Skip to content

कति निर्णय यस्ता हुन्छन्, जुन गर्न सकिँदैन

  • by

उपर्युक्त वाक्यांशको जालोमा ऊ यतिबेला परिरहेको थियो । निर्णय गर्न सक्यो वा सकेन, यो पछिको कुरा । यतिबेला केवल सोच्नु र पूरा गर्नुको अर्थले रुघाले पार्ने ग्रस्तझैँ ऊ भएको थियो ।

अगाडि लथालिङ्ग कपडाहरू थिए, जसले घर अभ्यस्त र बिग्रेको सङ्केत गर्दथे भने काखमा चारमहिने छोरी उँउँ गर्दै गुनासो गरेर सम्भवतः भोक लागेको वा अप्ठ्यारो परेको सङ्केतध्वनि उमार्दै थिई । यसबाट ऊ पूरापूर पारिवारिक हुनुको अर्थ निष्पत्ति हुन्थ्यो ।

यतिसम्म त ठीकै हो । फेरि माथिको द्विविधाको अर्थ के हो त मित्रवर ? प्रश्नसँगै उसको अनुहार हेरौँ । अनुहारमा दारी सानोतिनो जङ्गलको सम्झना वा सोसरहको विम्ब उमार्ने खालको देखिन्थ्यो । ओठ कृष्णभीरको सुक्खा माटोजस्तो थियो । आँखाको उपमा खोज्न कहाँ जाने ? कथाकार असमञ्जसमा छ किनभने आँखा सुकेको पोखरी त नभनौँ, पोखरीको डीलजस्तो बाँझो थियो तर मुटु भने…?

पूरापूर आँधी आउने सङ्केतको भान पर्दै थियो । यहाँ पनि प्रश्नको धरहरा उभिन सक्छ । किन त ? उत्तरमा दृश्यहरू उभिएका देखिए ।

दृश्य १ ः उसले प्रजातन्त्र आएको समयमा नोकरी खाएको थियो ।

उपदृश्य ः त्यहीबेला उसको प्रेम भएको थियो । यो २०४६ को उत्तरार्धको कुरा हो ।

दृश्य २ ः हुन त ऊ काममा जति इमानदार र लगनशील थियो, त्यति उसले काम गर्ने कार्यालय सुशासनमा थिएन । दुष्ट, रुष्ट, भ्रष्ट र कष्ट वा सोसरहका अनेक नष्टकारीहरूको षड्यन्त्रले ग्रस्त थियो ।

उपदृश्य ः जसरी देश प्रजातन्त्रमा धरमर देखियो, त्यसरी नै प्रेमिका पनि प्रेममा होइन, धनमा डगमग र चञ्चल देखा परी ।

दृश्य ३ ः प्रजातन्त्रको मध्यमा देश जसरी बिगि्रयो, त्यसको कुख्यात छाप सरुवा रोगझैँ उसको कार्यालयमा पनि सर्‍यो र आफूलाई प्रख्यात प्रजातन्त्रवादी भन्नेले उसको इमानमा गुणस्तर छाप होइन, लान्छनाको स्ट्याम्प लगायो । फलतः ऊ मर्माहत बन्न बाध्य भयो ।

उपदृश्य ः प्रेमिका पनि किन हो, टाढा भइन् । भेट हुन छोड्यो ।

दृश्य ४ ः कार्यालय जातीयवादले ओतप्रोत खोर बन्यो । ऊ त्यसमा निरीह र निहत्था भएर खेलाडीका हातको भलिबल बन्यो । कहिले एउटाले हान्ने, कहिले अर्काले हान्ने गरेर थङ्थिलो भयो । हान्नेको अर्थ यहाँ उसको इमानमा लान्छना लगाइएको हो भन्ने ठानियोस् ।

उपदृश्य ः प्रेमिकाको कुनै धनाढ्य वृद्धसँग बिहे भएको कुरा बाजाको ध्वनि फैलिएसरि फैलिएर वा गुन्जिएर उसको कानसम आइपुग्यो ।

दृश्य ५ ः प्रजातन्त्रको उत्तरार्धमा केही कार्यालयीय षड्यन्त्रकारीको डोरीमा उसको इमान कसियो भने ऊ नोकरीबाट निकालियो । ऊ नोकरीमुक्त भयो ।

