Skip to content


हाम्रो आफ्नो वेद छैन हजुर बा ? उनीहरूको जस्तै हाम्रो पनि आफ्नै वेद छैन ?

“के भन्छ यो ?” हजुरबाले विद्यालयमा पाँच कक्षा पढिरहेको नाति रिठ्ठेतिर हेर्दै भन्यो- “के कुरा गर्‍या तैँले ?”

“आज विद्यालय चाँडै छुट्टी भो’ ! विद्यालयमुनि बराजुको घरमा कथा लाग्या छ नि ! म पनि हेर्न सुन्न गा’थेँ । पर्खालमा बसेर सुनेँ । कथामा वेदका कुरा आ’थ्यो । बराजुहरूको वेद छ रे ! वेदमा ज्ञानगुणका कुरा छन् रे ! मान्छे कसरी बुद्धिमान हुन्छ सबै कुरा वेदमा छ रे ! त्यो वेद जनै लगाउने बराजुहरूले मात्रै पढ्न सुन्न हुन्छ रे ! मलाई पनि जनै लाइदिनुस् न । म पारिघरे पण्डित बराजुकोमा वेद पढ्न जान्छु, हुन्न हजुरबा ? मलाई पनि ज्ञानगुण पढेर बलियो हुन मन छ । बुद्धिमान हुन मन छ । मलाई पनि बराजु हुन मन छ । हुन्न हजुरबा ?” बेलुका आरनमा कामका औजार ठाउँ-ठाउँमा तह लगाएर राख्न लागेका गुन्जमान कामीसित रिठ्ठेले सोध्यो । नातिका कुरा सुनेर गुन्जे डरायो । कलिलैमा यो नाति बहुलाउन त लागेन ? कामी भएर जनै लाउने, वेद पढ्ने कुरा गर्छ ? बहुलायो भने के गर्ने ? लक्का जवान छोरो गोल पोल्न जाँदा जङ्गलमा अरिङ्गालले टोकेर मर्‍यो । यो एउटा फूलको बिरुवा ! लाहुरे जेठाले पढाउनुपर्छ भनेर हप्काए । पढ्न पठाएँ । अब के गर्ने ?

हजुरबा ट्वाल्ल परेको चाल पाएर रिठ्ठेले थप चासो राख्दै सोध्यो- “किन हजुरबा ? वेद पढेर मैले बुद्धिमान बन्न हुँदैन ? म बुद्धिमान बनेँ भनेँ ठाउँ ठाउँ जान्छु । बुद्धिको काम गर्छु । धन कमाउँछु । तपाईंले आरनमा काम गर्न पर्दैन नि ! यति बुढो हुँदा पनि तपाईंले घन चलाएको देख्दा मलाई तपाईंको माया लाग्छ ।”

नातिका कुरा सुनेर गुन्जका आँखामा आँसु भरियो । चिमिक्क चिम्लेर आँसुका ढिक्का बाउलाले पुछ्दै गुन्जले भन्यो- “उनीहरूको वेद हामीले पढ्न सुन्न हुँदैन बाबै ! सुन्यो भने बहुलाइन्छ भन्छन् ।”

“त्यो त मैले पनि सुनेँ । कथामा त्यो कुरा पनि भनेका थिए । त्यही सुनेर त मैले तपाईंसित सोध्या’ नि ! भन्नुस् न हाम्रो आफ्नो चाहिँ वेदै

छैन ? छ भने अक्षर जानेकै छु । कसैले नपढाए म आफैँ पढ्छु । हाम्रो वेद पढेर त बहुलाइँदैन होला नि ! बराजुका जस्ता नबुझिने भाषामा पनि छैन होला हाम्रो वेद ।”

नातिका कुरा सुनेर गुन्ज थप डरायो । यो त अहिल्यै बर्बराउन थाल्यो के गर्ने ? जान्नेकोमा लानुपर्छ क्यारे । गुन्जले लिङ्गेधामी सम्झ्यो । लिङ्गेले धामी बसेर कार्मी कान्छालाई ‘बोल् बोल्’ भन्दै बकाएको सम्झ्यो । कुन चाहिँ बदमासले मेरो नातिलाई बहुलठ्ठी सल्काइदिएछ ।

“गुन्जे दाइ ! मेरो फाली बनिसक्यो त ?” अचानक आरनमा उभिन आइपुगेका खोल्चे लाउरेको आवाजले गुन्ज झसङ्ग भयो । हेर्दै भन्यो- “ओहो, ढुङ्गो खोज्दा देउता भेटियो । तपाईं त देश परदेश गएको जाने बुझेको मान्छे । मेरो यो नाति पाँचमा पढ्छ । यसले आज कहाँ के सुन्यो कुन्नि ? वेद पढ्छु भन्न थाल्या छ । यसलाई कहाँ लगेर ठीक पार्ने ? झाँक्री साहिँलाकोमा लाने कि ? उसले वन झाँक्रीसँग पनि सिकेको रे, हैन ?”

