Skip to content


क्याप्टेन यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठको हत्या गरएिको घटनाले मलाई भित्रैसम्म छोएको थियो । खासगरी गोलघरपछि विभिन्न जेलमा बस्ने क्रममा नेपाली कांग्रेसका जेल परेका साथीहरूले त्यस घटनाबारे जिज्ञासा राख्दा मैले त्यो कथा धेरैपटक सुनाएको छु । नवलपरासीको सुरजपुरा काण्डमा गिरफ्तारीमा परी भैरहवा जेल पर्नुभएका नेपाली कांग्रेसका तिलक सापकोटाले यसबारे पुस्तक नै लेख्न मलाई सुझाव दिनुभयो । वास्तवमा उहाँकै करबलले मैले भैरहवा जेलमा बस्दा लुटिएका दुई थुंगा फूल जेलसंस्मरण लेखेँ । त्यो लेख्न मलाई करबि आठ दिन लागेको थियो । तर, त्यसलाई जेलबाहिर ल्याउन असाध्यै गाह्रो भयो । जेलबाट रिहा हुने क्रममा मैले त्यसलाई तकियाको भित्रपट्ट िकपासको बीचमा राखेर सिलाइ बाहिर पास गरेको थिएँ ।
तर दुर्भाग्य ! क्याप्टेन यज्ञबहादुरले जेलभित्र लेखेको आत्मसंस्मरणलाई हामीले सुरक्षितसाथ बाहिर ल्याउन सकेनौँ । हाम्रो सम्बन्ध राजनीतिक सोचभन्दा धेरै माथिको थियो । सायद उहाँहरूसँगको सामीप्य र भावनात्मक सम्बन्धले हुनुपर्छ, मैले उहाँहरूका बारेमा जेलसंस्मरण लेखेँ । हामीमा दुई ध्रुवका राजनीतिक पार्टीका कार्यकर्ता हौँ भन्ने आभास पनि थिएन । उहाँहरूको हत्यापछि हामी यति ‘शक’मा पर्‍यौँ कि कति दिनसम्म त जेलभित्रै मुर्झाएर बस्यौँ ।
गोलघरमा बस्दा पछिल्लो समयमा क्याप्टेन थापा नेतृत्वप्रति अलिक नकारात्मक देखिनुहुन्थ्यो । खासगरी आफूले असाध्यै विश्वास गरेको र राजनीतिमा लाग्ने मार्गदर्शक मानेको बीपी कोइरालाले ०३५ सालमा उपचारार्थ विदेश जाने क्रममा दिल्लीमा दिएको सशस्त्र युद्धविरोधी अभिव्यक्तिलाई लिएर उहाँ रुष्ट हुनुहुन्थ्यो । भन्नुहुन्थ्यो, “कार्यकर्तालाई जेल, नेतृत्वलाई मोज त भएन नि !” कतै नेताहरूले हामीलाई बलिको बोको बनाउने त होइनन् भन्ने मनमा चिसो पसेको अभिव्यक्ति पनि बेलाबेला उहाँ दिनुहुन्थ्यो ।
जेलबाट उहाँले थुप्रैपटक नेपाली कांग्रेसको नेतृत्वलाई खबर गर्नुभयो । थुप्रैपटक आफूलाई भेट्न आउन नेतृत्वसँग अनुरोध गरेर जेलबाट छुटेका आफ्नै पार्टीका कार्यकर्तामार्फत सन्देश पनि पठाउनुभयो । तर, कुनै जवाफ आएन । एकपटक भीमनारायण र यज्ञबहादुर दुवै जनाले संयुक्त रूपमा लामो चिट्ठी लेखेर राजनीतिक परििस्थति, जेलको अवस्था र आफूहरूले भोगिरहेको यातनाबारे प्रतिक्रिया पठाउनुभयो । त्यो चिट्ठी बडो मुस्किलले हामीले कुचोको भित्री भागमा बेरेर बाहिर पठाएका थियौँ । त्यसका साथै, भीमनारायणले माथवरसिंह बस्नेतजीलाई पनि एउटा छुट्टै चिट्ठी लेख्नुभएको थियो । बीपीलाई लेखेको चिट्ठी बस्नेतजीले बीपीकहाँ पुर्‍याई आफूले सुरक्षितसाथ राख्नुभएको रहेछ, जसलाई ०३८ सालमा पुनर्जागरणको पहिलो अंकमा प्रकाशित गर्नुभएको थियो ।
गणेशमान सिंह एकपटक जेलसम्म आउनुभएको थियो । तर, उहाँहरू दुई जनालाई नभेटीकनै फर्किनुभयो । किन हो, थाहा छैन । गिरजिाप्रसाद कोइराला त्यसबेला बनारसमा हुनुहुन्थ्यो । त्यसैले यज्ञबहादुरले बीपी जेलसम्म आउने कुराप्रति ठूलो विश्वास राख्नुभएको रहेछ । तर, किन हो बीपी आउनुभएन । त्यसपछि बीपीलाई लेखेको चिट्ठीको बेहोरा मलाई यज्ञबहादुरले गोलघरमा सुनाउनुभएको थियो, जसमा गुनासाहरूको मात्रा अत्यधिक थियो ।
यज्ञबहादुरले मलाई सुनाए अनुसार जेलभित्र उहाँले आत्मसंस्मरण पनि लेखिरहनुभएको थियो । आफ्नो बाल्यकालदेखि दोस्रो विश्वयुद्धमा सरिक भएर लडेको प्रसंगसम्म उहाँले विस्तारमा लेख्नुभएको थियो । विश्वयुद्धमा सरिक भएर लड्दा जब उहाँलाई घटुवा गरियो, त्यसप्रति उहाँले साह्रै चित्त दुखाउनुभएको रहेछ । त्यसै प्रसंगमा उहाँले भन्नुभएको थियो, “ब्रिटिसहरूले मेराबारेमा के सोचे, के फिलिङ्स राखे कुन्नि ?” त्यसपछि त्यो ‘फिलिङ्स’का ठाउँमा कुन शब्द राख्दा उपयुक्त हुन्छ भनेर पनि उहाँले छलफल चलाउनुभयो । त्यसपछि मैले नै ‘अनुभूति’ शब्द राख्नु उपयुक्त होला भनेँ । उहाँलाई यो शब्द ज्यादै मन परेछ । त्यसपछि ‘हो, ठीक’ भन्दै त्यही शब्द राखेर त्यो प्रसंगलाई टुंग्याएको कुरा उहाँले मलाई सुनाउनुभएको थियो ।
उहाँले आत्मसंस्मरण लेख्ने सन्दर्भमा मसँग यस्तै विभिन्न प्रसंगमा सल्लाह गर्नुभएको थियो । कुनै शब्द कस्तो सन्दर्भमा उपयुक्त हुन्छ र यसले मेरो भावनासँग कहाँनिर मेल खान सक्छ भनेर धेरैपटक छलफल चलाउनुभयो । यसरी उहाँले जेलभित्र रोल भएका दुई नम्बरे चार-पाँचवटा कपी लेखिसिध्याउनुभएको थियो । तर, दुर्भाग्य ती सामग्री हामीले सुरक्षित राख्न सकेनौँ । अहिले सम्झिंदा बडो थक्थकी लाग्छ ।
०३५ माघ २४ गते बिहान ४ बजेको थियो । गोलघरभित्र थुप्रै मानिसहरूको पदचाप सुनियो । बन्दी कर्मचारीका साथ बर्दीधारी पुलिसहरू पनि भित्र पसे । हामी उठेका मात्र थियौँ । एक जना पुलिस करायो, “उठ, अब जाने बेला भयो ।” यज्ञबहादुर त सबेरै उठ्नुहुन्थ्यो । त्यो इसारा भीमनारायणतिर हुनुपर्छ ।
भीमनारायण अझ केही खोज्दै हुनुहुन्थ्यो । सायद, थाली हो क्यारे ! सुकुलसहित सबै सामान बाँधियो । त्यत्तिकैमा यज्ञबहादुरले हामी तीनै जनालाई क्रमशः भेट्नुभयो । केपी ओली त्यसबेला बिरामी हुनुहुन्थ्यो । यज्ञबहादुर उहाँलाई असाध्यै माया गर्नुहुन्थ्यो । जीवनबारे केही सल्लाह दिँदै केपीको कोठाअगाडि रडबाट बाहिर निकालिएका हातमा कसेर हात मिलाउनुभयो । त्यसैगरी, मोहनचन्द्र अधिकारी र मतर्फ आउनुभयो । गम्भीर हाँसो हाँस्दै भन्नुभयो, “जीवन रहे भेट अवश्य होला । नरहे हाम्रो भेट यत्ति हो । बाँचेकाले क्रान्ति गर्नू । मेरो यही खबर सबैलाई सुनाइदिनू ।”
यत्तिकैमा एउटा नाइके चिच्यायो, “कुन-कुन सामान बाँधिदिऊँ ?” यज्ञबहादुरले जवाफ फर्काउनुभयो, “मलाई अब के चाहिन्छ ? मलाई सोध्ने कुनै मतलब छैन ।” त्यसपछि उहाँहरूका सामान अलग-अलग बाँधेर हेडक्वार्टर लगियो । त्यहाँबाट सामान छाँटकाट गरी उहाँहरूलाई हेटौँडातर्फ लगेर मृत्युदण्ड दिइएको थियो । तसर्थ, उहाँले लेखेको त्यो आत्मसंस्मरण कतै हेडक्वार्टर वा कुनै पुलिसको हातमा पर्‍यो कि ! जसको हातमा परे पनि त्यो अमूल्य चीज सार्वजनिक भए ठूलो पूँजी हुन्थ्यो । अहिलेको पुस्ता मात्र होइन, पुरानो पुस्ता पनि त्यसबाट धेरै लाभान्वित हुन्थ्यो । म त त्यो खेस्रा सार्वजनिक गरििदए वा जानकारी मात्र गराइदिए पनि त्यो व्यक्तिलाई पुरस्कृत गर्थें । धेरै मानिसहरू त्यसबेला पनि भन्थे, अलग विचारधाराको व्यक्तिप्रति किन यति धेरै लगाव ! तर, हाम्रो सम्बन्ध खै किन हो, पूरै पारिवारिकजस्तो थियो । एउटै थालमा वा जुठो खाएको त मलाई सम्झना छैन तर अलग-अलग मेसबाट खाना आउने हुनाले कहिलेकाहीँ मीठो तरकारी मात्र आए पनि हामीले एक-एक पित्को भए पनि बाँडेर खान्थ्यौँ । २६ महिना एकै शरीरजस्तो भएर बसेको हाम्रो जेलयात्रा दशकौँ पुरानो सम्बन्धभन्दा धेरै गाढा थियो, जो कहिल्यै चिसिएन ।

नेपाल साप्ताहिक ३५२

1 thought on “हराएको आत्मकथा”

Leave a Reply

Your email address will not be published. Required fields are marked *