Skip to content


हजुरबुबा-हजुरआमाहरू काशीवास गरिरहनुभएकाले एसएलसीपछि मलाई बनारस पठाउने निर्णय गरियो । तर, मैले अन्नपानी छाडेर काठमाडौँ जाने ढिपी लिएँ । यसरी २०१३ सालमा म धरानबाट काठमाडौँ पसेँ । पुगेको भोलिपल्टै साइकल लिएर बालकृष्ण समको घर खोज्न निस्किहालेँ । निकै चक्कर लगाएपछि बल्लतल्ल पत्ता लाग्यो । ढोकाको सिरानमा कविता लेखिएको थियो । घन्टी बजाएपछि ढोकाको आँखाबाट कसैले चियायो । केही समयपछि त्यही आँखाले भोलिपल्टको समय दियो । तर, हर्षोल्लासमा मैले आएको बाटै बिर्सिएँ । नक्साल पुग्ने कसरी ? नक्सालको बाटो थाहा थिएन । कसोकसो एक जना परििचत टुप्लुक्क आइपुगे र म त्यसदिन हराउनबाट जोगिएँ । दोस्रो दिन ठीक समयमा पुगेँ । ढोका खुल्नु के थियो, मलाई जादुनगरीमा पुगेजस्तै भयो । तराईको ठिटो मैले त्यस्तो बैठक जीवनमा देखेको थिइनँ । भित्तामा ठूलठूला चित्रहरू । जीवन्त देखिने बाघ, हरनि र अर्नाका आकृतिहरू । सजाएर राखिएका कलाकृति । मधुरो प्रकाशमा घरी मुख बाइरहेका बाघतिर हेर्थेँ, घरी जङ्गी लिबासका तस्बिरतिर । यत्तिकैमा तगुवा भोटो-सुरुवाल लगाएर समज्यू झुल्कनुभयो । उहाँको ‘मेकअप’ गरेको अनुहार देखेर म हेरेको हेरै भएँ । नाटकीय हाउभाउ, अभिनयजस्तो बोलाई । रामलीलाको कुनै पात्रले संवाद बोलेझैँ लाग्यो । उहाँले नै केही ल्याउनुभएको छ भनेर सोधेपछि विस्तारै खल्तीबाट कापी झिकेर केही गीत र कविता सुनाएँ । त्यसपछि पूरै बैठक घुमाएर कलाकृति देखाउनु भयो । सँगै बसेर चिया खायौँ । जाने बेलामा तपाईं जहिले आए पनि हुन्छ भनेर बिदा गर्नु भयो । खुसीले मेरो भुइँमा खुट्टा थिएन । त्यो दिन मलाई काठमाडौँ साह्रै राम्रो लाग्यो ।

नभन्दै काठमाडौँ अहिलेभन्दा बेग्लै थियो । सडकका दुवैतिर शीतल छहारी दिने रूखहरू । टोलैपिच्छे ढुङ्गेधारा । हरिया खेतबारी । आँखाले नभ्याउने हरियो टुँडिखेल । न धूलो, न धूवाँ । स्वच्छ पर्यावरण । सबै ठाँटिएर कि त पैदल कि साइकलमा हिँडिरहेका । जेठ-वैशाखमा पनि घरभित्र पसेपछि शीतलताको अनुभव हुने । राती त सिरक नै चाहिने । वास्तवमा भन्ने हो भने भारतीय प्रभावमा हुर्किएको मलाई काठमाडौँले नै पहिलोपल्ट राष्ट्रियताको अनुभूति दिएको थियो । हाम्रो पनि राष्ट्रिय पोसाक, आफ्नै मुद्रा, आफ्नै रेडियो र सङ्गीत छ भन्ने कुरा मैले काठमाडौँ आएर थाहा पाएँ । असन, इन्द्रचोकमा लक्कु अगाडि राखेर सटही गर्नेहरू बसेका हुन्थे । कहिलेकाहीँ त भारतीय रुपियाँभन्दा नेपाली मुद्रा महँगो हुन्थ्यो । जुद्धसडक, असन, इन्द्रचोक जानुपर्‍यो भने सहर जाने भन्थे । साँझ नपर्दै घर फर्कनेहरूको ताँती लाग्थ्यो । आठ बज्दानबज्दै काठमाडौँ सहर मस्त निद्रामा निदाइसक्थ्यो । घडीको उस्तो चलन थिएन । घन्टाघर र तोप पड्केको आवाजले समयको सूचना दिन्थ्यो । सस्तो काल थियो । हामी बसेको दुईतले घर र चार रोपनी जग्गा जम्मा १२ हजार रुपियाँमा किनिदिनोस् भनेर घरपट्टी जोड गरिरहन्थे । अहिले त्यहाँ आनाको ३४ लाख रुपियाँ पर्छ ।

वास्तवमा मेरो अर्को धोको गायक बन्ने थियो । नातिकाजी, शिवशङ्करहरूकहाँ गएर गीत पनि सुनाएँ । तर, जब एक्लो कोठामा झुन्डिएको माइकसामु गएर स्वरपरीक्षा दिने कुरा आयो, म टाप कसेँ । अर्को कुरा, त्यसबेलाको काठमाडौँ कवितामय थियो । एउटै थलोमा लेखनाथ, देवकोटा, सम, सिद्धिचरणदेखि लिएर विजय मल्ल, भूपी शेरचन, भीमदर्शन रोका आदि युवाकविहरूको कविता सुन्न पाइन्थ्यो । यो सब देखेपछि गीतमा भन्दा कवितामा महत्त्व र सम्मान पाइँदोरहेछ भन्ने मलाई लाग्यो । मैले काठमाडौँ आएपछि गाउन मात्र होइन, गीत लेख्न पनि छाडिदिएँ । आफूलाई कवितामै केन्द्रित गराएँ ।

सबै वरिष्ठ कविहरूको घरघर गएर कविता सुनाएँ । लक्ष्मीप्रसाद देवकोटा त्यसबेला बिरामी भएर ओछ्यान परसिक्नुभएको थियो । त्यसैले दुई-तीनवटा कविता सुनाएपछि म रोकिएँ । तर, इसाराले अरू पनि सुनाउन भनेपछि मैले कापीमा भएजति सप्पै सुनाएँ । टाउको माथि हात राखेर मलाई आशीर्वाद दिनुभयो । मेरो दाइलाई यो मान्छे धेरै माथि पुग्छ भनेर विस्तारै भन्नुभयो । त्यो क्षण म कहिल्यै बिर्सन सक्दिनँ । तर, कोठामा जति प्रशंसा पाए पनि मैले गोष्ठीहरूमा प्रवेश पाइनँ । धरान, विराटनगरमा त मलाई सबैले चिन्थे, बोलाउँथे । काठमाडौँ आएर त म भीडको अज्ञात छाया भएको थिएँ । थाहा पाएसम्म खोजीखोजी गोष्ठीहरूमा पुग्थेँ । तर, अरूको कवितामा थपडी बजाएर फर्कनु मेरो नियति थियो । पछिपछि त नियास्रो पनि लाग्न थालेको थियो । नयाँ लेख्ने जाँगर पनि हराउँदै गइरहेको थियो । चोकटा खान गएको झोलमा डुबेको झैँ भएको थियो । त्यसबेला काठमाडौँ यति उदार भइसकेको थिएन । महानगरीको संस्कार आइसकेको थिएन । अधिकांश उपत्यकावासीले थानकोटपारि देखका थिएनन् । त्यसैले काठमाडौँ आफूलाई मात्र सभ्य र सहरिया सम्झन्थ्यो । अरू कि त मधिसे हुन्थे कि त काँठे । मेरो कालो रङ र तराईको लिबास देखेर कहिलेकाहीँ होच्याएर कुरा गर्थे । हेला र उपेक्षा पनि सहनुपर्थ्यो । विस्तारै मभित्र काठमाडौँको आकर्षण हराउँदै गइरहेको थियो । म कुहिरोको काग भएको थिएँ । यहाँको साहित्यिक मण्डलीसित मेरो कुनै सम्पर्कसूत्र थिएन । यहाँ आएर मैले धेरै सङ्घर्ष गरेको छु । धेरै हन्डर खाएको छु । तर, यसैबीच त्रिचन्द्र कलेजबाट निस्कने ज्योति पत्रिकाले अन्तरकलेज साहित्यिक प्रतियोगिता गर्ने भयो । मलाई ‘के खोज्छस् कानो आँखो’ जस्तै भयो ।

प्रतियोगितामा मेरो ‘मायाको प्रदेश’ नामक कविता प्रथम भयो । निर्णायक मण्डलमा बालकृष्ण सम, बालचन्द्र शर्मा, नेपाली विभागका प्रमुखहरू थिए । राजा महेन्द्रको हातबाट पुरस्कार पाएँ । त्यो कविताले गोष्ठीहरूमा प्रवेशको ढोका खुल्यो । पत्रपत्रिकामा कविता प्रकाशित हुनथाले । समज्यूसितको सामीप्य र घनिष्टता बढ्दै गयो । यसरी काठमाडौँमा आएर भेटेको पहिलो साहित्यकार पछिसम्मका लागि मेरो हितैषी बन्नुभयो । उहाँलाई निकै नजिकबाट चिन्ने र बुझ्ने मौका पाएँ । साहित्यकार झुत्रे झ्याम्रे र अव्यावहारकि हुन्छन् भन्ने धारणा पनि उहाँलाई देखेपछि बदलियो । मैले देखेदेखि उहाँ सबैसित बोल्न, घुलमिल गर्न जहिले पनि उत्सुक देखिनुहुन्थ्यो । ००७ सालपछि आफ्नो क्याम्पाको अग्लो पर्खाल भत्काएर सर्वसाधारणको हाराहारीमा ल्याउने उहाँ पहिलो राणाजी हुनुहुन्थ्यो । उहाँले शमशेर जङ्गबहादुर हटाएर आफ्नो थर सम बनाउनुभयो । यसबाट आफूलाई सम्भ्रान्त सम्झने राणाजीहरू धेरै चिढिएका थिए । कतिले उहाँलाई बहिष्कार गरे । तिनताका उहाँको सम्बन्धमा नानाथरी आरोपको हल्ला चल्थ्यो । त्यस्ता आक्षेपहरूको स्पष्टीकरण दिन विशेष रूपमा उहाँ उद्यत भएजस्तो लाग्थ्यो । म पनि भर्खरको ठिटो थिएँ । ठाडठाडै कुरा गर्ने बानी थियो । आफूले सोधेका प्रश्नहरू सम्झँदा अहिले सङ्कोच लागेर आउँछ । तपाईंले देवकोटालाई धेरै दुःख दिनुभयो र चक्रपाणि चालिसेको छोरालाई झ्यालखान पुर्‍याउनमा पनि तपाईंको हात थियो रे नि हो ? भनेर कुरैकुरामा एकदिन सोधेँ । रत्तिभर पनि विचलित नभई सहज रूपमा उहाँले देवकोटालाई असामान्य प्रतिभाशालीका रूपमा सधैँ सम्मान गरेको र सम्बन्ध सुमधुर रहेको कुरा सुनाउनुभयो । चक्रपाणिका छोरालाई बचाउन आफूले सक्दो प्रयास गरेको पनि भन्नुभयो । पाउडर लगाएर सधैँ किन मेकअप गर्नुहुन्छ भन्ने मेरो जिज्ञासामा उहाँको संक्षिप्त उत्तर थियो, “मृत्यु र वृद्धावस्थाको आतङ्कबाट बचाउन ।”

तर, समज्यूको मेकअप गरेको अनुहारभित्र कुनै विषाद लुकेको जस्तो मलाई लाग्थ्यो । राणाकालमा निश्चय पनि आमजनताका छोराभन्दा उहाँ बढी सुविधाभोगी र प्रभावशाली हुनुहुन्थ्यो होला । तर, त्यसबेलाको क्रियाकलापबाट समज्यूको साहित्यिक हृदय पूर्णतः सन्तुष्ट थियो होला जस्तो मलाई लाग्दैन । केही असन्तुष्टि त उहाँले आफ्नो कविताको आराधना मा पनि व्यक्त गर्नुभएको छ । ००७ सालपछि धेरै राणाजीहरूको आर्थिक स्थिति खस्किएको थियो । कहिले त आफ्नो इज्ज्जत र रवाफ कायम राख्न घरका झल्लरी, दराज, ऐना पनि बेचे भन्थे । समज्यूको परिवारले पनि केही हदसम्म यो समस्या बेहोर्नुपरेको हुनसक्छ । तर, छोरा जनार्दन रेडियोमा काम गर्ने, छोरी रश्मि पुस्तकालयमा काम गर्ने र पछि समज्यू पनि एकेडेमीमा सदस्य भएकाले खास समस्या परेन । यो आर्थिक सुरक्षालाई उहाँ गुमाउन चाहनुहुन्नथ्यो । त्यसैले राणाकालमा पनि, पञ्चायतकालमा पनि उहाँले बारबार सम्झौता गर्नुभयो । ज्वाइँ विद्रोहमा मारिए । छोरी रश्मिले आत्महत्या गरिन् । समले एक शब्द बोल्नुभएन । क्षोभ र आक्रोशको एक शब्द पनि लेख्नुभएन । चुपचाप सहनुभयो । आँसुलाई पनि लुकाउनुभयो । हुँदाहुँदा आफू उपकुलपति छँदाछँदै बाहिरबाट ल्याएर व्यथितज्यूलाई कुलपति बनाउँदा पनि कुनै प्रतिक्रिया जनाउनुभएन । तर, मैले उहाँलाई यसबारे सोद्धा सोझो उत्तर नदिएर हिटलरको एउटा प्रसङ्ग सुनाउनुभयो, “एकपल्ट जर्मनीमा हिटलरले देशवासीका नाममा सम्बोधन गर्ने भएछन् । सबै उत्सुक, हिटलरले के भन्न लागे भनेर सबैमा कौतूहल । तर, हिटलरले जनतालाई अबला आईमाईसित तुलना गरेर भनेछन् ः तिमीहरू निरीह छौ, तिमीहरूलाई एउटा दरो पोइ चाहिन्छ । त्यो पोइ म हुँ ।” यति भनेर सम मौन बस्नुभयो । तर, मैले आफ्नो प्रश्नको उत्तर पाइसकेको थिएँ ।

चिसो चुल्हो महाकाव्यलाई तारानाथ शर्माले बूढो साँढेको झुसिलो डकार भनेर आलोचना गर्नुभएको थियो । त्यसबारे पनि मैले समज्यूको प्रतिक्रिया जान्न खोजेको थिएँ । तर, समज्यूले यसलाई पनि सकारात्मक रूपमा लिएको मैले पाएँ । उहाँले पुरानो संस्मरण सुनाउनुभयो । कुरा के भने मुकुन्द इन्दिरा छापिएपछि आफैँ गएर राणा प्रधानमन्त्रीलाई चढाउनुभएछ । प्रधानमन्त्रीले पुस्तक पल्टाएरसम्म पनि नहेरी ‘निकै कविता गर्छ यो बालकृष्णे’ भनेर पुस्तक आठपहरियालाई थमाइदिएछन् । साह्रै नराम्रो लागेछ समज्यूलाई । कमसेकम शर्माजीले चर्चा त गरििदनुभयो । पक्ष-विपक्षमा लेखहरू छापिए । ‘किताबै नहेरी आठपहरियालाई दिनेभन्दा त यो राम्रो होइन र ?’ समज्यूको प्रतिक्रिया थियो । कुरालाई अघि बढाउँदै पुष्करशमशेरको पनि प्रसङ्ग सुनाउनुभयो । एकपल्ट समज्यूको आफ्नो नयाँ कविता दाइ पुष्करशमशेरलाई सुनाउनुभएछ । कविता दोहोर्‍याउन भनेपछि दाइलाई कविता निकै राम्रो लागेछ भन्ने समज्यूमा परेछ । तर, ‘बिब्ल्याँटो’ कि ‘बिब्लेँटो’ कुन शुद्ध हुन्छ भनेर पुष्करशमशेरले सोधेपछि उहाँ खर्‍याङखुरुङ हुनुभएछ । यतिका बेर पुष्करशमशेरले कविता नसुनेर शब्दको शुद्धाशुद्धि पो सुन्नुभएको रहेछ । “त्यस्तै हो, तारानाथजीले पनि आफ्नै दृष्टिकोणले पुस्तक पढ्नुभएछ र झुसिलो डकार मात्र पाउनु भएछ,” समज्यूको टिप्पणी थियो ।

परििस्थतिसित सम्झौता गर्दागर्दै पछिल्लो दिनमा समज्यू कविताभन्दा पनि दर्शन लेख्न थाल्नुभएको थियो । वेदका ऋचा उद्धृत गरेर सूत्रवत् कविता सुनाउनुहुन्थ्यो । यसैबीच, पोखरामा एकाएक अस्वस्थ भएपछि उहाँलाई वीर अस्पतालमा भर्ना गरियो । अस्पतालमै उहाँको निधन भयो । त्यहीँबाट शवयात्रा सुरु भयो । शवयात्रामा उहाँका परिवारजन र हामी केही साहित्यकारबाहेक कोही थिएन । यति ठूलो साहित्यिक हस्तीको शवयात्रामा मुस्किलले ५० जना थिए होलान् । देशले गौरव गर्नुपर्ने राष्ट्रकै शीर्ष व्यक्तित्वलाई आफ्नै कुलका राणाजीले पूर्णतः बहिष्कार गरे । समज्यूदेखि राणाहरू रिसाएका छन् भन्ने त थाहा थियो । तर, मृत्युपछि पनि यसरी उपेक्षा गर्लान्जस्तो लागेको थिएन । तर, त्यही भयो… ।

नेपाल साप्ताहिक
अंक २६५

Leave a Reply

Your email address will not be published. Required fields are marked *