उपदृश्य ः अन्ततः ऊ प्रेमबाट पनि मुक्त भयो ।

पूर्ण दृश्य ः प्रेमको त होइन । नोकरी छोडेको दिनमा ऊ निकै हलुको भयो । ठूलो भारी, ठूलो झन्झटबाट मुक्त भएसरि । दोस्रो दिन सामान्य रह्यो तर तेस्रो दिन त्रसित हुन थाल्यो । कारण, बढ्दो उमेर र बेरोजगारी । चौथो दिन घरको भित्ताले पनि धपाउन थाल्यो । ऊ प्रेमिका बिर्सेर नोकरी खोज्न जोडतोडका साथ अग्रसर देखियो ।

यसरी प्रेमबिछोडचाहिँ उसको विगतको कुरा भयो भने बेरोजगारीचाहिँ वर्तमानकै कुरा बनिरह्यो अर्थात् ऊ रोजगारहीन थियो । त्यतिबेलासम्म अर्थात् नोकरी र प्रेमबाट बिछोड भएर हिँडेको ऊ बहुला त होइन, बेरोजगारीचाहिँ भइरह्यो । अनि, यस्तो अवस्थामा पनि नोकरी त पाइएन, पाइएन- बरु उसको बिहेको कुरा भने जोडतोडले प्राप्त हुने गरी चलिरह्यो । अन्ततः उसले पनि बिहे गर्‍यो किनभने नोकरी नपाउनेले बिहे गर्न पाइँदैन भन्ने कुनै कानुन यद्यपि छैन तर उसको त्यो बिहेपूर्ण जीवनचाहिँ एक महिनासम्म मात्रै सरस देखियो । दोस्रो महिनामा निरस बन्न थाल्यो । तेस्रो महिनामा त पूरै तिक्त भयो । कारण, अरू होइन, आमनेपालीको निम्नमध्यम पारिवारिक स्थितिजस्तै भएर घरमा कलहकी बीउ उमि्रनाले ।

पारिवारिक हुनुको यथार्थ र तिक्तता बोक्ताबोक्तै ऊ एउटी छोरीको पिता पनि बन्यो तर पनि रोजगारीयुक्त नागरिकचाहिँ हुन सकेन ।

आश्वासन र सल्लाहको खात त नववर्षको शुभकामनापत्रजस्तै प्राप्त थियो तर काम भने.. ?

ऊ निरास यद्यपि थिएन ।

सङ्घर्ष नै जीवन हो ! कसैको महान् वाणी बोकेर ऊ दौडन्थ्यो सङ्घर्ष गर्न अर्थात् नोकरी खोज्न ।

कथा, कविता लेख्थ्यो । आफूलाई साहित्यिक भन्थ्यो र साहित्यिक हुनुको फल वा पीडा पनि भोग्दै थियो बेकारी भएर तर पनि साहित्य लेखेर धेरै त होइन, दुई-चार रुपियाँ हात लाग्थ्यो । त्यसैबाट ऊ खल्तीखर्च चलाउँथ्यो । घर भने परिवार र श्रीमतीले चलाउँदै थिए, देशको सत्ता अनेक दलले चलाउँदा जस्तो भयो देश, त्यस्तै थियो उसको घर पनि । गर्ने के ?

यहीँनिर आउँछ मोड, निर्णयको ।

रातदिनको कलहले घरमा डेरा जमाउन थालेको थियो । यो कलह आर्थिक अभावले मात्र होइन, अहम्ले पनि उत्पत्ति भएको हो, यो उसको सोचाइ थियो ।

त्यसै त आफू बेरोजगार, त्यसमाथि घर झन् अरिङ्गालको होइन, कचिङ्गलको गोला । मथिङ्गल खिइनलाई यति नै पर्याप्त छ । ऊ तैपनि बीचमा थियो, न परिवार छोड्न सक्थ्यो, न श्रीमती छोड्न मिल्ने । बीचमा भर्खरकी छोरी जुन थिई, त्यसले बाँच्ने प्रेरणा त प्राप्त हुन्थ्यो । अन्यथा के छ र देशमा ? प्रश्न गर्दै कमजोर कतिपय आत्मा आत्महत्या गर्दथे भने कतिपयचाहिँ भाँडा माझ्न विदेश भाग्दथे । यस्तो दृश्य देशमा सुपरहिटका साथै चल्दै थियो भने सुपरफ्लपका साथ घरमा पारिवारिक द्वन्द्वात्मक भौतिकवाद चल्दै थियो ।

यस स्थितिमा उसलाई पनि लाग्दथ्यो- जाऊँ साले, यस्तो घृणित नश्वर संसार त्यागेर ब्रह्ममा लीन हुन अर्थात् आत्महत्या गर्न मन लाग्थ्यो । पढेलेखेको शिक्षित थियो ऊ । आत्महत्यामा हत्यालाई पन्छाएर आत्मलाई चाहिँ सान्त्वना दिन्थ्यो । त्यसका लागि थुप्रै दर्शनवादी चिन्तकहरूका महान् चिन्तनहरू थुपारेर बोक्तथ्यो । सान्त्वनाको लेपन दल्न । यद्यपि, यसमा मूल अर्थतात्विक दर्शन भने कतैनकतै मानिसभित्र एउटा कमजोर मानिसले बास बसेको हुन्छ र त्यसले जहिले पनि डर फैलाएर जित्छ । हो, त्यही मानिसले जितेर नै हो उसले आत्महत्या गर्न नसकेको । अर्को रमाइलो पक्ष्ा के पनि थियो भने जबजब ऊ आत्महत्या गर्ने मुड बनाउँथ्यो वा इच्छा उमाथ्र्यो, तबतब परिवार आँधीपछिको सामुदि्रक शान्त लहरझैँ एकदमसँग मिलेर बसेको देखिन्थ्यो । परिवार भन्नाले श्रीमती र आमाबाउ, भाइबहिनीको समूह हो । श्रीमती एकातिर, आमाबाउ, भाइबहिनी अर्कोतिर । बीचमा ऊ । एउटा दुःखी आत्मा बोकेको पात्र । द्वन्द्व- श्रीमती अलि एकलकाँटे, कसैलाई नमान्ने र अहम्को घ्याम्पो भएर बढी हो भने अर्को समूहचाहिँ सधैँ गुनासोबद्ध र कति सहेर बस्ने भन्ने प्रश्न लिएर बस्नाले हो ।

यस्तो पारिवारिक-सामाजिक चलचित्रको नायक ऊ बनेको थियो भने अर्को स्थितिमा अनायकचाहिँ ऊ बेरोजगार भएर देखिन्थ्यो । जीवन सोचेजस्तो होइन- देश, परिवार र नियतिले ग्रसित भएर चलिरहेको थियो ।

यी दुई पाटामा पिस्तापिस्ता उसले धेरै निर्णय लियो ।

निर्णय १ ः घर छोडेर भाग्ने ।

निर्णय २ ः भागेर विदेश जाने वा जोगी बन्ने ।

निर्णय ३ ः जोगी बन्नु उपयुक्त थियो किनभने विदेश जान भिसा चाहिन्थ्यो भने भिसा लिन रुपियाँ ।

निर्णय ४ ः माथिका निर्णय केही पूरा नभएपछि भिसाको सट्टा घरमै बसेर आफ्नी छोरीको दिसा पखाल्न थाल्यो भने रुपियाँको सट्टा उपियाँले टोक्न थाल्यो ।

निर्णय ५ ः अन्ततः यसबाट पनि पार नलागेपछि फेरिफेरिको प्रयास पुनरावृत्ति गरेर आत्महत्या गर्ने मन गर्‍यो र सुसाइट नोट अर्थात् आत्महत्याको कागते पृष्ठ लेख्न थाल्यो ।

पूर्ण निर्णय ः यो निर्णय यस कठोर, निर्दयी देशमा आफू बेकारी, बिग्रेको पारिवारिक सम्बन्ध र निरीह एवम् निहत्था भएर गरिएको हो ।

