Skip to content


मालिकहरूको तरबारले
टाउको काट्छ कि फूल ?
भ्रममा परेँ म
हजुरहरूको बन्दुकले
विचार ढाल्छ कि मान्छे ?
भ्रममा परेँ म
यस राज्यलाई
प्रजाले बनायो कि राजाले ?
भ्रममा परेँ म ।

त्यतिबेला कवि श्रवण मुकारुङले कथेको यस कविताले साहित्यिक जमातहरूमा मात्र होइन, आमजनमानसमा समेत तरंग ल्याएको थियो । श्रवणले इतिहासको एउटा सामान्य पात्र बिसे नगर्चीलाई कवितामा ब्यूँझाएर समग्र देशकै विचलन र अव्यवस्थाको हृदयस्पर्शी चित्रण गरेका थिए । जनआन्दोलनअघि नेपालमै छापिएको यस कवितालाई उछिन्ने अर्को कविता त्यसपछि जन्मिएन । आन्दोलनको सेरोफेरोमा राजाको शासनका विरुद्धमा थुप्रै साहित्यिक-सांस्कृतिक कार्यक्रमहरू भए । धेरै कविले अनेकौँ कविताहरू वाचन गरे । तर, श्रवणको ‘बिसे नगर्चीको बयान’को प्रभाव र स्तरको उचाइभन्दा माथि उक्लन सक्ने कविताहरू सुनिएनन् ।

२००७ सालको क्रान्तिताका कवि गोपालप्रसाद रिमालले लेखेको ‘एक जुगमा एक दिन एकचोटि आउँछ’ कविताले त त्यस समयदेखि आजसम्म नेपाली काव्य संसारमा हलचल ल्याई नै रहेको छ । तर, कवितामा भनेझैँ सम्पूर्ण समाजलाई एउटै सिर्जनामा बाँध्न सक्ने रचना भने साँच्चि नै एक जुगमा एकपल्ट मात्र आएको अनुभूति हुन्छ ।
०३६ सालको जनआन्दोलनका बेला कवि हरभिक्त कटुवालले लेखे ः
बन्धन र बाध्यतामा बाँच्नु पनि के बाँच्नू ?
आँसु लुकाई गहमा हाँस्नु पनि के हाँस्नू ?

साँच्चै भन्ने हो भने ०३६ को कालखण्डपछि ‘६० को दशकसम्म अनेकौँ कविहरू जन्मिए र तिनका कलमले गन्तीहीन कविताहरू रचे । कविता स्तरका दृष्टिले फितलै भएका पनि होइनन् । तर, आमपाठक, जो साहित्यिक शिल्प र सौन्दर्यसँगै आफ्नो समयलाई पनि बुझन् कविता पढ्छ, त्यस्ता पाठकलाई सम्झाइरहने सारै थोरै कविता लेखिए । त्यसैले, ००७ सालको कवि रिमालको ‘एक जुगमा…’ र ०३६ सालको हरभिक्तको ‘बन्धन र बाध्यता’पछि एकैचोटि लामो समयलाई फड्को मारेर जन्मेको कविता हो, मुकारुङको ‘बिसे नगर्ची…’ ।

कविता नलेखिएका होइनन् । झन् ०४६ पछि त कविताहरूको ओइरो लाग्यो । “अहिले त कविहरूको पल्टन छ, राष्ट्रियता र प्रजातन्त्रका पक्षमा यिनीहरूले पल्टनी गररिहेछन्,” ०४६ सालको ‘सडककविता-क्रान्ति’का एक आन्दोलनकारी, कवि भवानी घिमिरे भन्छन्, “अब राज्यको रक्षा सेनाले होइन, कविले गर्छन् ।” तर, तिनका कविताले पल्टनी नगरेको धेरै भयो ।

“मानिसको ध्यान तान्ने मार्मिक कविता नलेखिएका हुन् या मार्मिक कवितामा मानिसको ध्यान केन्दि्रत हुन नसकेर हो तर प्रतिनिधिमूलक कविता सुन्न नपाएको धेरै भयो ।” समालोचक कृष्णचन्द्रसिंह प्रधानका यी भनाइले नेपाली कविताको पाठक र कविलाई नङ-मासुको साइनोमा गाँस्ने क्रम भंग भएको अनुभव हुन्छ ।

‘३० को दशकदेखि झन्डै ‘४० को अन्त्यसम्म कविहरूमा आपसी भेटघाट र भलाकुसारी बाक्लै हुने गर्थ्यो । एकअर्काका कविता सुन्ने र विचार साट्ने परम्पराले नेपाली कवितालाई एउटा न्यानो बाटोमा स्नेहपूर्वक डोर्‍याउने काम गररिहेको थियो । नयाँसडकको पीपलबोटमुनि हरेक सन्ध्या साहित्यकारहरूको जमघट हुने गर्थ्यो । यसले सिर्जनामा लाग्न मात्र होइन, एउटा स्रष्टालाई अर्को स्रष्टासँग जोड्न पनि सघाइरहेको थियो । “त्यसबेलाका केही ठाउँ र वातावरणले सर्जकलाई आपसमा गाँसेको थियो,” कवि घिमिरे सम्झन्छन्, “तर, व्यस्तता र समयको अभावका कारण आज त्यो क्रम समाप्त भयो ।”
कवि श्रवण मुकारुङका विचारमा कथित ‘वाद’ र ‘गुट’ले विभाजनका रेखा कोरेका हुन् । “यो सिर्जनाको शून्य समय हो, के लेख्ने भन्ने दोधार छ कविलाई ।” श्रवण आफ्ना यी भनाइहरूसँग के पनि थप्छन् भने गोपालप्रसाद रिमालको ‘एक जुगमा एक दिन’, हरभिक्तको ‘बन्धन र बाध्यता’ या उनी स्वयंको ‘बिसे नगर्ची’ होस्, विशेष अवस्थामा जन्मिने सिर्जना हुन् । त्यसैले यस्ता कालजयी सिर्जनाहरूको सधैँ अपेक्षा गर्नु उचित छैन ।

हो, विचार र अभिव्यक्तिले शासन गररिहेको आजको जमानामा कविताले मानिसको विचारलाई आफ्नै शैलीमा भुटिरहेको हुन्छ । कविताले मानिसलाई विचारमा बाँधेर भूमण्डलीय दृष्टिकोणको व्यापक क्षितिजतर्फ डोर्‍याउँछ । तर, नेपाली कवितामा धीत मर्ने पुरानो रसमा भिज्दै आएको त्यो पुस्ता वा त्यस कालखण्डलाई नजिकबाट अध्ययन गर्दै आएको यो पुस्ता आजको सिर्जनाबाट तृप्त हुन सकिरहेको छैन ।
किन त ? “पहिलो त भेटघाटको उपयुक्त थलोको अभावले नै यसो भएको हो,” प्रधान सम्झना गर्छन्, “त्यसबेला रन्जना गल्लीको रश्मि रेस्टुँरा या पीपलबोट, मोनआमी भिडियो पसलछेउको सानो चिया पसल होस्, त्यहाँ गएर कवि-लेखकहरू आ-आफ्ना अभिव्यक्ति साटासाट गर्थे ।” यी पक्षहरूको अनुपस्थितिले आजको समयचेतनाको उर्वरता र प्रविधिको विकास अनुकूल सिर्जनाहरू जन्मिन सकिरहेका छैनन् ।
कवितै नलेखिएको अवस्था पनि होइन र सशक्त कविताहरू पनि आइरहेका छैनन् । तर, कवि गोपालप्रसाद रिमालको ‘एक जुगमा एकचोटि’को आशय घिस्रिघिस्री हिँडिरहेको छ । सुन्दा या पढ्दा नै मानिसलाई मनमस्ितष्क उचाल्ने कविताको अभाव छ अहिले । “छोटोमा पनि धारलिो कविता आउन सकेको छैन ।” समालोचक प्रधानका विचारमा ‘सुन्न नचाहँदानचाहँदै पनि सुन्न कर लाग्ने’ कविता आउन सकेनन् ।
‘सडककविता क्रान्ति’का एक सशक्त योद्धा अशेष मल्ल त्यसबेला उनीहरूका कविता सुन्न एउटै श्रोता विभिन्न ठाउँमा आउने गरेको अनुभव सुनाउँछन् । उनका विचारमा त्यसबेला पञ्चायतको क्रूर चरणमा कविताले नै मुक्तिका लागि शंख फुकेको थियो । मुक्ति खोजिरहेका जनता कवितामा सानो विरोध आउँदा पनि जुर्मुराउँथे । शासकहरू पनि सानो कुरामा उत्तेजित हुन्थे । विषयवस्तुका हिसाबले त्यसबेलाका कविताहरू सशक्त भएको ठान्छन् मल्ल ।

आज पनि सशक्त कविताहरू त लेखिँदैछन् । कवि भूपीको डोबमा पाइला राख्दै अघि बढेको पुस्ता-कवि चेतना र अभिव्यक्तिका रूपमा पहिलेकै तुलनामा परिस्कृत रूपमा आइरहेको छ । तर, समाजलाई नै आन्दोलित पार्ने र एउटा युगलाई नै डोर्याउने अर्थमा सारै थोरै कविताहरू आइरहेछन् । कतै कविता अर्को कुनै युगको प्रतीक्षामा त छैन ?

नेपाल साप्ताहिक ३५५

Leave a Reply

Your email address will not be published. Required fields are marked *