Skip to content


रोगले गाँजेपनि जाँगरले धानेको उहाँको शरीर राजनीतिमा लागेपनि साहित्य र साहित्यिक पत्रकारिताले चिनाएको उहाँको चिनारी सडक कविता क्रान्तिदेखि राजनीतिक क्रान्तिसम्म उत्तिकै सहभागी हुने उहाँको व्यक्तित्वसङ्घर्ष र रोगसँग जुद्धाजुद्धै, कैयौँ योजना र आकाङ्क्षा बुन्दाबुन्दै ८० को उमेरसम छोएको उहाँको जीवनले अन्ततः २०६६ सालको भदौ ४ गते मोती जयन्तीको मध्यरात विश्राम लियो ।
भवानी घिमिरे, भवानी दाइको विश्रामसँगै ‘भानु’ को अनुहार सम्झन पुगें, सभा समारोह, गोष्ठीमा जोशिलो आवाजमा बोल्ने एउटा अनुहार सम्झन पुगें, नेतृत्व गर्दै हिाड्न सक्ने र धेरैका प्रिय ‘भवानी दाइ’ को अभाव खट्कने भयो, एउटा नमीठो अनुभूतिले झस्कायो पनि ।
गएको असारको अन्तिम साता कै त कुरा हो । भवानी दाइको बारेमा, उहाँको सङ्घर्षको बारेमा ‘गोरखापत्र’ मा छपाइ हाल्नु पर्छ भन्ने एक किसिमको मानसिक ढिपीले उहाँको धेरैसम्म पुर्यायो । कवि भवानी घिमिरेको कविता उहाँकै हस्ताक्षरमा छाप्नुपर्छ भन्दै उहाँको घरैसम्म पुगियो । केही समयको अन्तरालमा दुवै छापिए पनि । पटठक पटक बिरामी भइरहने उहाा अनि उहाँकोउमेरले एक किसिमले त्रास उत्पन्न गराएको थियो । त्यसो त बाल्यकालमै विफरबाट नराम्ररी थालिएका भवानी घिमिरे र उहाँको भाइ विमल घिमिरेमध्ये भाइ विमललाई बाल्यकालमै विफरले बाँच्न दिएन । मृत्युलाई जितेर, सङ्घर्ष र सिर्जना, साधना र समर्पणले भवानी घिमिरेले धेरैको मन जित्नुभयो र २०६६ सालको भदौ ४ गते सदाका लागि आँखा चिम्लिनु भयो । काठमाडौँको चावेल कुमारी गालमा उहाँसाग निकै बेर बसेर कुराकानी गर्दा, उहाँको व्यस्तता देख्दा र योजना सुन्दा लाग्थ्यो भवानी घिमिरे अझै केही वर्ष बाँच्नुहुन्छ । वि.सं. २०२० सालदेखि भवानी घिमिरेको पयार्यजस्तै बन्दै आएको ‘भानु’ को चिन्ता, साहित्यिक गोष्ठी विमोजनमा जानुपर्ने हतारो आदि देख्दै लाग्यो भवानी घिमिरेको दिनचर्या भनेकै व्यस्तता हो । व्यस्तता र साधनाले रोगसँग पनि लड्दो रहेछ एउटा सीमासम्म । सीमा नाघेपछि, समय आएपछि मान्छे थाक्दो रहेछ ।
वि.सं. १९८६ सालको नौरथामा मोरङमा जन्मिनुभएका घिमिरे वि.सं. २०६६ सालको नौरथा नलाग्दै बित्नुभयो । हिसाबै गरेर भने हो भने ८० वर्षको उमेर बाँच्नुभयो, ८० वर्षको उमेरमा ६० वर्ष साहि्त्यमा, ४६ वर्ष साहित्यिक पत्रकारितामा अनि राजनीति र समाजसेवामा व्यतीत भए उहाँको जीवन । जीवनका विविध क्षेत्रमा बाँडिएको समय, घर परिवार इष्ट मित्र, नेता कार्यकर्ता आदिलाई समय दिँदादिँदै क्रान्ति आन्दोलन, पठन पाठन, लेखन-सम्पादन, गोष्ठी-सम्मेलन, विमोचन-सम्मान आदि भन्दा भिन्दै अन्ततः उहाँले विश्राम लिनुभयो मोती जयन्तीकै दिन ।
घरको वातावरणले गर्दा कलिलै उमेरमा वामपन्थी राजनीतिप्रति झुकाव राख्नु हुने भवानी घिमिरेले भन्नुभएको धेरै पनि भएको छैन -“६० वर्षसम्म मैले पार्टीप्रति पूर्ण प्रतिबद्ध भएर लागेकै छु र लागिरहनेछु । राजनीीतक जीवनमा पटक पटक जेल परें पक्राउ परें । मेरो स्वभावै अर्को छ म कसैकहाँ जाादिन र कसैलाई केही भन्दिन पनि शक्तिकेन्द्र धाउने काम पनि गर्दिन । कसले कति काम गरेको छ भनेर मूल्याङ्कन हुने ठाउँ होइन यो को कति धाउन सक्छ, कति कुद्न सक्छ यसबाट मूल्याङ्कन गर्ने परिपाटी छ हामीकहाँ ।”