“कुरा के हो भन त बाबु ?” – लाहुरेले रिठ्ठेको काँधमा हात राखेर आत्मीयता जनाउँदै सोध्यो । रिठ्ठेले मेसैसित आफ्नो कुरा भनेपछि लाहुरे मुक्त कण्ठले हाँस्यो । गुन्जलाई अचम्म लाग्यो । यो लाहुरे त हामीजस्ताको भलो गर्ने मान्छे थियो । भबकाजीले साइतमा म देखिएँ भनेर ठाँटीको मूल बाटोमा मलाई कुट्न झम्टँदा यसैले छेक्या’थ्यो । काजीलाई कुरैकुराले र्‍याख्र्‍याख्ती पार्‍या’थ्यो ।

“गुन्जे दाइ, तपाईं किन डरा’को ? रिठ्ठे बिरामी भा’को त हैन नि ! यो त ज्ञानको भोक जागेको हो । हामीलाई बेलाबेला पेटको भोक जागे जस्तै यसको टाउकोमा ज्ञानको भोक जाग्यो । यसलाई आफ्नो वेद खोज्न र पढ्न मन लाग्यो । मैले लाहुरमा छँदा एकजना भयङ्कर पण्डित कामी भेटेको छु । उनको भाषण सुनेको छु । उनलाई वेद पुराण धर्मशास्त्र सबै कण्ठ थियो । उनको अगाडि कुनै बराजु आँऽ गर्न सक्दैनथ्यो । उनी भन्थे ‘वेद सबैले पढ्न हुन्छ । त्यसमा राम्रा ज्ञानका कुरा छन् भने सबैले लिन हुन्छ । मानिसलाई अछुत भन्ने र वेद पढ्न नदिनेहरू अपराधीहरू हुन् । ज्ञान पनि कसैले पाउनहुने कसैले पाउन नहुने भन्ने कुरा हुन्छ र ? त्यस्तो हुँदै हुँदैन । हुनै हुँदैन । बरु हामीले बुझ्नुपर्ने नयाँ कुरा के छ भने त्यो पुरानो वेद पुराणले आज हाम्रो काम चल्दैन । हामीले सङ्घर्षमा उत्रेर आफ्नो लागि वेद आफैँले लेख्नुपर्छ । नयाँ वेद लेख्नुपर्छ । नयाँ वेद लेख्नका लागि पुराना वेदहरू पनि पढ्न चाहिँ पर्छ । हामी पढौँ । भेटे जति पढौँ । संसारमा ज्ञान गुनका जति किताप पाइन्छन् सबै पढौँ र आफ्नो वेद आफैँ लेखौँ ।’ मैले अहिले रिठ्ठे बाबुका कुरा सुनेर ती पण्डितलाई सम्झेँ । तिनको भाषण सम्झेँँ । हेर्नुस् गुन्जे दाइ, यो बाबु भोलि गएर हाम्रो मुलुकका त्यस्तै ठूला मान्छे बन्ने छाँट पो देखेँ मैले त !” बोल्दाबोल्दै आवाजको गति मन्द पार्दै लाहुरेले भन्यो- “मसित धन हुँदो हो त म यी बाबुलाई पढ्न उतै पठाइदिन्थेँ ।”

यो आजभन्दा पैंतीस-चालीस वर्ष अगाडिको संवाद-घटना हो । राजधानीको नजिकै जिल्लाका गाउँको घटना हो । आज त्यस गाउँमा गुन्जकामी र खोल्चे लाहुरे दुवै छैनन् । हजुरबा बितेपछि आमा लिएर रिठ्ठे कलिलै उमेरमा सहर पस्यो । धेरै हण्डर खायो तर कहिल्यै हरेस खाएन । काम खोज्दै कति कारखानामा पुग्यो । कतिमा खटेर काम गर्‍यो । जतिसुकै खटेर काम गर्नुपर्दा पनि रिठ्ठेले पढ्न छाडेन । बालाजुमा डेरा गरी बस्ने रिठ्ठे पढ्नको लागि बेलुका नक्साल पुग्थ्यो । त्यसताका काठमाडौंमा रात्रि हाइस्कुलहरू धेरै थिएनन् ।

दुःखमा पिल्सेको शरीर । त्यसमा पनि दमको रोगी । काठमाडौंको चिसो कोठा तताउने साधनको अभाव । आमा गौंथलीले आफ्नो होनहार असल छोरा रिठ्ठेलाई धेरै वर्ष साथ दिन सकिनन् । माघमा एसएलसीको जाँच थियो । त्यसै वर्ष पुसमा गौंथली बितिन् । बित्नुअघि पीडा दबाउँदै सासको भाषामा गौंथलीले भनेकी थिइन्-“रिठ्ठे मेरो प्यारो छोरा तिमी जस्तै परे पनि पढाइ नछोड है ! तिमीले पढेर सिकेर यस मुलुकको ठूलो मान्छे बन्नुपर्छ । खराब चलन उखेलेर असल चलन रोप्ने हुर्काउने मान्छे बन्नुपर्छ । आफ्नो वेद आफैँ लेख्न सक्ने मान्छे बन्नुपर्छ ।”

आमाका इच्छा सुनेर रिठ्ठेका मुटुमा गाँठो परेको थियो । कष्टका बेला आमालाई अरू कष्ट नथपियोस् भनेर ऊ रुन सकेको थिएन । घुँक्क हुनलागेकालाई रोक्दै सम्हालिँदै रिठ्ठेले भनेको थियो- “आमा म पढ्छु । धेरै धेरै पढ्छु । म असल मान्छे बन्छु । अहिले तपाईंको रोग निको पार्न सकिनँ । राम्रा ठाउँमा पुर्‍याएर उपचार गर्न सकिनँ । मलाई यसको घिड्घिडो छ आमा । म यो बिर्सन्नँ । म भोलि तपाईं जस्ता लाखौँ आमाको दुःखकष्ट हटाउनसक्ने छोरा बन्छु । नेपाल आमाको दुःखकष्ट हटाउन सक्ने छोरा बन्छु बन्छु आमा, म रातदिन खटेर पढ्छु सिक्छु । म मेरी आमाको इच्छा पूरा गर्छु ।”

छोराको आश्वासन सुनेर सास जाने बेला पनि गौंथली मुस्कुराएकी थिइन् । आमाको त्यो सन्तोषको अनुहार रिठ्ठेको सम्झनामा अहिले पनि ताजा छ ।

यसैबीच समय फेरिएको छ । ठूला ठूला जनसङ्घर्षका क्रममा जनताको सोच समयमा पनि परिवर्तन आउन थालेको छ । रिठ्ठे अर्थात्् रिठ्ठे कामी अहिले नेपालका ठूला विद्वान् समाजसेवीमध्येको अगाडि गनिने नाम बनेको छ । जनसङ्घर्षका नायकहरू मध्ये गनिने नाम अगाडि बनेको छ । ऊ प्राध्यापन गर्छ । राजनीति पनि गर्छ । उसमा ज्ञान गुनको गहिराइ देखेर विद्यार्थीहरू हुरुक्क हुन्छन् । भाषण गर्दा लाखौँको जनसमूहलाई जुरुक्क पार्न सक्छ रिठ्ठे । सादा जीवन उच्च विचार । यस भनाइको नमुना जस्तो छ रिठ्ठे । गाउँमा पुगेको बेला रिठ्ठे अहिले पनि हजुरबा र लाहुरे काकाको कुरा गर्छ । तिमीहरूका नाममा रिठ्ठेले आफ्नो जग्गा-जमीन बेचेर जेहेनदार छात्रवृत्तिको लागि त्यहाँका स्कुलको खातामा पैसा राखिदिएको छ । रिठ्ठेले यति ठूलो मान्छे हुँदा पनि आफ्नो नाम उपनाम केही फेरेको छैन । यसै नाममा गर्व गर्छ ऊ । रिठ्ठे कुनै एउटा जात जातिलाई मात्र होइन सारा नेपाल र नेपालीलाई माया गर्छ । रिठ्ठे अहिले नेपाली जनतासित मिलेर जनताको वेद लेख्ने अभियानमा लागेको छ । ऊ अहिले जनताका संविधान जनताबाट लेख्ने लेखाउने महान् अभियानमा लागेको छ । अहिले पनि ऊ जोड दिएर भन्छ- त्यसै कहाँ लेखिन्छ र जनताको वेद ? जनताको ठूलो सङ्घर्ष र आन्दोलनले मात्र लेखिन्छ । क्रान्तिले लेखिन्छ । यो काम गर्न धेरै वर्ष लाग्न सक्ला तर एकदिन त्यो लेखिन्छ । हाम्रो अतीत उज्यालो थिएन र वर्तमान पनि झलमल्ल छैन । भविष्य भने उज्ज्वल छ- जनताको भविष्य उज्ज्वल छ । हामी त्यही उज्ज्वल भविष्यका लागि नयाँ वेद लेख्दैछौं ।

3 thoughts on “नयाँ वेद”

  1. kati ramro ra man chhune
    kati ramro ra man chhune rahechha.Sachi copy garer credit ka satha patrika ma chhapna milchha ki nai!!
    Anyway lekhakjyulai dherai dharai Dhanyebaad!!!

  2. यो देश मा म बच्न चाहन्छु . तर
    यो देश मा म बच्न चाहन्छु . तर मलाई यो देश ले बच्न दिएन
    तर मैले बिर्सेछु कि यो देश मा जनबर बएक बच्ने अदिकार छैन .

Leave a Reply

Your email address will not be published. Required fields are marked *