Skip to content


अभिनयमा स्वरको महफ्वपूर्ण स्थान रहेको हुन्छ । स्वरको आरोह अवरोह नै अभिनय अभिव्यक्तिको सशक्त माध्यम हो । त्यसैले सबल स्वरका धनी अभिनयीहरूको कला यात्रा चिरकालिक हुने गर्दछ । भारतको हिन्दी चलचित्र संसारतिर हेर्ने हो भने त्यहाँ स्व. पृथ्वीराज कपुर, स्व. बलराज साहनी जस्ता इतिहास जितेका अभिनेताहरूदेखि लिएर स्व्. नरगिस, स्व्. नीनाकुमारीजस्ता संवेदनशील स्वरका धनी अभिनेत्रीहरूले आफ्नो बसल स्व्रको माध्यमले छोडेका छाप अविस्मरणीय बनेको छ । स्व. राजकुमार, स्व. सुनिल दत्त, राजेश खन्ना, अभिताभ बच्चन, शत्रुघ्न सिन्हा, अमरीश पुरी, नसिरुद्दिन शाह, ओमपुरी जस्ता कैयौँ अभिनेताहरू आ-आफ्ना सबल स्वरकै कारण चर्चामा आएका अभिनेताहरू हुन् ।

नेपाली चलचित्र जगत्को कुरा गर्दा ‘मनको बाँध’ चलचित्रका नायक स्व. शैल्यान के.सी. संवेदनाले भरिएको स्वरलाई त्यतिबेला धेरैले मन पराएका थिए । विशेष गरेर खलपात्र निर्वाह गर्ने कलाकारका लागि सशक्त स्वरको ठूलो महफ्व रहेको हुन्छ । मुरलीधरले त्यस्तै स्वर पाएका छन् । नीर शाह, हरिहर शर्मा, सुनिल थापा, हेमन्त बुढाथोकी, सुशील पोखरेल लगायतका अभिनेताहरू पनि स्वरकै कारण चर्चित छन् । स्वरकै कारण चर्चा पाएकी नेपालकी अभिनेत्री तृप्ती नाडकर पनि हुन् । तृप्तीका दुई पहिलो चलचित्रहरू ‘सम्झना’ र ‘कुसुमे रुमाल’ मा उनले लाडिएर बोलेको संवादहरू त्यतिबेला साह्रै मनपराइएको थियो । अनौठो कुरा त के हो भने ती दुबै चलचित्रका सम्वादहरू तृप्ती आफँैले बोलेको होइन ।

भारतको मराठी भाषी तृप्तीले नेपाली राम्ररी बोल्न जानेकी थिइनन् । त्यसैले उनका लागि त्यतिबेला सङ्गीतकार रनजित गजमेरकी छोरी भारती गजमेरले आफ्नो स्वर दिएकी थिइन् । निर्देशक तुलसी घिमिरेसित विवाह बन्धनमा बाँधिएर भारती घिमिरेमा परिणत भइसकेपछि उनले तृप्तीका लागि ‘कोसेली’ का लागि स्वराङ्कन गरी दिएकी थिइन् । नायिकाको रूपमा ख्याति कमाएकी तृप्ती लामो समयसम्म अभिनय संसारबाट बिदा लिएर फेरि यही संसारमा चरित्र अभिनेत्रीका रूपमा फर्केको पहिलो चलचित्र ‘आमाको काख’ हो । यस चलचित्रका लागि डबिङ्ग आर्टिस्ट अन्जु देउजाले तृप्तीका लागि आफ्नो स्वर दिएकी हुन् । तृप्तीले पछिल्लो पटक खेलेको कतिपय चलचित्रमा उनै अन्जु देउजाले स्वराङ्कन गरिदिएकी थिइन् । तृप्ती आफैँले आफ्नो स्वरमा स्वराङ्कन गरेको एकमात्र चलचित्र ‘सपनाको नौलो संसार’ हो । जुन चलचित्र प्रदर्शन हुन बाँकी नै छ । ‘कहाँ भेटिएलाकी नायिका स्वेता खड्काको लागिसमेत अञ्जु देउजाले स्वराङ्कन गरेकी छिन् ।

अर्काको स्वर उधारो लिई आफ्नो कला यात्रालाई नियमितता दिँदै आएका कलाकारहरूमध्ये तृप्ती जस्तै गरी सिमान्त उदास, नवल खड्का, नन्दु श्रीवास्तव, सुनिल दत्त पाण्डे आदि पर्छन् । सिमान्त उदासका केही सुरूका चलचित्रमा अभिनेता दीपक क्षेत्रीको स्वर रहेको थियो भने पछिल्ला चलचित्रहरूमा डबिङ आर्टिस्ट तरुण अमात्यले स्वराङ्कन गरी दिएका थिए । सबल स्वराङ्कनका लागि ख्याति कमाएका तरुण अमात्यले धेरै कलाकारहरूका लागि आफ्नो स्वर दिइसकेका छन् । नायक श्रीकृष्ण श्रेष्ठको अस्वस्थताको करण अधुरो रहेको स्वराङ्कन कार्य पूरा गर्न चलचित्र ‘चुनौती’ मा उनै तरुण अमात्यको स्वरले साथ दिएका थिए । तरुण अमात्यले ‘बसन्ती’ मा जङ्गबहादुरको भूमिका गर्ने निरज थापा र ‘वीर गणेशमान’ चलचित्रमा युवा गणेशमान सिंहको भूमिका गर्ने रामकृष्ण महर्जनका लागि पनि आफ्नो स्वर दिएका थिए । ‘वीर गणेशमान’ चलचित्रमा गणेशमान सिंहको हास्य कलाकार नारद खतिवडाले स्वराङ्गन गरिदिएका थिए । त्यसैगरी युवा वि.पी. कोइराला बन्ने भरत अधिकारीका लागि सञ्चारकर्मी जि.पि. तिमल्सेना र अस्वस्थ एवं बृद्ध बि.पी.को भूमिका गर्ने खगेन्द्रनाथ शर्माका लागि सुप्रसिद्ध अभिनेता हरिवंश आचार्यले आफ्नो स्वर अभिनयबाट भूमिकालाई शृङ्गार गरिदिएको कुरा धेरैलाई थाहा नहुन सक्छ ।

चलचित्रमा यसरी अर्काको स्वरको सहारा लिनु पर्नाको धेरै कारण हुनसक्छ । ती मध्ये एउटा भनेको अभिनय यात्राको पहिलो खुड्किलो चढ्दा स्वरको आरोह अवरोह बारे ज्ञान नहुनु पनि हो । अर्को कारण भनेको भाषाको यथोचित ज्ञान वा सबल स्वर नहुनु पनि हो । यी दुईबाहेक पनि अर्को कारण भनेको अभिनय गर्ने कलाकार स्वराङ्कनका लागि उपलब्ध हुननसक्नु पनि अर्कोको स्वरमा स्वराङ्कन गर्नुपर्ने बाध्यता हुनसक्छ । एउटा पुरानो चलचित्र ‘चाहना’ को स्वराङ्कनको समय अभिनेता सन्तोष पन्त उपलब्ध नभएपछि चलचित्रकर्मी शैलेश आचार्यले स्वराङ्कन गरी दिएका थिए । अहिले अभिनेत्री बसुन्धरा भुसाल अमेरिकामा छिन् र उनी अमेरिकामा रहेका कारण चलचित्र ‘नैना रेशम’ मा अर्कै कलाकार अन्जु रञ्जितले स्वर दिएकी छिन् भने यसै चलचित्रमा अभिनेता मदनदास श्रेष्ठका लागि चर्चित द्वन्द्व निर्देशक सुरेन्द्र शाहले स्वर दिएका छन् । हाल अभिनेता मदनदास श्रेष्ठ पनि देश बाहिर नै छन् भने चलचित्रकर्मी सुरेन्द्र शाह पनि एक कुशल डबिङ्ग आर्टिस्ट नै हुन् ।

यसरी अर्काको स्वर उधारो लिएको कारण सुष्मिता के.सी. पनि एकताका चर्चित बनेकी थिइन् । उनले ‘करोडपति’ र ‘तँ त साह्रै बिगि्रस् नि बद्री’ मा अभिनय गर्दा अभिनेत्री गौरी मल्लको स्वरको सहारा लिएकी थिइन् भने हाल उनी आफ्नै स्वरमा स्वराङ्कन गर्ने गर्छिन् ।

शनिबार, गोरखापत्र
भदौ २०, २०६६

1 thought on “स्वरबिनाको अभिनय”

  1. Nepali chalchitra kusume
    Nepali chalchitra kusume rumal, saino, dewta jasta kathbastu nikalera chalchitra banaiyo bhane nepal ma chalchitra udhog ramrari chalchha.
    anuz kulung
    Google support Association
    Kathmandu Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *