमिलो सेवन गर्नाले विकृति उत्पन्न हुने हुनाले मिठो बास्ना आउने, कीरा तथा रौं नपरेको सुगन्धित भोजन पूर्वतिर मुख गरेर सेवन गर्न भनिएको छ । भोजनका रूपमा स्वीकारेको अन्नलाई स्वाद लिएर खानुपर्छ, दोष दिनुहुँदैन । भोजनपश्चात् हातमुख धोएर अग्निको स्पर्श गर्नुपर्छ । अखाद्य तथा अपेय वस्तुको आहार निषेध गरिएको छ । मानिस मांसाहारी प्राणी होइन, अतः उसले मांसादि आमीश भोजन गर्नुहुँदैन । मानिसका लागि शाकाहारी भोजन निश्चित गरिएको छ । यसरी उपरोक्त आचारविचार, आहारसम्बन्धी नियम पालन गर्नाले मानिसमा सद्विचारको उत्पत्ति हुन्छ । शुद्ध आहार सात्विक गुणको प्रतीक हो भने मांसाहार, मदाहार रजोगुणको प्रतीक हो । सत्वगुण प्रकाश हो । यसरी ब्रहृमचर्य धर्मको पालन तपस्या, क्षमा, स्त्रीसँगको संसर्ग परित्याग, धर्म र मर्यादाभित्र रहेर मनलाई वशमा राख्नु यी सबै कुरा शौच र पवित्रताभित्र पर्ने विषय हुन् । शिष्यहरूले उपरोक्त विषयहरूको परिपालना गर्नुपर्छ ।

आमाबाबुको संयोगबाट उत्पत्ति भएको शिशुको भौतिक शरीरमा ज्ञानको बीजारोपणपश्चात् उसको ज्ञानमय शरीरको पुनर्जन्म हुन्छ । ज्ञान बिनाको भौतिक शरीर काठ अथवा माटोको डल्लोजस्तै हुन्छ । भौतिक शरीरको उत्पत्ति आमाबाबुको संयोगबाट सम्भव भए पनि ज्ञानमय शरीरको पुनर्जन्म गुरुको शिक्षापश्चात् भएको मानिन्छ । आमाबाबुबाट प्राप्त भौतिक शरीर नश्वर हुन्छ तर ज्ञानमय शरीर अमर हुन्छ । ज्ञानमय शरीरको उत्पत्ति आचार्यहरूबाटै सम्भव हुन्छ । बालक जन्मदा पशुजस्तै हुन्छ । गुरुले नै उसलाई पुनर्जन्म दिन्छन्, मानव बनाउँछन् । आचार्यले नै बालकको कायाकल्प गराएर ज्ञानमय शरीरमा प्रवेश गराउँछन् । यसरी गुरु र शिष्यको बीचमा अटुट सम्बन्धको विकास हुन्छ ।

प्राचीन परम्परामा गुरु, आचार्य, उपाध्याय र ऋत्विक् यी चारै शब्दको अलग अलग व्याख्या गरिएको छ । गर्भाधान आदि षोडश संस्कार विधिपूर्वक सम्पादन गराउनेलाई ‘गुरु’ भनिन्छ । वेद, वेदाङ्ग व्याकरण अध्यापन गराएर जीविका चलाउनेलाई ‘उपाध्याय’, यजमानहरूबाट वरण ग्रहण गरेर अग्निहोत्रादि कर्म सम्पादन गराउनेलाई ‘ऋत्विक्’ र शिष्यलाई उपवीत कर्म गराई कल्प र रहस्यसहित वेदाध्ययन गराउनेलाई ‘आचार्य’ उपाधि प्रदान गरिएको पाइन्छ । महाभारतमा कौरव र पाण्डवका गुरु द्रोणाचार्य यसै श्रेणीमा पर्छन् ।

उपर्युक्त परिभाषाका अतिरिक्त महाभारतमा ‘गुरुजन’ भनेर व्यापक अर्थ गरिएको छ । ‘गुरुजन’ भन्नाले अध्यापन गराउने अध्यापकका अतिरिक्त माता, पिता, जेठाबाबु, कान्छाबाबु, पितामह, पितामही, प्रपितामही, दाजु, मामा, माइजु, दिदी, भाउजू, ठूलीआमा, सानीआमा, गुरुपत्नी तथा गुरुपुत्रसमेतलाई जनाउँछ । बालक अथवा शिशुले उपर्युक्त सबै अभिभावकबाट उचित अनुचित ज्ञान, अर्ती, विद्या प्राप्त गर्छ । शिशुले जीवनमार्गमा अग्रसर हुने सिलसिलामा जे जस्तो मानिस वा अभिभावकबाट ज्ञान प्राप्त गर्छ, ती सबै ‘गुरुजन’ हुन् भन्नु अत्युक्ति हुँदैन । अतः गुरुजनमा समाविष्ट महानुभाव तथा अग्रजहरू सबै श्रद्धेय, आदरणीय छन् । एक अक्षर पढाउनेलाई पनि गुरु मानेर अभिवादन गर्नुपर्छ । गुरुजनबाटै शिष्यले जीवनमार्गको प्रथम सोपान आरोहण गर्न सिक्छ । शिष्य अथवा विद्यार्थीले गुरुद्वारा निर्देशित आचार तथा अनुशासनको पालना गर्नुपर्छ । गुरुबाट जीवनोपयोगी शिक्षादीक्षा प्राप्त गर्नुपर्छ । ‘गुरु’ लाई ब्रहृमा, विष्णु र महेश्वर तथा परब्रहृम परमात्माको स्वरूप मानिन्छ । सृष्टि, पालन तथा संहार त्रिदेव ब्रहृमा, विष्णु र महादेवबाट भएजस्तै बालकको ज्ञानमय शरीरको सिर्जना, जीवन निर्वाह जस्ता कर्म गुरुबाट सम्पन्न हुन्छन् । अतः गुरुलाई ब्रहृमा, विष्णु र महेश्वर भनिएको हो । ज्ञानको सृष्टि गुरुबाट सम्पन्न हुन्छ र यस्ता त्रिदेवस्वरूप गुरुलाई सबैले सम्मान सत्कार, पूजा, अर्चना गर्नुपर्दछ । गुरुको हास, परिहास, निन्दा आदि गर्नुहुँदैन । गुरुको निन्दा गर्ने, गुरुलाई अपमान तथा तिरस्कार गर्ने मानिसको कदापि कल्याण हुँदैन । गुरुको स्थान जन्म दिने आमाबाबुको भन्दा उच्च रहिआएको छ । गुरुसँग अनावश्यक वादविवाद गर्न निषेध गरिएको छ ।

त्रिलोकमध्ये गुरु स्वर्गलोक हो । अग्नित्रयमध्ये गुरु आहवनीय अग्नि हुन् । गुरुले नै शिष्यहरूलाई अज्ञानरूपी अन्धकारबाट ज्ञानरूपी ‘प्रकाश’ तर्फ ल्याउँछन् । हाम्रो समाज मातृदेवो भव, पितृदेवो, भव, गुरुदेवो भव, अतिथिदेवो भव, आचार्यदेवो भव जस्ता वैदिक वाणीबाट अनुप्राणित छ । पाश्चात्य परम्परामा नपाइने अद्वितीय परम्परा हाम्रो समाजमा विद्यमान छ । यो पूर्वीय संस्कृतिको मूल विशेषता हो । उक्त वैदिक वाणी अनुसार आमा, बाबु, अतिथि, गुरु आचार्यहरूलाई भगवान् सम्झेर पूजा अर्चना गर्ने प्रचलन छ ।

प्राचीनकालमा यज्ञोपवीत कर्मपश्चात् बटुकहरू आफ्ना पारिवारिक गुरुकुलमा प्रवेश गर्दथे । गुरुकुलमा मानवजीवन निर्वाह गर्न उदात्त आचार, विचार, सदाचारसम्बन्धी शिक्षा प्रदान गरिन्थ्यो । यसका अतिरिक्त विशेषतः क्षेत्रीय जातिका बटुकले आफ्ना कुलगुरुबाट धनुर्विद्यासमेत आर्जन गर्दथे । शिष्यहरूले मात्र होइन, समस्त मानव समुदाय ब्राहृम मुहूर्तमा बिछ्यौनाबाट उठेर शुचि, नीची कार्यसम्पादन सन्ध्यावन्दन, ध्यान, तर्पण, योगासन, तपस्यामा संलग्न हुन्थे । निमित्त नैमित्तिक कार्य सम्पन्न गरेर साष्टाङ्ग गुरुचरणमा अभिवादन गरी गुरुको आज्ञा अनुसार भिक्षाटन गर्नु, गुरुलाई अग्निहोत्रादि कर्म सम्पादन गर्न समिधा, फलफूल, कन्दमूलको व्यवस्था शिष्यहरूले गर्दथे । एक प्रहर हविष्यान्न भोजन गर्नु, निश्चित समयमा भ्रमणमा निस्कनु, गुरु आश्रमको संरक्षण गर्नु, शिष्यका लागि अनिवार्य थियो । गुरु आज्ञा पालन गर्ने सिलसिलामा शिष्यहरूले आफ्नो प्रणोत्सर्ग गर्दथे ।

शास्त्रहरूमा वणिर्त सबै कर्म, सबै वर्णाश्रम व्यवस्थामा प्रचलित थिए । “सादा जीवन उच्च विचार” भन्ने आदर्श वाक्यका प्रणेता ऋषिमुनिहरू नै थिए । ५ देखि २५ वर्षको उमेर ब्रहृमचर्याश्रम हो । यसै उमेरमा विद्यार्थीले वेद, वेदाङ्ग, व्याकरण, ज्योतिष दर्शन, धनुर्विद्यासम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्राप्त गर्दथे । शिक्षा प्राप्तपश्चात् दीक्षान्त सम्पन्न हुन्थ्यो । अन्तमा गुरुवर्गले छात्रहरूलाई जीवनमार्गमा विचरण गर्दा के गर्न हुन्छ, के गर्नहुँदैन यसबारे दीक्षा प्रदान गर्दथे । जस्तै सत्यं वद, धर्मं चर, स्वाध्यायान्मा प्रमद आदि वाक्यहरू तत्कालीन दीक्षान्तका दृष्टान्त हुन् । यसरी विद्यार्थी जीवनको एउटा चक्र पूरा हुन्थ्यो । आज विभिन्न विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर उपाधि प्रदान गर्ने समारोहलाई दीक्षान्त समारोह भन्ने गरिन्छ । यो दीक्षान्त शब्द प्राचीन गुरुकुल शिक्षाप्रणालीबाटै अनुकरण गरिएको हो ।

प्राचीन वर्ण तथा आश्रम व्यवस्था, मानव जीवनलाई चार खण्डमा विभाजित पाइन्छ । सय वर्ष सरदर आयु मानेर मानव जीवनको २५ वर्षलाई प्रथम आश्रम ब्रहृमचर्याश्रम मानिन्छ । तत्पश्चात् क्रमशः गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्यासाश्रम मानिएको छ । ब्रहृमचर्याश्रम भन्नु र विद्यार्थी जीवन भन्नु एउटै हो । कठोर अनुशासनमा आबद्ध भएर गुरुकुलमा बास गरी शिक्षा, दीक्षा प्राप्त गर्नु तत्कालीन परम्पराको विशेषता थियो ।

गुरुवर्गले नै ज्ञानमार्गमा अग्रसर गराउँछन् । शरीर, वाणी, मन, इन्द्रिय तथा बुद्धिलाई नियन्त्रण गरेर शिष्यले गुरुबाट शिक्षा हासिल गर्नुपर्छ । गुरुसेवाबाट विमुख हुनुहुँदैन । अहंकार, अभिमान त्याग गरी गुरु सुश्रूषा गर्नु छात्रहरूको परम कर्तव्य हो । गुरुले आफ्ना शिष्यलाई पुत्रवत् माया गर्छन् ।

एकलव्य निषाद राजकुमार थिए । उनको द्रोणाचार्य गुरुमा असीम आस्था-श्रद्धा रहेको थियो । द्रोणाचार्यको गुरुमूर्ति स्थापना गरेर निर्जन जङ्गलमा एकलव्यले धनुर्विद्याको अभ्यास गरे । उनी अद्वितीय धनुर्धारी थिए । गुरु द्रोणाचार्यको आज्ञा अनुसार आफ्नो दाहिने अङ्गुठा काटेर गुरु दक्षिणास्वरूप द्रोणाचार्यलाई अर्पण गरे । गुरु दक्षिणाको अद्वितीय दृष्टान्त हो यो । अन्य प्रसङ्गमा गुरुहरूले स्वयं शिष्यबाट गुरुदक्षिणा माग गरेको पाइँदैन । शिष्यहरूको कर, बल, आग्रह टार्न नसकेर मात्र गुरुदक्षिणास्वरूप विभिन्न वस्तु गुरुले उपहार लिन्थे । गुरुले आफैं दक्षिणा माग गर्दैनथे ।

आषाढ पूणिर्माको शुभ पर्व समस्त गुरुजन तथा विद्यार्थीका लागि खुशीको दिन हो । यसै शुभ दिनमा पराशरका पुत्र कृष्ण द्वैपायन “व्यास” ऋषिको जन्म भएको हो । व्यास एउटा संस्था हो गुरुजनका प्रतीक व्यास ऋषि हुन् । भारतका कतिपय शिक्षण संस्थानहरूमा व्यासपूणिर्माका दिन गुरुहरूको पूजा अर्चना गरी नयाँ शैक्षिक सत्रको शुभारम्भ गरिन्छ ।

हाम्रो वर्तमान शिक्षा प्रणालीले उच्च चरित्र भएका जनशक्तिको उत्पादन भएको छ छैन, उपाधि प्राप्त विद्यार्थीको बौद्धिक उत्थान भएको छ छैन, विद्यार्थीहरूले स्वावलम्बनको शिक्षा के कति मात्रामा प्राप्त गरेका छन् तथा सबैभन्दा ठूलो कुरा मानवताको शिक्षा उनीहरूले पाए नपाएको के छ ? फर्केर हेर्ने समय भएन र ? गुरुहरूप्रति विद्यार्थीहरूको कस्तो धारणा रहेको छ ?

विद्यार्थीवर्ग उच्छृङ्खलतातर्फ उन्मुख हुनाले शिक्षा प्रणालीमा त्रुटि रहेको सङ्केत गर्दछ । अभिभावकले पनि मनन गरौं । मनसा, वाचा, कर्मणा गुरुसेवामा समर्पित हुने सत्प्रेरणा प्राप्त गरौं, गुरुहरूप्रति श्रद्धापुष्प अर्पण गरौं । छात्रहरू हो ! उच्छृङ्खल होइन, अनुशासित बनौं !

Leave a Reply

Your email address will not be published. Required fields are marked *