यस्तो सुसाइट नोट लेखेपछि उसले विश्वव्यापी चेतनालाई सम्झन थाल्यो । आफ्ना कथालाई सम्झन थाल्यो । आफ्ना पात्रलाई सम्झन थाल्यो । आफ्नी प्र्रेमिकालाई सम्झन थाल्यो । आफ्नो देशलाई सम्झन थाल्यो । धेरैलाई सम्झन थाल्यो । बिर्सेको कुरालाई सम्झन थाल्यो । यी सबै सम्झना लिन ऊ बिहानै घरबाट निस्केको थियो । घुम्दा-घुम्दै ऊ एउटा ठाउँमा पुग्यो, जहाँ ऊ बाल्यकालदेखि नै जान चाहन्थ्यो अर्थात् ऊ यस्तो ठाउँमा गएर मर्न चाहन्थ्यो, जहाँ ऊ कहिल्यै गएको नहोस् र जहाँ जीवनमा एकपल्ट मात्र पुगेको होस् । जीवनको अन्तिम चरणमा नै भनौँ, मर्नलाई । देश त के गथ्र्यो कुन्नि, साथीभाइ उसको यस्तो कुरामा ठट्टा गरेर रमाइलो मान्थे । ऊ सोच्थ्यो- सालेहरूलाई परेको भए पो थाहा लाग्थ्यो, मान्छे किन आत्महत्या गर्न तम्सन्छन् ?

त्यो अन्तिम चरण भनेको आजैको दिन जस्तो अर्थात् आत्महत्या गर्न हिँडेको दिन र त्यो ठाउँ भनेको पहाडको चुचुरो, जहाँ बादलैबादल घेरिएको होस् ।

त्यस्तो ठाउँमा ऊ आज पुग्यो, एक्लै । उसले त्यस ठाउँमा पुगेर आफ्नो सुसाइट नोटमा यो वाक्यांश पनि थप्यो- संसार क्ष्ाणभङ्गुर होइन, मान्छेको जीवन क्षणभङ्गुर हो । मान्छे प्रकृतिको देन हो भने एक दिन ऊ प्रकृतिमै विलीन हुनैपर्छ, जस्तो आज म हुँदैछु । दोष कसैलाई नदिइयोस्- न देशलाई, न कार्यालयका षड्यन्त्रकारीहरूलाई, न दुष्ट र रुष्ट भएका मित्रहरूलाई, न परिवारलाई, न प्रेमिकालाई, न प्राप्त सान्त्वना मात्रलाई, न बेकारी स्थितिलाई ।

यसपछि खल्तीबाट दुइटा वस्तु निकालेर अगाडि राख्यो । एउटा धारिलो चक्कु, अर्को कलम । अनि, ती दुवै वस्तुलाई उसले कम्तीमा पनि एक घण्टाका दरले हेरिरह्यो । कहिले जित्ने हो ? निर्णय गर्न नसकेर उसले आँखा चिम्लियो । आँखा चिम्लेरै विस्तारै हात बढायो, ती दुई वस्तुमध्ये एकलाई समात्न र समात्यो एउटा वस्तु । आँखा खोलेर हेर्‍यो । अनि दङ्ग पर्‍यो किनभने त्यस हातमा कलम परेको थियो । उसको मनमा कता हो कता एउटा झन्झट, एउटा बोझ हटेझैँ अनुभव भयो । यहाँ पनि मर्नुको डरले जित्यो । बाँच्नुको प्रेरणाले बचायो । अनि, एकक्षण पनि खर्च नगरेर त्यो कलमले आफ्नो सुसाइट नोटमा अर्को वाक्यांश थप्न थाल्यो- मान्छेले कतिपय निर्णय चाहेर पनि लिन वा गर्न सक्तैन । त्यस्ता कतिपय निर्णय नै यस्ता हुन्छन्, जुन गर्नै सकिँदैन । त्यस्तोमा म परँे । मैले मृत्युलाई जितेँ । कारण, म आत्महत्याको विम्बमा पुग्न खोज्दा मैले आफ्नी सानी छोरीको अबोध मुस्कानले छेकेको पाएँ र त्यो नै मेरो यथार्थमा बोधिसत्त्व सावित भयो । यसैले म फर्केर आएँ र यस घृणित संसारमा अझै सङ्घर्ष गर्न तयार छु ।

यति लेखेर ऊ घर फर्कियो । हतारले नै भनौँ । हिँड्दा बाटोमा एउटा निर्णयचाहिँ उसले गर्‍यो, त्यो के भने आफ्नो त्यो सुसाइट नोटलाई कथा बनाएर छाप्नेछ तर महोदय, त्यो कथा यो होइन, भविष्यमा कुनै अन्य तरिकारले छापिनेछ । यो निर्णयचाहिँ पक्का भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *