Skip to content


असारे बर्षा हिलो र माटो
त्यो मेरो देशमा
हली र हलो लाठेका खुसी
रोपारको रन्कोमा ।

आलु र केराउ अचार बनाउ
चिउराको साथमा
आमाले लगाईन त्यो रातो टीका
उज्यालो निधारमा ।

रोपार हिँडे घुम है च्यापी
भकारी बाध्नु छ
बर्षामा रोपी मंसिरमा थँन्काई
बर्ष है धान्नु छ ।

आउ न साथी अगाडी मेरो
हिलोमा खेलौ है
आली र ब्याड यता र उता
रमाईलो गरौ है ।

आलीमा बसी गाईने दाई
सारंगी रेट्दैछन
नगाईदेउ पीडाका कुरा
लाहुरेनी रुनेछिन ।

आकासमा खेल्यो त्यो कालो बादल
बर्षिने बेला भो
कहि त हाँसो कहि छ रोदन
दैवको खेल हो ।

नबगाईदेउ त्यो सून्दर गाँउ
डाँडामा टुपुक्क
किन हो आँउछ विपत्ति त्यहाँ
नलैजाउ सुटुक्क ।

घिउ र खट्टे खाँदैछ कान्छो
आँगनमा नाँचेर
ती सानी छोरी बेस्सरी नाच्छिन
कम्मर भाँचेर ।

परदेशमा बस्यो सम्झि नै रह्यो
गाँउ र फाँट हो
गर्मीले टोक्दा सम्झना बोक्दा
हराउँछ आँट हो ।

१५ असार २०६६
[email protected]

Source : Kantipur Qatar

Leave a Reply

Your email address will not be published. Required fields are marked *