Skip to content


खासमा बीपी कोइरालाप्रति यज्ञबहादुर थापाको ठूलो विश्वास थियो । २०२७ सालमा भारत पुग्नुभएका यज्ञबहादुर उहाँकै प्रेरणा र गिरजिाप्रसाद कोइरालाको निर्देशनमा नेपाल फर्किनुभएको थियो । ०३१ सालमा नेपाली कांग्रेसले पञ्चायतविरुद्ध हतियार उठाउने निर्णय गरेलगत्तै उहाँ पूर्वी क्षेत्रको सैनिक कमान्डरका रूपमा बनारसबाट मधुवनी हुँदै कमला नदीको बाटो नेपाल भित्रिनुभयो । उहाँहरूको टोलीले कमला नदीको किनारका धानबालीका केही गराहरू माडेर छोड्यो । आधुनिक राइफलका गोलीका केही खोका, रविल्बरका खोका र केही परतिर डायरीमा ‘नेपाली कांग्रेसको नेतृत्वमा देशका विभिन्न भागमा गोरल्िला तरकिाले स्थानीय प्रशासनमाथि हमला गरी स्थानीय सरकार गठन गर्न सयौँ टोलीहरू विभिन्न स्थानबाट नेपाल प्रवेश गरेको तर यो टोली देशभित्र प्रवेश गरे पनि विभिन्न कारणले अगाडि बढ्न नसकेकाले भारततिरै फर्किने निर्णय भएको’ लेखेर छोडी हिँड्यो ।
यो सब जानीजानी गरएिको थियो सेनालाई छक्याउन । अँध्यारोमा विद्रोहीहरूले बेहोसीले गर्दा यस्तो डायरी छोडेर भागेछन् भन्ने भान पार्न सफल भएपछि उहाँहरू उदयपुर हुँदै ओखलढंुगा निस्कनुभयो । स्टेनगन, एसएलआरजस्ता हतियारले सुसज्जित थापाजीको टोलीलाई सामान्य पुलिस चौकीले रोक्ने कुरै थिएन । सोलु उहाँको जन्मस्थल भएकाले उहाँको प्रभाव प्रशस्त थियो । सोलु बजारमा रहेका सेनाका अफिसरहरूसँग विद्रोहीहरूको भित्री सम्पर्क पहिले नै स्थापित भइसकेको थियो । थापाजीले गोलघरमा मलाई सुनाए अनुसार, पूर्वयोजना अनुसार विद्रोहीहरू सदरमुकाम पुगेर चढाइ गर्नासाथ सेनाले आत्मसमर्पण गर्ने र पुलिससमेतका हतियार र जवानलाई संगठित गरी स्थानीय सरकार गठन गर्ने योजना थियो । त्यसपछि भूतपूर्व सैनिकसमेतको समूह मिलाएर एउटा सेल गठन गर्ने र त्यहीँबाट अरू जिल्लातिर बढ्ने र आफू सुरक्षित हुन साँघुहरू काटेर सरकारी सेनाबाट त्यस क्षेत्रलाई अलग पार्नेजस्ता सैनिक योजना पनि उहाँहरूले बनाउनुभएको थियो ।
तर, दुर्भाग्य सैनिक अफिसरहरूले पूर्वयोजनाविपरीत विद्रोहीहरूलाई दुई दिन बाटैमा पर्खने सल्लाह पठाए । यो सल्लाह मान्नु नै विद्रोहीहरूका लागि सबैभन्दा घातक सावित भयो । तर पनि सेनालाई छल्दै सोलुको जंगल पुग्नुभएका थापाले आफ्नो टोलीलाई बचाउन भने सक्नुभएन । टिम्बुरबोटेको जंगलमा रहेको ठूलो ओडारमुनि बसिरहेका बेला वित्यासै पर्‍यो । तर, त्यसअघि उहाँले राजनीतिक कमिसार राम-लक्ष्मणलाई ‘यो मृत्युघाटमा बस्नुहुँदैन, अब यहाँ बमबारी हुन्छ तसर्थ मेरो कुरा मान्छौ भने सबै यहाँबाट अन्यत्र हिँड’ भन्नुभएको थियो रे ! त्यो कुरा कसैले नमानेपछि उहाँ एक्लै ओडारबाट बाहिर के निस्कनुभएको थियो, बमबारी सुरु भइहाल्यो ।
सैनिक कमान्डर यज्ञबहादुर थापा र राजनीतिक कमिसार राम-लक्ष्मणका बीच नेपाल पसेदेखि नै सेना र अन्य तत्कालीन सवालहरूमा मतभेद बढ्न थालेका थिए । सैन्य संगठनका सवालमा थापाजीका मान्यतासँग युवा नेताहरू अनभिज्ञ थिए भने थापाजीको भनाइ मान्न पनि उनीहरू तयार थिएनन् ।
यसरी भारतीय नाका पार गरेर नेपाल पसेदेखि नै यज्ञबहादुरजीहरूलाई समस्याले सताउन थालिसकेको थियो । फेर ित्यसमाथि आफ्नै साथीभाइका बीच बढ्दो असमझदारीले त झनै चिन्ता थपेको थियो ।
रीसको आवेगमा आएर ओडार छोड्दा यज्ञबहादुरले आफ्ना जुत्ता लगाउन पनि भुल्नुभएछ । लुक्दै भाग्ने क्रममा उहाँ राती नागीमा पुग्नुभयो । मंसिर महिनाको अन्तिम रात थियो त्यो । राती ज्यादै नै हिँउ परेकाले बूढो शरीर लिएर उहाँ ज्यादा हिँड्न सक्नुभएन । एउटा रूखको जरामुनि बनेको सानो खोपामा घुस्रिन पुग्दा एउटा खुट्टाका कान्छी र साहिँली औँला भने चर्को हिमपातबाट बचाउन सक्नुभएन । अत्यन्तै भावुक हुँदै उहाँले गोलघरको साझा आँगनमा भन्नुभएथ्यो, “आफ्ना अन्य साथीजसरी नै ती दुई औँलाले पनि मलाई सधैँका निम्ति छोडेर गइसकेका रहेछन् ।”
पुस १ गते सूर्योदय हुने बेला जब हिमपात कम भयो, उहाँ आश्रयका लागि आफ्नो पुरानो गाउँतर्फ लाग्नुभयो । गाउँ त जाने तर कसको घरमा जाने भन्ने चिन्ताले भने उहाँलाई सताई नै रह्यो । अन्तिममा उहाँ आफ्नै पारिवारिक पुरोहितको घरमा जाने निर्णयमा पुग्नुभयो ।
गाउँमा सेनाको चौकसी सुरु भएको कुरा उहाँले ती पुरोहितबाटै थाहा पाउनुभयो । तर, खानपिन गरेपछि पुरोहित सुरुसुरु गाउँतिर लागेछन् । यज्ञबहादुरजीले स्थितिलाई राम्ररी परख गरी घरबाट बाहिरिनु नै उपयुक्त ठानी बाहुनी बज्यैलाई ‘म गएँ, पुरोहितजीलाई भनिदिनू’ भन्दै बाहिरिनुभएछ । जब उहाँ खाली खुट्टा हिँड्न थाल्नुभयो, शरीर तात्दै गयो । त्यसपछि त असह्य पीडाले उहाँलाई च्याप्दै लग्यो । सैनिकहरूको चर्को उपस्थितिले उहाँ धेरै टाढा जान सक्ने अवस्थामा हुनुहुन्नथ्यो । उहाँ सरासर पुरोहितको घरदेखि तल रहेको परालको माचमा पस्नुभयो र लुक्नुभयो ।
उता पुरोहितले प्रधानपञ्चको घरमा गई यज्ञबहादुरका बारेमा सबै कुरा बताइदिएछन् । त्यसपछि के थियो, मौकाको ताकमा रहेका प्रधानपञ्च सैनिक टुकडीलाई अघि लगाएर पुरोहितको घरसम्म आए । सबैतिर खोजी गर्दा कतै पत्तो नलागेर हरेस खाएको सैनिक टुकडी गराका कान्ला हुँदै त्यही परालको माच मिल्काउन पुग्यो । उनीहरूलाई यज्ञबहादुर त्यही माचभित्र हुनसक्ने शंका रहेछ । तर, भित्री सतहमा लुकेकाले उनीहरूले भेट्टाउन सकेका थिएनन् । त्यसपछि उनीहरू पदचाप चर्को पार्दै त्यहाँबाट हिँडेको अभिनय गर्न पुगे । माचभित्र लुकेका यज्ञबहादुरलाई खोकीले सताउनुसम्म सतायो । कही सीप नलागेपछि घोप्टो परेर खोक्नु मात्र के भएको थियो, सेनाको एक जवानले सुनिहाल्यो । त्यसपछि त उहाँलाई त्यहीँ समातिहाल्यो । त्यसपछि उहाँलाई गोलघर ल्याइयो ।
यसरी जेल पुर्‍याएको उहाँलाई जसरी ल्याइएको थियो, त्यसरी नै ०३५ माघ २४ गते बाहिर लगियो । हामीले आँसु चुहाएरै उहाँलाई बिदा गर्‍यौँ ।
बिहानको खाना खुवाई पोखरा लैजाने भनेर उहाँलाई हेटौँडा पुर्‍याइयो । हेटौँडा बजारबाट दक्षिणतर्फ लागेपछि गाडीबाट ओरालेर थापाजीलाई पूर्ण पहाराका साथ पश्चिमपट्टि लगेर केही मिनेट पैदल उकालो हिँडाएपछि थुम्कोबाट फेरि ओरालो झारेर पहिले तयार गरिएको वधस्थलमा बाँधेर गोली हानी हत्या गरयिो ।
यसरी नेपाली धर्तीमा प्रजातन्त्र स्थापना र सामन्तवादको मूलोच्छेदन गर्ने हिम्मत राख्ने एक वीर योद्धाको कायरतापूर्ण ढंगले बर्बर हत्या गरियो । तर, उहाँ अमर हुनुभयो । यसै पनि सहिद कहिल्यै मर्दैन । थापाजीले लेख्नुभएको कविताको अंश मैले जोगाएर राखेको छु । बीपीलाई लेख्नुभएको पत्रमा त्यस कविता अंशलाई उहाँले अंकित गर्नुभएको थियो । कवितामा भनिएको छः
म होइन मानिस खोज्ने खोज्छु मानिसका हक
आत्मा मारेर मर्दैन मानिस बाँचिरहे तक
मलाई काट झुन्ड्याऊ जे गर्छौ गर बेसरी
हीराको ज्योति मर्दैन हजारौँ टुक्रा गरे पनि ।

नेपाल साप्ताहिक ३५२

Leave a Reply

Your email address will not be published. Required fields are marked *