Skip to content


जीवन र जगतको उत्तम उपहार यो मानव जीवन हो । परिर्वतनशील यो जीवन हरेकसँग छ । सबै जन्मन्छन्, हुर्कन्छन् र एक दिन मर्दछन् । मानव, रुखपात, हात्ती र कमिला सबैसँग यस्तै जीवन छ । सबैमा उस्तै र एकै यो प्राण रुपी स्वास रहेको छ । यस जगतका सृष्टिकर्ता परमप्रभुले कसैमाथि अन्याय गर्नुभएको छैन । हेर त! न्यायगत समानतामा सबैलाई उही र उस्तै अदृष्य प्राणरुपी स्वास सानोदेखि ठुलोसम्म बराबर अंशमा प्रदान गर्नुभएको छ । आजका हामी तमाम मानव पनि यही समानता र अधिकारका कुरा गर्छौं र यसैको अप्राप्तिमा क्रान्ति, युद्ध, हत्या हिंसासम्म गर्र्छौ । चाहे पुरुष हौ या नारी हुन् सबैमा भगवानले उस्तै र उतिकै उही प्राणरुपी स्वास समान रुपमा प्रदान गर्नु भएको छ । साथै तमाम गरिव र धनी मानवहरूमा पनि परमप्रभु स्वास उत्तिकै मात्रामा विराजमा हुनु हुन्छ । यसैले धनी, गरीब, नारी, पुरुष, किरा, जनवार, पंछी सबैलाई जीवन्त रुप दिने परम प्रभुलाई न कसैले देख्छ । न कसैले बाँड्न सक्छ । तर सबै चराचर जगतले जीवन रहेसम्म समान रुपमा चाहेर र नचाहेर पनि ग्रहण गरिरहेकै हुन्छ । उही यो समान अंशको स्वास रहेसम्म रहने हामी अरुकै अधीनका क्षणिक जीवनधारी मानव कदापि ठुलो सानो र उच्च नीच हुनै सक्दैनौ । जव हामी स्वयंले आफ्नो अधीनमा यो जीवन उत्पत्ति गर्न, चलाउन र अन्य गर्न सकौला तव मात्र उच्च र महान अनि सानो र ठुलो भन्न मिल्छ । यो हाम्रो जीवन अरु कसैले स्वयं हामीलाई नसोधीकन लिएर आएको छ र केहि दिन परिक्षामा राखेर नसोधीकन लिएर जान्छ भने यो दुइ दिन अरुले प्रदान गरेको जीवनमा हामी मानव के को घमण्ड गरिरहेका छौ – न यो हाम्रो हो न अमर रहन्छ । न हामीले कमाएको धन भोलि साथमा लान सकिन्छ । हामीसंगै जाने त हामीले गरेका धर्म र पापहरू हुन् । जुन कार्यका साक्षी स्वयं हाम्रो आफैसँग भएको पबित्र आत्मा हो ।


