Skip to content

मेरा कल्पनामा सुनको ल्हासा

  • by


चाइना-एयरमा तिब्बततर्फ उडिरहँदा मेरो सम्झनामा धैरै वर्षअघि हामी पोखरा बस्ताका बखत त्यहाँ ओइरिएका तिब्बती शरणार्थीहरू आइरहेथे । स्याङजातिर शरणार्थीका शिविर थिए । त्यतातिर घुम्न जाँदा तिब्बती लुगा लगाएका आमाका कपडाको फेर समातेर सिँगान पुछ्दै गरेका स-साना केटाकेटी घरभित्र-बाहिर गरेका देख्थेँ । तिब्बतीहरू जब्बर स्वभावका हुने र झैझगडा गर्न भिड्न तयार भइहाल्ने कुरा पनि यिनै प्रसङ्गमा मेरा कानमा परिरहन्थे । त्यसैताका ल्हासाको सुनका उखान पनि निकै सुन्थ्यौं हामी । मेरो केटाकेटी मनमा तिब्बत, ल्हासा भनेका सुनैका धपक्क बलेका सहर हुन् जस्तो छाप परेको थियो । त्यतिखेर मलाई भने ती केटाकेटी आफ्नो सुनको देश, घर, खेल्ने कुराहरू सबै छाडेर यी टहरामा बस्न किन आए होलान् जस्तो लागिरहन्थ्यो ।

पछि भूगोलमा तिब्बतको पठार, संसारको छानो भनेर पढ्दा अचम्म मान्थेँ म । संसारको छानो त आकाश पो हुनुपर्ने थियो नि । यतिखेर भने निकैबेर हिमालै-हिमालमाथि उडिसकेपछि संसारको छानो भनिने यही अद्भुत भूखण्डमाथि आइपुगेकी थिएँ । हिमालभन्दा पनि निकै माथिको उचाइमा यस्तो समतल बलौटे भूमि मेरो कल्पनामा थिएन । पृथ्वीको यो अद्भुत विस्मयकारी रूप पहिलोपल्ट हेर्दै थिएँ म । हरियालीको नामोनिसान थिएन कतै । नजिक-नजिक आएको आँखै तिर्मिराउने आकाश, एकटकको चर्को सेतो घाम, जताततै फैलिएको रातो-फुस्रो बालुवाको फाँट, साना-ठूला हिमताल, फोस्को माटो र बालुवाका अग्ला-होँचा बुदुने पहाड । लागिरहेथ्यो, यो अत्यासलाग्दो खुरिखण्ड वातावरणमा कहाँ होला, त्यो सुनको भण्डार ?

एयरपोर्टबाट करिब डेढ घन्टा सतहमै बगिरहेजस्तो लाग्ने नदीको किनारै-किनार बस चढेर हामी ल्हासा बजार आयौं । चीनको सबैभन्दा ठूलो नदी ‘एल्लो रिभर’ बगिरहेको थियो त्यतै । बाटा वरपर लहरे पीपल र बैंसका हरिया रूख बाक्लै थिए, लहलह हरियो गहुँ देख्ता चिनियाँले यस उजाड मरुभूमिमा गरेको मिहेनत अनुभव गर्न सकिन्थ्यो । चिसो र अक्सिजनको कमीबाट आफूलाई जोगाउन चिनियाँ गाइड निकले थुप्रै निर्देशन दिएका थिए, हामीलाई । अनुभवी साथीहरू भनिरहेथे, चार बजेपछि यहाँ बाहिर निस्कनहुन्न, अक्सिजन निकै घटेको हुन्छ वातावरणमा । एउटा नजानिँदो भयको सञ्चार भइरहेथ्यो मभित्र, यसअघि पनि मसँग लेक लागेका डरलाग्दा अनुभव थिए । साँझमा हामी बजार हुँदै नेपालीकै रेष्टुरेन्टमा गएर नेपाली खाना खायौं । सफा फराकिला सडक, आधुनिक घर, पसलहरू, निकै सुन्दर थियो ल्हासा । सुनका पसल भने देखिन मैले कतै । पसलहरूमा ठूलठूला सिसीमा प्रायः जडीबुटी बेच्न राखेको देखिन्थ्यो, यार्सागुम्बा पनि प्रशस्त थियो । चोक-चोकमा चिनियाँ सैनिक ठिटाहरू सैनिक पोसाकमा हतियार बोकेर मूर्तिजस्तो उभिएका देखिन्थे ।

बजारभन्दा निकै उचाइमा रहेको दलाई लामाको पोताला दरबार ल्हासाको मुख्य आकर्षण रहेछ । सबभन्दा माथिको खण्डमा उनको निजी निवास, उपासनास्थल र कार्यालय थियो । त्यसभन्दा तल विभिन्न समयका दलाई लामा र धर्मगुरुहरूका समाधि रहेछन्ा्, दरबारभित्रै । बुद्ध लगायत थुप्रै धर्मगुरुका सानादेखि लिएर अजङ्ग ठूला मूर्तिहरूको अद्भुत संग्रह थियो, यो दरबार । संसारभरकै बौद्धहरूको धार्मिक आस्थाको थलो पनि रहेछ यो । एउटा खुट्टा निकै जख्मी भए पनि आस्था र उत्साहकै कारण रचना शेरचन दिदीले त्यत्रो अग्लो ठूलो दरबार उक्लेर, घुमेर, ओर्लिन पनि भ्याउनुभयो । चढाएका पैसाको थाक देखिन्थ्यो, ठाउँ-ठाउँमा । मूर्तिका सामु चौंरीका घिउमा ठाउँ-ठाउँ बत्ती बालिरहेथे भक्तहरू । धेरैजसो मूर्ति सुनैले बनेका रहेछन् । एउटा ठूलो भवन थियो बीचमा, जहाँ पुराना बौद्धग्रन्थहरूलाई सुरक्षित गर्न काम भइरहेको देखिन्थ्यो । कृष्ण आचार्य भन्दै हुनुहुन्थ्यो, पहिला यहाँ मन्त्रपाठ पनि हुने गथ्र्यो, त्यो ध्वनिले बडो सम्मोहक बन्थ्यो वातावरण, अचेल त्यो चलन हटेजस्तो छ । त्यहीं राजा श्रोङचङगम्पोसँग बिहे भएकी भृकुटीको मूर्ति देख्ता हामी केही भावुक पनि भएछौं । भोलिपल्ट बिहान भृकुटीले निर्माण गरेको मन्दिर पुगेका थियौं हामी ।

मान्छेको बेपत्तै भीड थियो, पोतालामा एकै दिनमा पच्चीस सय, तीन हजार पर्यटक आउँदा रहेछन् । टिकटको मूल्य सय चिनियाँ युवान थियो । आयको ठूलो स्रोत रहेछ, पोताला । माथिबाट हेर्दा ल्हासा बजारलाई आफ्नो पूर्ण सौन्दर्य देखेँ मैले, सफा, विस्तारित र निकै विकसित । लक्ष्मीप्रसाद देवकोटाका मानसपुत्र मदनलाई संकटमा आश्रय दिने ती सज्जन तिब्बतीको घर कतातिर पर्छ होला भनेर खोजिरहेथे मेरा आँखाले । सहर र वरपर मान्छेले यत्नपूर्वक बनाएको हरियाली थियो, यद्यपि चारैतिरका राता नाङ्गा डाँडाहरू देखेपछि भने यो भेग निकै उचाइमा रहेको सम्झना हुन्थ्यो । ल्हासाका सडकहरूमा भोटे लुगा र चिनियाँ छत्रेटोपी लगाएका स्थानीय मान्छेहरू हातमा माने घुमाउँदै हिँडिरहेका देख्ता यो क्षेत्रको सांस्कृतिक तरङ्गले कतै छोएजस्तो पनि भयो मेरो मन । पोताला अगाडि ठूलो चोकमा सङ्गीतका तालमा पानीका फोहोराको खेल हुँदोरहेछ साँझमा, मान्छेको ओइरो लागेको थियो हेर्न । त्यहाँबाट राति पनि पोताला दिउसोझैं नै टडकारो देख्ता म छक्क परेँ । बत्ती देखिँदैनथ्यो कहीं तर सम्पूर्ण दरबारलाई उज्यालोले कतै छेक्न, छेलिन दिएको थिएन । तस्वीरझैं ल्हासाको आकाशमा हरबखत टाँगिएको हुने रहेछ पोताला, रात पर्दो रहेनछ त्यहाँ ।

ल्हासास्थित महावाणिज्य दूतावासको प्राङ्गणमा लक्ष्मीप्रसाद देवकोटाको प्रतिमा रहेछ । चीनको भूमिमा आफ्ना महाकविलाई माया गरेका थियौं, हामी सबैले । दूतावासका कर्मचारीको आतिथ्यमा त्यो साँझ त्यहीं भात खाएथ्यौं, हामीले । त्यहीं, पुस्तौंदेखि ल्हासामा बसी बेपार गरिरहेका नेपालीहरू भेट्यौं, त्यहाँ अलपत्र परेका नेपालीलाई सहयोग गर्न नेपालीका संस्थासँग पनि परिचय भयो ।

ल्हासाबाट रेल चढेर सियानतर्फ लाग्दा चिनियाँ भाषा नबुझेर स्टेसनमा निकै दुःख पाइयो तापनि रेल चढिसकेपछिको आनन्द बेग्लै थियो । म सन् १९९९ मा चीन आउँदा यो रेलको बाटो बन्ने कुरा सुनेकी थिएँ । त्यतिखेरै यो बाटो रेलमा हिँड्ने धोको बनेको थियो मेरो । संसारको सबैभन्दा अग्लो भूमिमा तीव्रगतिमा हिँडिरहेको रेलको झ्यालबाट देखेको बाहिरको दृश्य स्वप्नजस्तो लागिरहेथ्यो, मलाई यतिखेर । मान्छेको बस्ती नभएको यो उचाइमा यति विस्तृत भूखण्ड, जति हिँडे पनि नसकिने बाटो, जति हेरे पनि नसकिने फाँट, बाढी आएजस्ता हिला नदी, खुरिखण्ड राता पहाड, तिनमाथि बुट्टाजस्तो गरी बसेका हिउँका सेता छिर्का, त्यहींदेखि बग्दै-बग्दै आएर बीचैमा जमेका हिउँका सोता, कञ्चन पानीमा नीलो आकाश टल्किएर माछाका कत्लासरि गतिमान थुप्रै-थुप्रै साना र बेपत्ता ठूला हिमतालहरू, ठाउँ-ठाउँमा चरिरहेका भेँडा र चौंरी, आँखा झिम्क्याउँदा पनि दृश्य छुट्लान् जस्तो लागिरहेथ्यो मलाई ।

रेल जति उचाइमा जान्थ्यो, त्यति नै चहकिलो देखिन्थ्यो । झ्याल बाहिरको नीलो न नीलो आकाश । यति नजिकै आकाश देख्ता अत्यास लागिरहेथ्यो मलाई । आफू अभ्यस्त नभएको, जीवन नभएजस्तो लाग्ने सौन्दर्य भयावह हुने रहेछ क्यारे । उचाइ बढ्दै गएपछि रेलभित्र अक्सिजन छाड्ने व्यवस्था रहेछ, तर हाम्रो डिब्बातिर भने राम्ररी अक्सिजन आइरहेको थिएन । त्यसैले हो कि निसासिन थालेँ म, धेरै नै टाउको दुख्न थाल्यो । रेल हिँड्न थालेको बाह्र घन्टा पनि भएको थिएन, अझै २४ घन्टा लाग्थ्यो सियान पुग्न । मोदनाथ प्रश्रतिसँग मेरो पहिलो भेट करिब ४३/४४ वर्षअघि उहाँ पोखरामा हामी बसेको मिरुवाको घरमा आउँदा भएको थियो । उहाँले त्यतिखेर मानव महाकाव्य लेखिसक्नुभएको थियो । बुवा र रामचन्द्र मामाले निकै प्रशंसा गर्नहुन्थ्यो त्यो पुस्तकको । पुस्तकभन्दा पनि मलाई उहाँले मान्छेका तस्वीरहरू जस्ताको तस्तै बनाउनुहुन्छ भनेको सुन्दा रमाइलो लागेको थियो । आयुर्वेदको डाक्टर पनि हुनुहुन्थ्यो उहाँ, यतिखेर निकै सञ्चो नभएको बेलामा सबैभन्दा भर गर्न मिल्ने अभिभावकजस्तो मलाई उहाँ नै लाग्यो र म उहाँको डिब्बामा गएँ । रुनै आँटेकी थिएँ, उहाँले मलाई अनुलोम-विलोम प्राणायाम गर्न लगाउनुभयो र गर्दनमा निकैबेर मालिस गरिदिनुभयो । अक्सिजन पनि तानेँ मैले निकैबेर । यात्राबाट र्फकेपछि प्राणायामको एउटा शिविर चलाउने योजना बनाउनुभएको थियो, प्रश्रतिजीले त्यसबेला । ललितपुरकी निर्मला श्र्रेष्ठले पनि निकैबेर मेरो टाउकोमा मसाज गरिदिइन्, यी सबै उपचारहरूले निकै मद्दत गरे मलाई ।

श्री परमेश्वरका अनुग्रहले उमेर, ज्ञान र अनुभवले मभन्दा वृद्धहरू भने सबै सकुशल नै उम्के यो उचाइको प्रकोपबाट, कसैलाई केही भएन । जतिपल्ट उठेर डिब्बाबाट बाहिरतिर आउँथेँ म, हरिहर खनाललाई राम्रा अक्षरले डायरीमा लेखिरहेकै भेट्थेँ । तुलसी भट्टराई रेलको गति र ठाउँका नामहरू सबैलाई बताउँदै हिँडेका भेटिन्थे । रातका केही घन्टा शान्त हुन्थ्यो रेल, अन्यथा सबैजना आ-आफ्ना डिब्बामा झुरुप्प बसेर हल्ला गरिरहेका, हाँसिरहेकै हुन्थे । कविता वाचन हुन्थ्यो बेला-बेला, घनश्याम शर्माले आफ्नो जन्मभूमिको मीठो वर्णन गर्नुभयो कवितामै । घरदेखि ल्याएका खानेकुराहरू पनि त्यहीं बाँडेर खाएका थियौं सबैले । यो यात्राको मियो थिए- रामबाबु सुवेदी हाम्रा टिम लिडर । यिनैको व्यक्तिगत प्रयत्न, दौडधुपको कारण हामीले भलाद्मी नै बनेर यात्रा गर्न पाएका थियौं । बूढानीलकण्ठ स्कुलबाट रिटायर भइसकेका यी भूतपूर्व शिक्षक मिलनसार, जाँगरिला र रमाइला पनि थिए, हरबखत हाँसिरहन्थे, खासगरी महिलाहरूसँग छिटै दोस्ती भइहाल्थ्यो यिनको । भलै हङकङको सडकमा हिँड्दा-हिँड्दै आफैं एकपल्ट हराएका किन नहुन्, हामी ५४ जनाको बगुन्द्रोलाई जोड्ने काम पनि यिनैले गरेका थिए । हाम्रो यो बहुमुखी टोली कुनै ठूलो झमेला नभइकन सकुशल र्फकला भन्नेमा धेरैलाई शंका रहेछ, तर यिनी ढुक्क देखिन्थे । रामबाबुजीले मसँग भनेका थिए, ‘हामीले जीवनमा सबै कुराको बजेटिङ गर्छौं, आफ्नो उमेरको चाहिँ गर्दैनौं ।” तीव्रगतिमा गुडिरहेको रेलमा दुखेको टाउकोमा नातो बाँधेर आँखा चिम्लिरहँदा मैले उनका कुरा सम्भिmरहेँ । हुन पनि हो, सबै थोकको व्यवस्थापनका लागि हामीसँग समय र पैसा पनि जुट्छ, जेनतेन जोहो गरिन्छ । तर जीवनमा आफ्नो उमेर र रहरको व्यवस्थापनका लागि स्वतन्त्र रूपमा बेग्लै योजना बनाउनुपर्छ भन्नेचाहिँ प्रायः सोचिँदैन । लागिरहेथ्यो, जीवनमा धेरैपल्ट रेल छुटेछ क्यारे मेरो पनि, पुग्नैपर्ने कतिपय ठाउँमा पुगिएनछ । स्टेसनमै बितेछ, जीवनको ठूलो हिस्सा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *