Skip to content


हिजोआज नेपाली पत्रपत्रिकाका लेख तथा राजनीतिका कुनै व्याख्यामा राज्यको पुनः संरचना, सङ्घीय राज्य, जातीय कुरा नउठेको प्रायः पाइँदैन । जातीय कुरा नलेखे तथा त्यसको आधारमा चर्का नारा नदिए सायद कसैले खाएको पच्न पनि छोडेको हुनु पर्दछ । नेपालमा जातीय विभेद र उत्पीडन नभएको पनि होइन । त्यसैको जगमा हिजोआज गालीको पर्याय बनेको छ- बाहुनवाद । बाहुनवादलाई उपल्लो र शोषक जातिको वादमा परिभाषित गरेर जातीय मुक्ति नै बाहुनवादबाट हुने मुक्ति हो भन्ने अर्थ लगाउन थालिएको छ । अहिले त बाहुनहरू पनि अरु जाति जस्तै सङ्गठित भएर जनजातिको कोटामा आफूलाई पनि हाल्नुपर्ने माग गर्न थालेका छन् । वास्तवमा यी सबै सोच अतिवादका पराकाष्ठा हुन् र इतिहासका तथ्यसँग मेल नखाने कुरा हुन् । त्यसैले यहाँ ब्राहृमणवाद के हो भन्ने विषयमा बहस गर्ने प्रयास गरिएको छ ।

मानव सभ्यताको विकाससँगै मानिसले खेतीपाती र बसोवासको युगमा प्रवेश गरेपछि परिवार, निजी सम्पत्ति र राज्यको उत्पत्ति हुनपुगेको छ । इतिहासको अध्ययन गर्दा मेसोपोटामियाको सभ्यताको विकासको क्रममा रोमन र कार्टहेगहरूका बीचमा द्वन्द्व भएपछि त्यसले आर्य र अनार्यहरूका बीचमा पनि द्वन्द्व सिर्जना गर्यो । रोमनद्वारा ग्रीसमाथिको विजय पनि यही द्वन्द्वको परिणाम थियो । इसापूर्व ५३९मा चाल्डियनहरू पराजित गरिएपछि बेबिलोनको पतन विनायुद्ध भएको थियो । यसको पतनपछि पराजित बेबिलोनियनहरू इसाको सातौं शताब्दीतिर भारतको पश्चिम तटको प्रयोग गर्दै भारत आए र एउटा सेमेटिक वर्ण्ाको उत्पत्ति गराए । यसले गर्दा भारतवर्षमा बर्मा, श्याम तथा सिलोनका सबै वर्णहरू अल्फाबेट्स नक्कल गरिए । तर योभन्दा पहिले नै इसापूर्व छैटौं शताब्दीमा भारतमा १६ स्वतन्त्र राज्यहरू राजतन्त्रमा आधारित भएर स्थापित भइसकेका थिए । इसापूर्व ५०० वर्षतिर नैतिक शिक्षाका रूपमा महाभारत र रामायणको चर्चा हुन थालिसकेको थियो । भारतमा सिन्धु घाँटी, मोहनजोडारो र हरप्पाको सभ्यताको विकासले आर्यहरूको राजतन्त्रीय शासनको विकास गराएको थियो । त्यही राजतन्त्रले आर्यहरूलाई चार वर्णमा विभाजित गर्यो । यसमा ब्राहृमण पहिलो थियो र त्यसलाई पुरोहित भनियो । दोस्रो क्षेत्रीय-जो लडाकु र राज्य सञ्चालनको हकदार मानियो । व्यापार व्यवसाय चलाउने वैश्य तथा श्रमजीवी शूद्र मानियो । यसरी पेसाको आधारमा जातिको विभाजन गर्ने काम भारतबाट सुरु भयो । यस्तै इतिहास युरोपमा पनि थियो । युरोपमा धर्मको विकाससँगै पादरीको विकास भएको थियो । वास्तवमा सुरुका दिनमा पादरीको काम पनि एउटा विद्वानले गर्ने भन्दा पफरक थिएन । पछि त्यसमा विकृति आएपछि युरोपमा पुनर्जागरण तथा धर्म सुधार आन्दोलन भएको पाइन्छ । राजा अलेक्जेन्डर महान्को शासनमा पुरोहितलाई शिक्षक भन्न थालिएको थियो । तर तिनै शिक्षकहरूले कानुनसमेत निर्माण गर्ने र त्यसको परिभाषा गर्नेसमेत अधिकार राज्यबाट पाउन थालेपछि उनीहरूले त्यसलाई आफ्नो वर्गीय स्वार्थ मुताविक प्रयोग गर्नेगरी परिभाषित गर्न थाले । त्यसले जन्माएको विकृतिका विरुद्ध युरोपमा धर्म सुधार आन्दोलन मात्र भएन राज्यका तीन अङ्ग न्यायपालिका, व्यवस्थापिका तथा कार्यपालिकाका कामहरू अलग अलग हुने आधुनिक शक्तिपृथकीकरणको सिद्धान्तको पनि प्रादुर्भाव यसै कारणले भएको थियो । चिनियाँ सभ्यतामा हुर्किएको मंगोल सम्प्रदायमा पनि बाहुन भन्ने पेसा भएको पाइन्छ । त्यसको काम समाजमा शिक्षादीक्षा दिने नै थियो । तर त्यहाँ भने युरोप तथा भारतवर्षमा जस्तो वंशका आधारमा विद्वान् (बाहुन) नियुक्ति गर्ने चलन नभएर योग्यता र शिक्षाका आधारमा नियुक्ति गर्ने चलन थियो । त्यहाँको यो परम्परालाई बौद्ध धर्मको विकासले संशोधन र विस्थापन गरेको पाइन्छ । जब राज्यमा राजाको उत्तराधिकारी वंशको आधारमा नियुक्ति गर्न थालियो ब्राहृमण पनि वंशाणुगत बन्दै गयो । यसर्थ इतिहासका पानालाई पल्टाएर हेर्ने हो भने ब्राहृमण भनेको कुनै जाति विशेष नभएर समाजमा धार्मिक कार्य गर्ने तथा बालबालिका तथा जनतालाई शिक्षादीक्षा दिने एउटा पेसा भएको मानिन्छ । संस्कृत भाषामा आएको पञ्चतन्त्रमा भनिएको छ ः “विद्वत्वं च नृपत्वं च नैव तुल्य कदाचन, स्वदेशे पुज्यते राजा विद्वान् सर्वत्र पुज्यते” । अर्थात् विद्वान् र राजामा कहिल्यै समानता हुँदैन, राजा केवल आफ्नो देशमा मात्र पुजिन्छ तर विद्वान् संसारमा पुजिन्छ भनेर भन्ने गरिएको पनि यसै कारण हो । चाहे युरोपको इतिहास हेरौं, चाहे चिनियाँ सभ्यताको इतिहास हेरौं या भारत वर्षको सबै ठाउँमा ब्राहृमण भन्ने वर्गको उत्पत्ति पेसाको आधारमा विद्वान् स्कलर हो भन्ने अर्थमा भएको पाइन्छ ।

भारतमा राजतन्त्रको उदय भएपछि राजाहरूलाई शासन गर्न सजिलो बनाउने ध्येयले पेसालाई जातमा बदलेर सामाजिक नियम बसाल्ने काम सुरु गरे । ब्राहृमण पेसाले उच्च भएकाले र दरबारभित्र सजिलै पहुँच पुर्याउन सफल भएको कारण राजाहरूलाई सहयोग गर्न थाले । महाभारतको उदाहरण दिएर ब्राहृमण भनेको बलराम तथा क्षेत्रीय भनेको कृष्ण भन्दै यी दुवै समुदाय दाजुभाइ भएकाले एकापसमा सहयोगी बन्नुपर्ने व्याख्या पछिबाट सुरु भयो । बाहुन दाजुको सहयोगमा भाइ क्षेत्री राज्यको प्रमुख हुने भयो । कृष्ण क्षेत्री भएको भन्ने आधारमा राजालाई पनि क्षेत्री भन्ने र राजालाई विष्णुको अवतार भएको व्याख्या गर्न थालियो । यी सबै कुरा वंशाणु अधिकारलाई जोगाइराख्ने ध्येयले ल्याएका थिए । यसरी बनेको विचारले समाजमा जातीय विभेद खडा गर्दै विकृतिजन्य परिभाषाहरूको जन्म हुन थाल्यो । पेसालाई जातीय धरातलमा उतारेर समाजमा छुवाछूतको अमानवीय क्रियाकलापको बीजारोपण गर्ने काम सर्वप्रथम भारतीय सिन्धु सभ्यताको विकासक्रममा उत्पन्न हिन्दु राज्यका राजाहरूले गर्न थालेका थिए । यो जातीय छुवाछुतको विचार भारतीय उपनिवेशवादी विचारबाट प्रभावित छ र नेपाली समाज र संस्कृतिमा पनि त्यसैको प्रभाव नराम्ररी परेको छ । त्यसैले नेपालमा जातीय छुवाछूतको भावनाको विरोध गर्ने र जातीय उत्पीडनबाट मुक्ति खोज्ने हो भने सबैभन्दा पहिले भारतीय उपनिवेश र हैकमको विचारबाट मुक्ति खोजिनु पर्दछ । भारतमा छैटौं शताब्दीतिर नै शूद्र जातिलाई मात्र १८ जातमा विभाजन गरिएको थियो जब कि नेपालमा त्यसबेला जातीय विभेदको प्रथाले जरो गाडेको थिएन । यसै कारण पेसा र सीपका आधारमा विकसित ब्राहृमण कुनै जाति नभएकाले ब्राहृमणवाद एक उत्पीडक विचार हो भनेर बुझ्नु सोह्रै आना गलत कुरा हो र इतिहासका तथ्यका आधारमा ब्राहृमणवादको विरोध गर्ने भनेकोे विद्वत्ताको विरोध गर्दै गरेको अर्थमा बुझ्नसकिन्छ ।

मेसोपोटामियाको सभ्यताबाट विकसित समुदाय राजतन्त्रको विकाससँगै पराजित बेबिलोनियन आर्यहरू भारतवर्षको पश्चिम तट हुँदै त्यो उपमहाद्वीपमा बस्न थालेपछि मेसोपोटामियाको सभ्यता र सिन्धु नदीको सभ्यताका सम्प्रदायबीच झगडा भएको र त्यही झगडापछि भारतमा हिन्दु-मुस्लिम बनेको पनि पाइन्छ । नेपालमा आर्य, मंगोल तथा द्रविडहरूको बसोबास भएको पाइन्छ । चिनियाँ सभ्यताबाट आएका मंगोलहरू हुन् भने सिन्धु र पराजित बेबिलोनियनहरू दुवैको अंश आर्यहरूमा छ । द्रविडहरू तराईका आदिवासीहरू हुन् जो सिन्धु सभ्यताको प्रभावमा परेर पछि हिन्दु बन्न गएका हुन् । मेसोपोटामियाको सभ्यतामा विकसित भएका राज्यका पूर्व शासकहरूको वंशबाट पर्सियन र मिदेश सम्प्रदायको उद्भव भएको छ । त्यही मिदेश सम्प्रदाय भागेर भारत आएको हो । त्यो ‘मिदेश’ सम्प्रदायले बसोबासा गरेको भाग ‘मदेस’ हुन गयो र पछि त्यसको अपभ्रंश भएर ‘मधेस’ र ‘मधेसी’ भन्न थालियो । यसरी हेर्दा ‘मधेस’ शब्द नेपाली जमिन र पानीसँग साइनो राख्दैन । इतिहासको खोजी गर्ने हो भने मधेस र मधेसीहरू भारतीय तथा त्योभन्दा पर मेसोपोटामियाको सभ्यताबाट आएका हुन् ।

इतिहासको अध्ययन गर्दा नेपालमा लिच्छविकालको समयमा पनि जात प्रथा थियो । तर त्यो जातप्रथा सङ्कुचित र समाजमा हेय जगाउने खालको थिएन । लिच्छविकालमा अन्तरजातीय विवाह तथा उचोनिचो जातका बीचमा बसेर सहभोजन हुने गर्दथ्यो । जयस्थिति मल्लको शासनकालमा गएर जब तान्त्रिक बुद्धहरूको प्रभाव बढ्दै गयो र वर्णाश्रम धर्मको विरोधमा उठेको बौद्ध धर्मको विकास र वर्णाश्रममा ह्रास आउन थाल्यो त्यसमा सुधारको आवश्यकता महसुस गरी उनले धार्मिक तथा सामाजिक थिति बाँध्न नियम बसालेपछि नेपालमा जातिप्रथा भेदभावपूर्ण बन्दै गयो । त्यही प्रथा निरन्तररूपमा चल्दै आयो । त्यसकारण जातीय विभेद पनि हाम्रो समाजमा विद्यमान छ ।