 
यसलाई चिन्नु नचिन्नु आ-आफ्नो खोजीमा निर्भर पर्छ । यसै प्राण स्वरुप मानव जीवनमा भगवानले उमेरको क्रमिकतासँगै चैतन्य स्वरुप चेतना पनि प्रदान गर्दै रहनु हुन्छ । जुन अरु चराचर उत्पत्तिमा प्रदान गरिएको छैन । यसैले यस चराचर जगतको उतम प्राणी मानव हुन पुगेको हो । जुन कुरा प्राण रुपी मानवसँग आत्मा स्वरुप भएर बसेको छ । जुन आत्माले हाम्रो शरीर सुते पनि, जागा बसे पनि हर राम्रा नराम्रा र घटित कार्य टिपिरहेको हुन्छ । हामी निदाएको बेलामा हाम्रै आँखाले नदेखे पनि र अरुको आँखा छले पनि हामी स्वयं भित्रको आफ्नो आत्मा कहिल्यै ढाँट्न र छल्न सक्दैनौ । जस्तो कि हामी निदाएको बेलामा पनि राम्रोसँग सुते नसुतेको र सपनामा देखेको कुरा समेत भोलि पल्ट हामीलाई जागा अवस्थामा त्यही मानव आत्माले बताई दिन्छ । ल हेर त हामी मानव सुते पनि एक अदृष्य शक्ति जीवित जीव हामीसँग रहेछ । यसैले त उसले हामी सुते पनि सबै देखेको र जानेको छ । भोलिपल्ट हरेक बिहान रातभरि सुतेको, नसुतेको र सपनाको कुराहरू बताई रहेछ । यस्तै हामी आफू चोखो देखिन अरुले नदेखेका कयौ कुराहरू होइन भनि भन्छौ तर आफ्नै आत्माले स्वयं हामीलाई भन्छ, “तैंले फलानालाई ढाँटिस्।” हो यही फलानालाई ढाँटिस् भन्ने र गलत गरिस् भन्ने नै स्वयं मानवभित्रको जीव नै भगवान स्वरुप पबित्र आत्मा हो । तर आजका मानव आफ्नो शरीरको मनमा उब्जिएको लोभ, मोह, घमण्ड, र इर्ष्या, डाहा, र वासनामा तिप्त भै स्वयंको त्यो राम्रो नराम्रो छुट्याउने पबित्र आत्मासँग नसोधीकन क्षणिक सुख भोग्ने लालसामा अनेकौ अपबित्र कार्यहरू गर्छन । तर हरेक मानव यस्ता कार्य गरिसकेपछि पछुताएर भन्छन् धत् मैले गर्न नहुने कार्य गरे । बेक्कार गरेछु भन्छन् । जति बेला धेरै ढिलो भैसकेको हुन्छ । आफ्नो क्षणिक स्वार्थपूर्तिसँगै अरुलाई रुवाई रहेको हुन्छ । मानव सधै यहींनेर चुक्छ । यही मानव मन र आत्मामा फरक छ । यो मानव मनले राम्रो नराम्रो जे पनि चिताउँछ र क्षणिक सुख भोग भन्छ तर आत्माले सत्य असत्य बताएर प्रेम र विश्वासमा मानव जीवन र जगतकै भलो हुने कार्य गर भन्छ । हरेक मानवलाई उसको आत्माले राम्रो नराम्रो सबै बताई दिन्छ तर र्सवप्रथम उ आत्मालाई नसोधी उतमता हुने र क्षणिक सुख भोग्ने कार्य गर्छ र पछि पछुताउँछ । स्वयं आफू भित्रको आत्मालाई मानवले सोध्दैनन् मात्र यो मनबाट उब्जीएको साथै इन्द्रियहरू र जनेन्द्रीयहरूको माग अनुसार क्षणिक सुख भोग्न आतुर हुन्छ । जब भोग्छ तब अनि मैले पाप गरे, गल्ती गरे अब अरुले देखे र थाहा पाए भने बर्बाद हुन्छ भन्दै आफ्नो खोक्रो उतमता राख्न त्यही पाप छोप्न अरु पाप कार्य गर्छ । भनिन्छ नि एक पाप छोप्न सय पाप गर्नु पर्छ र सय पाप छोप्न हज्जार पाप गर्नु पर्छ । आजको यस रोदन र दुखद पुर्ण जीवनको कारक तत्व यही आचरणका मानवको बाहुल्यता हो । यो भ्रष्टचार, बलत्कार, हत्या हिंसा र युद्ध आजका यही आचरण भएका मानवले निर्माण गरेका हुन् । शुरुमा मानव स्वयं खराब हुदैन । यहाँका वातावरणको शिक्षा र सगतले प्रभाव पारेको हुन्छ । आजका मानव यही क्षणिक सुख भोग्न र उच्च देखिन यस वातावरणको शिक्षामा दौडीरहेकाछन् । जसको प्राप्ति पश्चताप हो । परिणाम एक दिन यो सुख शान्ति रुपी घरको अन्त्य हुनेछ । जस्तो कि आज कयौ घर र जीवन बर्बाद र बिखण्डन भैरहेकाछन् । डाक्टर स्वयं भन्दैछन् नब्बे प्रतिशत मानवमा धेरै थोरै डिर्पेशन छ । यो सबै गलत सोचाई र आचरणबाट प्राप्त हुने मानसिक रोग हो । आज यस मानवले स्वयंलाई नराम्रो संगतमा फसाएर स्वयंको असल सुखमय पबित्र आत्मा रुवाएको छ । यही बिकशीत स्वरुपले संसार बिनासको पल लीएर आउँने छ । आज यहाँ भएका तमामा बिर्कीती यही मानवले भित्राएको हो । स्वयं हामी मानव आफ्नो प्रेम र विश्वासको पबित्र आत्मा छाडेर रिस, इर्ष्या डाह लोभ मोह घमण्ड ,वासनामा लिप्त भैरहेका छौ जसको प्रतिफल यो दुःख, पीडा र आत्मा असन्तुष्टि हो । यसैले तमाम मानव कतै दृष्यमा त कतै अदृष्यमा रोईरहेकाछन् । यो पवित्र आत्मा यो शरीरको अन्त्य भए पनि सधै यस संसारमा रहि रहन्छ तर त्यो कुरा मानवले आफ्नो अन्तिमपलमा मात्र थाह पाउँछ । त्यसैले अबका शिक्षितवर्गले यो शभ्य सभ्यतामा यस पबित्र आत्मालाई अगाल्न र चिन्न सकेकमा सुनमा सुगन्ध हुने थियो । यही अज्ञानताको कारण आज तमामा मानव भौतारिएकाछन् । आजका मानव यही भौतिक शरीरको मात्र शिक्षित छन् तर पबित्र आत्माको सत्यता नचिन्दा स्वयं छटपटीमा बाँच्दै अरुलाई रुवाई रहेकाछन् ।
 


हेर यो शरीर र मन अनि सुन चाँदी धन अरुको हुन सक्छ तर प्रेम र विश्वासको पबित्र आत्मा कहिल्यै कसैको हुन सक्दैन । जुन निराकार छ । अटल छ र अमर छ । यसैले त भनिन्छ नि चोखो प्रेम र विश्वास अमर हुन्छ भनेर । आज जति पनि दुःख पीडाहरू उत्पत्ति भएकाछन् त्यसको कारक तत्व त यही अप्रेम र अविश्वास नै हो । व्यक्तिको घमण्ड, इर्ष्या, डाह, लोभ र मोह हो । हिजो जड्गलमा बस्ने यो मानव आज शहरमा बसेको छ । हिजो गिठा भ्याकुर खाने मानव आज डिनर डिस्को गरिरहेको छ । हिजो नागैं हिड्ने यही मानव आज फेशन फेशनका कपडा लगाएको छ । हिजो खाली खुट्टा जगलमा हिड्ने यही मानव आज पजेरो र जहाजमा घुमेको छ तर पनि खै त उँ खुसि भएको – संसारमा आत्मीय प्रेम र विश्वास भन्दा सुख र ठुलो अरु केहि छैन । यो मानव शरीर र धन सम्पती त आज आयो भोलि जानेछ । यही माटोमा वा धर्तीमा रहने छ । अटल र अमर त यो पबित्र मानव आत्मा हो जो हामी मानव मरे पनि उ कहिल्यै मर्दैन । यसैले त हामी मानव मरेपछि फलानोको लास भनिन्छ । फलानो भनिदैन । ल भन्नुुस त फलानो को रहेछ त – हो त्यो पबित्र प्राण स्वरुपसँग रहने आत्मा नै तिमी मानव हो । जुन हाम्रो शरीर ढले पछि पनि यही हावामा विराजमान हुन्छ । यो मानव आत्माले सधै सत्य बाटो देखाउँछ । यसैले त जसले मानव आत्मा रुवाउँछ उसले दुःख पाउँछ ।
 

यो हिन्दु, मुस्लिम, क्रिश्चियन र बौद्ध धर्म होइनन् । मानव कल्याण गर्छु भन्ने जमातहरू हुन् । धर्म त एकै यो  मानव कल्याण हो । यसैले त मानवका असत्य र पाप बोली, बचन र कार्य कहिल्यै टिक्दैनन् । साथै यो निर्जीव स्वरुप मन्दिर, मस्दिज, चर्च र गुम्वामा भगवान छैनन् । कृष्ण, राम, येशु, महोमद वा बुद्धहरू भगवान होइनन् । उनीहरू भित्र भएको एकै स्वरुप यो पबित्र आत्मा नै भगवान हो । जसलाई उनिहरूले चिन्न र जान्न सकेँ । भगवान एकै हुन्छ र भगवान त तिमी हामी मानवको पवित्र आत्मामा बास गरेको छ । यदि मठ मन्दिरमा भगवान हुन्थे भने यो मानवले यत्रो बिधी पुजा गरेर पैसा चढाएको छ खै त भगवानले दर्शन दिएका – खै त असल र सत्य कुरा सिकाएका – झन झन मानवलाई पीडा बढेको छ । धन सम्पति भएर पनि मानव कुनै न कुनै दुःखमा परेर रोई रहेको छ । यसैले आफू र यस जगतलाई भलो गर्न अनि सुख शान्ति दिन चाहन्छौ भने स्वयं आफू भित्रको रहेको भगवान खोज । जुन भगवान स्वरुपले मानवको प्राणमा रहेर आत्मा बन्दै हर मानवलाई सत्य असत्य, राम्रो नराम्रो बताई रहेको छ । हरपल हरक्षण स्वयं मानवले गरेको राम्रा नराम्रा कार्यको साक्षि बसिरहेको छ । सोध आफैसँग आत्माले कहिल्यै झुट बोल्दैन । यही सत्यवादी हामी निदाएको बेलामा पनि जीवित रहने जीव यो पबित्र मानव आत्मा नै इश्वर हो । जुन आत्माबाट सधै प्रेम र विश्वासको सृजना हुन्छ । यो संसारको दुःखबाट छुट्नु छ भने स्वयं आफूभित्रको सत्य खोज तर दुःख भनेको दैनिक खान र बाँच्नको लागि गरिने कार्य साथै मानव भएर निभाउँनु पर्ने कतर्ब्य चाहि होइन । दुःख भनेको धन सम्पति भएर पनि मानव आत्मा असन्तुष्टि र आजको रुवाई हो । यो रुवाई र पीडा अन्त्य गर्न स्वयं भित्रको सत्य खोज । सत्य खोज । सत्य खोज ।

बसन्त मोहन अधिकारी
चितवन
हाल: यूएइ

2 thoughts on “हे मानव सत्य खोज”

  1. स्वयं हामी मानव आफ्नो प्रेम र
    स्वयं हामी मानव आफ्नो प्रेम र विश्वासको पबित्र आत्मा छाडेर रिस, इर्ष्या डाह लोभ मोह घमण्ड ,वासनामा लिप्त भैरहेका छौ जसको प्रतिफल यो दुःख, पीडा र आत्मा असन्तुष्टि हो ।

    Yes i like it, thanks
    bina

Leave a Reply

Your email address will not be published. Required fields are marked *