Skip to content

मिलन लामाको टोपीको मलेशिया संस्करण


पाठकहरूको मन छुने चर्चित किताबहरूको धेरै संस्करण छापिएको हामी सबैलाई थाहा छ । जस्तो कि, नेपालमा महाकवि देवकोटाको मुनामदन शायद सबैभन्दा बढी संस्करणमा प्रकाशित कृति होला । त्यस्तै, श्रोताहरूको कानमा गुञ्जिरहने लोकप्रिय गायकहरूको क्यासेट, सिडी एल्बमहरूको संस्करणबारे पनि तपाईं हामीलाई थाहा छ । जस्तो कि, नारायण गोपालका स्वर लहरीहरू उनको अवसानपछि पनि अनगिन्ती संस्करणहरूका माध्यमबाट श्रोताबिच लोकप्रिय छँदैछन् । हामीले सामान्यतया जाने बुझेको र अनुभव गरेको संस्करणहरूका केही नमूना हुन्, यी । तर के हो यो मिलन लामाको टोपीको संस्करण, त्यसमाथि पनि त्यो टोपीको मलेशिया संस्करण ? आउनुहोस्, आज म त्यही टोपीको संस्करणको कथा तपाईंहरू माझ पस्कोदैछु ।

गत वर्षको कुरा हो ( कुन महिना, दिन, बारले महत्व राख्दैन ) अमेरिका भासिएका अभिन्न मित्र दिनारजीसंग विदाको दिनमा टेलिफोनमा लामो कुराकानी भएको थियो । त्यसो त प्रत्येक सप्ताहान्त जसो दिनारजीले टेलिफोन गरिरहन्छन् र प्रत्येक पटकको गन्थन लामै हुन्छ (मौसम देखि लिएर नेपालको भद्रगोले वेथितिसम्म )।

तर त्यस विहानको कुराकानी चाहिं अलि बेग्लै थियो । आमाको सम्झनामा मैले त्यतिखेरै निकालेको अविरल यात्राको एक प्रति उनलाई पठाएको थिए । हाम्रो पारिवारिक पृष्ठभूमि पनि थाहा भएकोले होला, उनले त्यस संग्रहभित्रको “आमा खोजी रहेछु” शिर्षकको नितान्त व्यक्तिगत संस्मरण अद्योपान्त छिचोलेछन् । त्यस विहानको हाम्रो कुराकानी त्यसैमा केन्द्रित थियो । दिनारजीले भावुक हुदै भनेको कुरा अहिले पनि ताजै छ ः “हरिजी, आमा खोजी रहेछु पढदा ठुलो पर्दामा चलचित्र हेरे जस्तै भयो । अनि, कुन बेला आँखा त्यसै रसाए थाहै भएन ।”

आमाको वास्तविक मर्म दिनारजीले राम्ररी बुझेका छन् । जन्मदिने आमा जस्तै जन्मेको ठाउँको माया उनको मनभरि, छातिभरि जतासुकै गुम्सिएको छ कारण उनी अहिले विरानो मुलुकमा अनि पराइ ठाउँमा दिन गुजारी रहेकाले ती दुवैको प्यारबाट बञ्चित छन् । त्यसकै पीडा खप्न नसकेर होला उनी आफूले चिने जानेका साथीभाइलाई सम्झेर धेरैतिर आफैले फोन घुमाई रहन्छन्, हामीलाई खर्च गर्नै पर्दैन ।

कुराकानीको क्रमलाई जोड्दै दिनारजीले भने, “हरिजी, मेरो पनि एउटा सानो यात्रो निबन्ध गोविन्द गिरी प्रेरणाको प्रत्रिकामा छापिएको छ । पढेर प्रतिक्रिया पाउँ न ।”

केही दिनमा हुलाक मार्फत उनको यात्रा संस्मरण आइपुग्यो, शिर्षक थियो – “मिलन लामाको टोपी” । फोनमा कुरा हुँदा उनको त्यो यात्रा संस्मरण भाइ राजुको विद्यावारिधिको दिक्षान्त समारोहको लागि लण्डन जाँदाको भन्ने मेरो बुझाइमा एकाएक “मिलन लामाको टोपी” शिर्षकले चुम्बककै जस्तो काम गर्यो । सर्रर बगेको उनको संस्मरण आँखा झिमिक्क नगरी एकै सासमा पढिभ्याएपछि मात्र टोपीको वास्तविक मर्म थाहा भयो ।

मिलन लामाको टोपीको लण्डन संस्करण सार संक्षेपमा यस्तो छ ः

मिलन लामा नेपालमा लोक दोहोरी क्षेत्रको एक चर्चित नाउँ हो । सांगितिक कार्यक्रम प्रस्तुत गर्नै क्रममा उनी बेलायत पुगेको बेला दिनारजीले पनि उनको कार्यक्रम हेर्न भ्याएछन् । कार्यक्रममा उनको मीठो लोक दोहोरीले सबैको मन तान्ने नै भयो । त्यस साँझ दिनारजीको मन तान्ने चाहिं मिलनको शिरमा ढल्केको नेपाली मानचित्र र क्रस खुकुरीले सुहाएको उनको कालो भादगाउँले टोपी रहेछ ।

कार्यक्रमको अन्तिम चरणमा मिलनले त्यहि टोपीलाई दर्शक-श्रोता सामु भुईमा राखेछन् (युधिष्टिरले पाञ्चालीलाई जूवाको खालमा राखे जस्तै) । उनको आफ्नो जिल्ला चितवनको दुर्गम र विपन्न चेपाङ गाउ जहाँ विकास भन्ने शब्दले पनि चियाउदैन, त्यस गाउको एउटै मात्र प्राथमिक विद्यालय पनि धरासायी हुन लागेकोमा त्यसलाई जोगाउन उनले आफनो टोपीलाई दर्शक-श्रोता माझ बढाबढ बोलपत्र गराएका रहेछन् । मिलनको सदिच्छा, उनको सद्विचार तथा भावनाबाट दर्शक-श्रोताहरू पग्लिएर त्यस साँझ उनको टोपीले राम्रै कमाइ गरेछ । तर बढिबढाउको अन्त भने दिनारजीले गरेछन् – आफनो गोजीमा बचेको सय अमेरिकी डलर तिरेर । सय अमेरिकी डलरको टोपी र राजुको विद्यावारिधिको शोध ग्रन्थको एक प्रति कोसेली स्वरुप लिएर दिनारजी अमेरिका फर्के । त्यस अर्थमा मिलनको टोपी र राजुको पि.एच.डी.को मूल्य दिनारको दृष्टिमा समान लाग्यो होला । मिलन लामाको टोपीको लण्डन संस्करण संक्षिप्तमा त्यति नै हो ।

अब भने मिलन लामाको टोपीको मलेशिया संस्करणमा प्रवेश गरौं । पाठकहरूलाई यो संस्करण पनि मर्मस्पर्शी नै लाग्ने छ ।

केही दिन अघि मात्रैको कुरा हो । चितवन मलेशिया सम्पर्क मञ्चले नेपालका केही कलाकारहरूलाईसम्मान गर्ने भनेर दूतावासलाई निम्ता गरेको थियो ।सम्मानित कलाकारको विषयमा चाहिं खुलासा गरेको थिएन । मलेशियामा दुःख जिउलो गरिरहेका लाखौ नेपालीहरूलाई मनोरञ्जन दिन नेपालबाट कलाकारहरूको आउ-जाउ भइ नै रहन्छ । त्यस्तै, त्यस्ता कार्यक्रम आयोजना गर्नै संघ संस्थाहरू पनि च्याउ सरी उम्रिरहेका छन् । कसकोमा जाने कसकोमा छुटाउने भन्नै गार्हो भई सकेको छ । त्यो साँझको कार्यक्रम जीरेखुर्सानी रेष्टुरेन्टमा आयोजना भएको थियो । नाउँ चाहिं सुनिराखेको तर जीरेखुर्सानीको स्वाद नचाखेको कारणले पनि मलाई तानिहाल्यो, त्यस कार्यक्रममा ।सम्मानित कलाकारहरूसँग चिनापर्ची गर्न पाइने मौका त झन् छदै थियो ।

हतारमा राखिएको कार्यक्रमले होला निम्तालुहरू पातलै रहेछन्, कलाकारहरूको पनि त्यति दर्शनीय उपस्थिति थिएन । एकजना दौरा सुरुवाल र भादगाउँले टोपी लगाएका गोरा युवक र दुईजना महिला एक कुनामा बसेका थिए । कसैलेसम्मानित कलाकार तिनै हुन् भनी चिनाए ।सम्मान कार्यक्रम पनि उच्याट लाग्दो थियो । सभापति, प्रमूख अतिथि, अतिथि, आमन्त्रित सबैको नाउँ लिदा र सबैलाई व्याज वितरण गर्दा नै धेरै समय खेर गइसकेको थियो । त्यसपछि नयाँ नेपाल बनाउँने भाषणले झन् धेरै ठाउँ लिए । त्यतिखेरसम्म कलाकारहरूको विषयमा चाहिं कसैले केहि चर्चा समेत गरेनन् । उनीहरू त्यहि कुनामा झोक्राई रहेका थिए । म चाहिं यस्तै तालले कस्तो होला नयाँ नेपालको स्वरुप भनेर दिग्दारी मनले गम्दै थिएँ ।

अन्ततः दुई घण्टाको पाङ न पुच्छरको कार्यक्रम पश्चात कलाकारहरूकोसम्मान गर्ने पालो आयो। सम्मानित प्रमूख कलाकारको नाउँ मिलन लामा भन्ने उदघोषणले मलाई अर्धनिद्राबाट व्युझायो, अचानक ताजापनको अनुभूति भयो ।

त्यसपछि जब मिलनले माइक समाते, हलको वातावरणनै अर्कै भयो । उनले आफनो केही बढाइचढाइ गरेनन् बरु लोक दोहोरी गाउनेलाई गायक नै हैन भन्ने हाम्रो मानसिकता बारे दुखेसो पोखे । कलाकारहरूको व्यथा मात्रै हैन मुलुकको वर्तमान दर्दनाक पीडालाई मिलनले आफनो रचना र स्वर लहरीबाट सबै सामु पस्किए । हिमालको शीतलताले मधेशलाई पंखा हम्कनुपर्छ, तराईको भकारीले पहाडको भोक मेटनुपर्छ, अनि कोशी, गण्डकी र कर्णालीले सम्पूर्ण नेपाली मनलाई सिंचित गर्नुपर्दछ भन्ने उदोत्त भावको उनको राष्ट्रिय गीतले सबैको मन छोएको थियो, सबैको मन जितेको थियो ।

मिलन भन्छन् विदेश छदा घरको भातको याद झन चौगुना हुँदोरहेछ । त्यसैले सांगीतिक कार्यक्रमको लागि जब उनी विदेश जान्छन्, एउटा न एउटा देशभक्तिको गीत दर्शक (श्रोता) सामु पस्किन भुल्दैनन्, उनी । उनको कार्यक्रमको यो छुट्टै विशेषता रहेछ । त्यस अर्थमा, प्रवासमा बसेर नेपालको लागि तड्पिरहने अनि आ-आफनो क्षेत्रबाट केही न केही गरिरहने सबैको लागि मिलन प्रेरणाका श्रोत रहिरहनेछन् । मिलनको यस अभियानलाई धन्यवाद दिनै पर्दछ ।

मिलनले त्यस साँझ मिलनको मात्र हैन विछोडको पनि गीत गाएर सबैलाई रुवाए । विछोडको गीत अरु कसैको नभएर उनको आफनै अभीन्न मित्र थानेश्वर पौडेलको विषयमा रहेछ, जो मलेशियाको विरानो ठाउँबाट केही महिना अघि सबैलाई छोडि सधैका लागि यस संसारबाट विदा भएका रहेछन् ।

त्यस कारुणिक घटनालाई मिलन यसरी सम्झन्छन्ः उनीहरू एकै थालमा खाएका हित्त चित्त मिल्ने दौतरी थिए । थानेश्वरले आफनी प्रेयसीलाई मिलनकै मद्दतबाट भगाएका हुन् । त्यो दिन सम्झदै मिलन भन्छन् ः

असार महिनाको अध्यारो रातमा खेतको डिलै डिल र वारीको कान्लै कान्ला एउटा टर्च लाइटको उज्यालोको सहारा लिएर दाइले भाउजूलाई पल्लो गाउमा पुर्याउनु भएको हो । त्यसरी दिल मिलेको दाइ भाउजूको मिलन पनि धेरै दिनलाई लेखिएको रहेनछ । कति सपना बुनेर उनी मलेशिया आएका थिए तर कठै भाउजूले उनलाई बन्द बाकसमा बुझ्नुपर्यो ।

त्यही मर्मलाई मिलनले “आङमै रगत सुकाउने” गीतको बोल मार्फत प्रस्तुत गरेका छन् । पोइल जाने गीतले धेरै विकृति जन्माएको नेपाली लोक गीतको फाँटमा गीतमा केही सन्देश हुनै पर्दछ भन्ने मान्यता राख्ने मिलनको “हङकङ आइ.डि.ले”, “माझी दाइ” जस्ता गीत बजारमा जति लोकप्रिय भयो उनको “कर्णालीमा मोटर पुग्यो” लोक दोहोरी पनि त्यतिकै लोकप्रिय होस्, यही नै शुभकामना ।

मिलन आफनो अभिन्न मित्रको वियोगमा भावुक त थिए नै त्यसैबीच आफनो शीरको टोपी छोएर झन् भावुक बने, सबैलाई भावुक बनाए । आफनो शीरको टोपी भुईमा थापेर मिलनले पुनः गतवर्ष उनको टोपीको लण्डन संस्करणको स्मरण गरे र आदरसाथ दिनारजीको नाम लिए, जसलाई उनले व्यक्तिगत रुपमा चिनेका थिएनन् नत त्यस अघि उनको नाम नै सुनेका थिए । सय डलर वास्तवमा केही होइन, एउटा पवित्र भावना हो, त्यहि समुद्र जस्तो विशाल भावनाले एउटा चेपाह् गाउँ मात्र हैन सम्पूर्ण नेपालको कायापलट हुनसक्छ । तर किन हो कुन्नी हामीहरू काम त जहाँ सुकै जाअोस्, त्यस्ता पवित्र भावना बाँड्ने कुरामा पनि कञ्जुस्याई गर्दछौ ।

तर मिलनको टोपी त्यस अर्थमा अपवाद सिद्ध भएछ । लण्डनको त्यस साँझमा एक छिनको बढाबढमा उनको टोपीले तीस हजार बराबर जति नेपाली रुपैयाँ छिनभरमा संकलन गरेछ । कमसे कम एक वर्षका लागि चेपाङ गाउँको त्यो विद्यालयमा पढन जाने सिंगाने नानीहरूको कापी, कलम खोसिने भएन । त्यस अर्थमा त्यस अभागी गाउँको सयौ बाबु आमाहरूले मिलनलाई आशीष दिनेछन् ।

आशीष दिइ नै रहनेछन्, किनकि मिलनले त्यही चेपाङ गाउँकै स्कुलको लागि भनेर फेरी एक पल्ट मलेशिया आएर आफनो शीरको टँपी भुईमा राखे । जनजाति, आदिवासी, समावेशीकरण, शशक्तिकरण जस्ता नारा दिने नीति निर्माता वा विदेशी डलर पडकाउने एन.जी.अो., आइ.एन.जी.ओ. जोसुकैलाई पनि लाज लाग्नु पर्नै हो किनकि लोप हुन लागेको अत्यन्तै पिछिडिएको तर राजधानीबाट १०० किलोमीटर नजिकैको त्यस चेपाङ वस्तीका केटाकेटीले अक्षर चिन्न पनि मिलन लामाको टोपीको साहारा लिनु पर्ने जस्तो विडम्वना के हुन सक्छ ?

तर मिलन विचलित छैनन्, थोपा थोपाबाटै समुद्र बन्ने कुरामा विश्वास राख्छन् । त्यसैले त्यस्तो पूण्य कार्यका लागि धेर थोर जति भएपनि टोपीमा थाप्दछन् । लण्डन संस्करणमा उनको टोपीले धेर थोर पौण्ड बटुल्यो, नेपालीमा गुणन गर्दा राम्रै कमाई गर्यो । तर मलेशियाको स्थिति अर्कै छ, खासमा भन्ने हो भने नेपालमा घर खेत बन्धकी राखी ऋण काढी मलेशिया आउने धेरै नेपाली युवाहरू आफैले टोपी थापी सहारा लिनुपर्ने स्थितिमा छन् । घर खेत उकास्ने सपना लिएर छिरेका कैयन नेपाली जेलमा सडेका छन्, दलालहरूबाट किनबेच भई रहेका छन्, अनि कति त लाउँ लाउँ खाउँ खाउँ कै उमेरमा वाकसमा बन्द भै नेपाल फिर्ता भएका छन् ।

त्यसैले मिलनको टोपीले मलेशियामा लण्डनको जस्तँ दर्हो कमाइ त पक्कै गर्न सकेन । तर भावनामा भने त्यस साँझ कहि कतै कमी थिएन । शीरको टोपी त्यसै भुईंमा खस्दैन भन्ने पीडा बोधका साथ सबैले उनको टोपी भरी नै रहेका थिए । म आफू भने असमञ्जस स्थितिमा थिए किनकि प्लास्टिक पैसा (क्रेडिट कार्ड)को कारण नगद बोक्ने झन्झट सकभर गर्दैनथे । के गरुँ कसो गरुँको अलमलमा पर्दा वालेटभित्र यसो छामेको एक सय रिंगिटको सिंगो नोट फेला पर्यो । मलाई तत्काल राहत भयो अनि अपराधबोधबाट पनि मुक्ति, कारण मिलन लामाको लण्डन संस्करणमा मित्र दिनारले उदार मनका साथ सय डलर निकालेका थिए भने मैले पनि सय रिंगिटको नँटले उनको टोपीलाई स्वागत गर्न पाए ।

अनि मिलनलाई साधुवादको दुई शब्द दिदै भने – मिलन, लण्डनदेखि शुरु भएको तिम्रो टोपी संस्करण अझ झांगिदै जाअोस्, अझ मौलाउदै जाअोस् ।

क्वालालम्पुर, मलेशिया

१६ फेब्रुअरी २००८

1 thought on “मिलन लामाको टोपीको मलेशिया संस्करण”

  1. मिलन लामालाई धन्यवाद तथा
    मिलन लामालाई धन्यवाद तथा शुभकामना छ! साथै हरिकुमारजीलाई पनि, मिलनजीको प्रयासलाई हामीअघि प्रकाश पारिदिनुभएकोमा धन्यवाद छ!

    कुमार

Leave a Reply

Your email address will not be published. Required fields are marked *