हिजोआज नेपालका मानवशास्त्रीय पण्डितहरू ज्ाातिवादका चर्का नारा उराल्ने अभियानमा लागेका छन् । नेपाली शिक्षा जगत्मा समाजशास्त्रीय अध्ययन सुरु भएपछि जातीय भेदभावका विरुद्ध सङ्गठित आवाज उठ्न थालेको सकारात्मक पाटोलाई पनि भुल्न हुँदैन । तर यस्तो सकारात्मक योगदान दिंदा इतिहासका तथ्यहरूलाई तोडमरोड गरेर यथार्थको सीमा नाघेर जाने कुराले समाजमा सही सन्देश भने दिन सक्दैन । खासगरी पश्चिमा पुँजीवादी दुनियाँले खडा गरिदिएका गैर सरकारी संस्थाको माध्यमबाट समाजशास्त्रीहरूलाई राम्रो रोजगारीको अवसर जुट्न थालेपछि कतिपय इतिहासका तथ्यलाई बेचेर डलर कमाउने स्वार्थले काम हुन थालेपछि नेपाली समाजमा रहेको जातीय भेदभावको जगमा इतिहासका तथ्यमाथि अन्याय गर्न थालिएको छ । त्यसैको परिणामस्वरूप नेपाली समाजमा ब्राहृमणवाद भनेको एउटा शोषक, सामन्ती तथा जाली जातिको कपोलकल्पित सिद्धान्त हो भन्ने बुझाउने प्रयास गरिएको छ । पछिल्ला दिनमा प्रयोग भएका व्यवहार र कुराहरूलाई हेर्दा यसमा असत्य पनि देखिंदैन । तर इतिहासको खोजी गर्ने हो भने ब्राहृमणवाद त्योभन्दा भिन्न छ । समाजशास्त्री पण्डितहरूको डलरमा परिभाषित प्रतिवेदनकै भरमा परेर नेपालमा पछिल्लो दिनमा भएको राजनीतिक विद्रोहका नायकहरूले सामन्तवाद र साम्राज्यवादको मुक्तिको नारा दिए पनि त्यसलाई इतिहासको अध्ययन नै नगरी साम्राज्यवादी मान्यतामा कताकता उभिन पुगेको पाइन्छ । ऐतिहासिक तथ्यहरूलाई बङ्ग्याएर परम्पराका रूपमा खडा भएको जातीय विभेदको धरातल हेरेर राजनीति गर्ने परिपाटीले मुलुकलाई सही दिशा दिन सक्दैन । इतिहासको तथ्यलाई हेर्ने हो भने ब्राहृमण समाजको उच्च जाति नभएर एउटा विद्वान् र ब्राहृमणवाद जातीय अधिनायकवाद नभएर विद्वानवाद भएको बुझ्न सकिन्छ । नेपालमा डलरको खेतीभन्दा पृथक् रहेर अध्ययन गर्ने प्रयास गर्ने हो भने जातीय विभेदको सही पहिचान गरी त्यसलाई निराकरण गर्न पनि सकिन्छ । यस अर्थमा ब्राहृमणवादको गलत व्याख्या गर्ने र समाजमा कपोलकल्पित मिथ्याङ्क तयार पार्नुभन्दा जातीय मुक्ति खोज्नेले राजनीतिमा मात्र नभएर सांस्कृतिक उपनिवेशको विरोध गर्न पनि जाने राम्रो हुने हो र यसका लागि भारतीय उपनिवेशवादबाट मुक्ति नपाई नेपालमा जातीय मुक्ति सम्भव छैन भन्ने कुरा समयमै बुझे राम्रो हुने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *