Skip to content


म हेर्दैछु तिमीलाई, पश्चिमको घाम भएर
तिमी हेर्दैछौ मलाई, पूर्वको जून भएर
सुदूरपूर्व र सुदूरपश्चिमझैँ भिन्दाभिन्दै छौँ हामी
तर पनि
ओ शून्यता ! हाम्रो मायाको आकाश एउटै छ ।

गोधूलियाम छ, सुगन्धित छ बतास
फूलेका छन् बगैँचामा आरुका फूलहरू
म हेर्दैछु तिमीलाई,
तिनै आरुका सुन्दर फूलहरूमा
तिमी सुन्दैछ्यौ मलाई
मौरीका गुनगुन संगीतहरूमा
हिमशिखर र बग्ने पानीझैँ भिन्दाभिन्दै छौँ हामी
तर पनि
ओ शून्यता ! हाम्रो मायाको धरती एउटै छ ।

नीलो तलाव छ, आस्थाको मन्दिर छ
एकान्तमा तरंगित छन् शंखध्वनिहरू
हरयिो पहाड छ, शान्त गुम्बा छ
दियो बालिरहेछन् श्रद्धालु हातहरू
म हेर्दैछु तिमीलाई
बुद्धका स्वप्निल आँखाहरूमा
तिमी हेर्दैछौ मलाई
अर्धनारीश्वरको स्वरूपहरूमा
हिंसा र अहिंसाझैँ भिन्दाभिन्दै छौँ हामी
तर पनि
ओ शून्यता ! हाम्रो मायाको ईश्वर एउटै छ ।

नेपाल साप्ताहिक २५३

Leave a Reply

Your email address will not be published. Required fields are marked *