भवानी घिमिरेको महफ्व, उहाँको चिनारी र उहाँको अमरत्व भाषा साहित्य क्षेत्रको साधना हो । जीवनको धेरै समय उहाँले यसैमा लगानी गर्नुभयो – बिना प्रतिफलको आशमा । बनारस पढ्न बस्दा कक्षा छोडेर कवि गोष्ठीमा पुग्ने भवानी घिमिरेको लेखन आरम्भ कविताबाटै भयो बनारस बस्दा । वि.सं. २००५-६ सालदेखि ‘युगवाणी’ ‘उदय’ आदिमा रचना छपाउने उहाँ आरम्भिक दिनमा नुननीधि उपाध्याय, श्रीप्रसाद, भवानीप्रसाद शर्मा जस्ता छद्म नाममा लेख्ने गर्नुहुन्थ्यो । धेरैपछि मात्र उहाँले भवानी घिमिरेकै नाममा लेख्न थाल्नुभयो । यसै क्रममा ‘आत्मज्वाला’, ‘नानी’ (कथा सङ्ग्रह) स्मृतिका रेखाहरू (कविता सङ्ग्रह), माओत्सेतुङ (जीवनी) मेरा अभिव्यक्ति कतिपय (प्रकाशोन्मुख) जस्ता कृति छन् । यस्तै ‘कमरेड जाने होइन’, ‘नभाग’, ‘गाउँको सन्देश’ (कथा सङ्ग्रह), कारागारभित्र प्रतीक्षा र अन्य कविता मेची किनारका कविताहरूको सम्पादन पनि गरिसक्नुभयो उहाँले । यसैले पनि होला भवानी घिमिरे भन्नासाथ ‘साहित्यकार’ भवानी घिमिरेको परिचय अघिल्तिर आइहाल्छ ।
त्यसो त भवानी घिमिरेले ‘जनयुग’ (पाक्षिक) हाम्रो नेपाल (मासिक), युवक (मासिक) को पनि सम्पादन गर्नुभयो । महानन्द पुरस्कार समितिका अध्यक्ष, नेपाल साहित्य विकास समितिका अध्यक्ष, लुनकरणदास गङ्गादेवी चौधरी साहित्य कला मन्दिरका, सदस्य, साझा प्रकाशनका सञ्चालक, साहित्यिक पत्रकार सङ्घका सभापति भवानी घिमिरेका थप परिचय हुन्, सक्रियताका नमूना हुन्, कैयौँ स्रष्टा साधकलाई पुरष्कृत गर्ने माध्यम हुन् ।
‘भानु’ लाई जीवनका अभिन्न अङ्ग सम्झेर झापादेखि काठमाडौँसम्म ल्याइपुर्याउनुभयो उहााले । मोटा मोटा विशेषाङ्गर भानुका अनेकौं अङ्क हेरेर रमाउने भवानी घिमिरे भानुसँगै बाँच्नुभयो । भवानी घिमिरेले जन्माएको ‘भानु’ अब घिमिरेको अवसानपछि कसरी बाँच्छ एउटा अत्यासलाग्दो प्रश्न । यति विघ्न साधना गरे पनि भवानी घिमिरेको नजिक कुनै पुरस्कार पुगेनन् । अरूलाई सम्मान गर्न र पुरस्कृत गर्न सधैं सक्रिय रहने भवानी घिमिरेलाई सम्मान गर्नुपर्छ, पुरस्कृ गर्नुपर्छ भनेर कसैले सक्रियता देखाएनन् अर्को एउटा निराशलाग्दो स्थिति ।
विराटनगर, झापा हुँदै काठमाडौँसम्म आइपुग्नु भएका भवानी घिमिरेको अवसानबाट यतिखेर साहित्यिक क्षेत्रले दुःखको अनुभव गरेको छ । भदौ ५ गतेको बिहान काठमाडौँमा उहाँको पार्थिव शरीर जलेर धुँवामा विलिन भएपनि भवानी घिमिरे ‘भानु’ जस्तै भानुका माध्यमबाट, आफ्ना कविता र कथामा, सिर्जना र साधनामा, सडक कविता क्रान्ति र कविता वाचनको प्रभावशाली शैलीमा बाँचिरहनु हुनेछ । आशा र अपेक्षा, कामना र इच्छा प्रकट गर्ने मात्र हो हामीले । अनि शब्द सुमन अर्पेर श्रद्धाञ्जली व्यक्त गर्नेसम्म हो – एउटा स्रष्टालाई, एउटा साधकलाई । पूर्वबाट २०२० मा उदाएको ‘भानु’ का जन्मदाता अस्ताए पनि ‘भानु’ नअस्ताइदिए हुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *